यात्रा संस्मरण: बुर्तिबाङ–रुकुम सडक, संभावना र चुनौतीहरु !

—लोकेन्द्र निरासी

रुकुमको लागि मेरा यात्रा विल्कुलै नौलो र पहिलो थियो । बुर्तिबाङ यातायात व्यावसाय समिति बुर्तिबाङ र सिस्ने हिमाल यातायात व्यावसाय समिति रुकुमबीच भएको संझौता अनुसार बुर्तिबाङदेखि रुकुमसम्मको सिधा यातायात सेवा संचालनको कुराले हामी सबैलाई एक खालको खुसी मात्र होइन त्यतिकै कौतुहलता पनि सिर्जना गरेको थियो । २०७३ पौष १६ गते विहान ८ बजे एक कार्यक्रमका बीच बुर्तिबाङ बसपार्कमा बुर्तिबाङ यातायात व्यावसाय समितिका महासचिव नरहरि भुसालले रिवन काटेर उद्घाटन गर्दै सेवा संचालन भएको जानाकारी गराएपछि एउटा बस र एउटा जीप गरि दुई ओटा गाडीहरु रुकुमको रुकुमकोट जाने तयारी भयो । यसो उसो तयारी गर्दा गर्दै विहानको ९ बजिसकेको थियो । घरमा पाकेको खाना पनि नखाई निसी गाउँमा खाना खाने भनेपछि हाम्रो यात्रा रुकुमतिर सुरु भयो ।

बुर्तिबाङ यातायात व्यावसाय समितिका महासचिव नरहरि भुसाल, उपाध्यक्ष जोख बहादुर कुँवर, सचिव कुविर विश्वकर्मा, कोषध्यक्ष खुम बहादुर जी.सी. मिडियाका साथीहरु पत्रकार कृष्ण कँडेल, डम्मर बुढा लगायत अन्य स्थानीय साथीहरुसंग म थिएँ र हामी टु विल जीपमा चढेका थियौ भने अन्य साथीहरु सहितको टोली पनि बसमा पछिपछि आइरहेका थिए । आयोजकले हामीलाई जानाकारी गराए अनुसार सोही दिन दिउँसो २ बजे रुकुमकोटमा बुर्तिबाङ यातायात व्यावसाय समिति र सिस्ने हिमाल यातायात व्यावसाय समितिबीच संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेपछि बुर्तिबाङको गाडी रुकुमको खलङ्गा जाने र रुकुमको गाडी बुर्तिबाङ आउने भनिएको थियो । समयको अत्यन्त व्यस्तता एक मन त जाँदैन पनि भनेको थिएँ तर आयोजक र सबै साथीहरुले आग्रह गरेपछि र बुर्तिबाङका सबै मिडियाको प्रतिनिधित्व हुनपर्छ भनेपछि म पनि यात्रामा बाध्य भएँ ।

पूर्वी रुकुमका लुकुम, काँक्री, तक, सेरा, हुकाम, मैकोट, कोल लगायतका गाविसहरु राज्यको सेवा सुविधाबाट निकै बन्चित रहेछन् । वास्तवमा ती ठाउँहरुमा राज्यको नजर पुग्न सकेको छैन । लुकुम गाउँमा हामीले लिएको रिपोर्ट अनुसार शिक्षा स्वास्थ्य र जनचेतनाको पहुँच निकै न्यून छ ।

हामी चढेको जीप बुर्तिबाङदेखि देविस्थान मात्र के आएको थियो, खाना रुकुमकोट नै खाने भन्ने हामीलाई जानाकारी गराइयो । रमाइलो यात्रासंगै साथीहरुबीच गाडीभित्र कुराकानी गर्दै हाम्रो यात्रा अघि बढयो । तर, विस्तारै भोकले सताइरहेको थियो । त्यसमाथि पनि रुकुम खानेखाने भनेपछि झन भोक बढ्दै गइरहेको थियो । जीपमा हामीले केही ड्राई फुड, चाउचाउ र विस्कुट खाँदै हिडे पनि भल्कोतको धुरु काटीसकेपछि भोकको सिमा नै रहेन । मध्यपहाडी लोकमार्ग र वरपरको भौगोलिक वस्तुस्थितिको अवलोकन गर्दै हामी अघि बढिरह्यौं । वास्तवमा मैले सोंचेभन्दा निकै लामो दुरी रहेछ बुर्तिबाङ रुकुमको दुरी । बागलुङको सीमाना काटेर रुकुम सुरु भएपछि नयाँ ठाउँमा झन झन उत्सुकुता र कौतुहलता सिर्जना भइरहेको थियो । तर कार्यक्रमको निर्धारित समय भन्दा हामी निकै ढिला भइसकेका थियौं । मध्यपहाडी लोकमार्गको बीचबीचमा सडक निर्माण र विस्तार भइरहेको रहेछ । हामीले केही ठेकेदार कम्पनीका व्यक्तिहरुसंग पनि भेटेर सडक यातायातको बारेमा कुरा गर्यौं ।

बागलुङ जिल्लाको सिमाना काटेको अलि समय जिपमा यात्रा गरिसकेपछि हामी पूर्वी रुकुमको विकट क्षेत्र पन्चासे भन्ने ठाउँमा पुग्यौं । छाप्राहरुले बनेका सानातिना घर, चिसो वातावरणमा तुषारो परिरहेको अवस्था थियो भने त्यहाँका मानिसहरुको लवाइखवाइ र जनजीवन अत्यन्त न्यूनस्तरको देखिन्थ्यो । त्यहाँ हाम्रो लागि कुनै खाने कुरा र चिया नास्ता वा किन्न सक्ने कुनै चिज हामीलाई उपलब्ध भएन । अत्यन्त पातलो बस्ती । लाग्थ्यो, त्यस बस्तीमा न त राज्य न त नेता कसैको पनि नजर पुग्न सकेको छैन । हाम्रो यात्रा त्यहाँबाट पनि अघि बढ्दै गयो । चिसो वढ्दै थियो । भोकले पनि त्यसरी नै च्यापिरहेको थियो ।

मध्यपहाडी लोकमार्गमा पर्ने बीचका विभिन्न ठाउँहरु पार गर्देै करिब ४ बजे हामी लुकुम भन्ने ठाउँमा गयौं । त्यहाँ गाडी पुगेको देखेर स्थानीयहरुले हामीलाई अविर र धुपीको मालाले निकै स्वागत र सत्कार गर्दा हामी निकै खुसीले गदगद भयौं । स्थानीयहरुसंग केहीबेर भलाकुसारी गरियो । भोक र थकान निकै भएकाले त्यहीं सबै साथीहरुले खाजा नास्ता गर्यौं । लुकुमको भौगोलिक अवस्था, स्थानीयता, अतिथिहरुप्रतिको श्रद्धा सम्मान, घुचुप्प जोडिएका पुराना डिजाइनका घरहरु, निकै अग्ला र संरक्षण गरिएका धुपीका रुखहरु, गाउँलेहरुको सरलपन, आफ्नै खालको भाषा, रहनसहन र संस्कृति लगायतका चिजहरुले उहाँको आफ्नै परिचय दिएको महसुस हुन्थ्यो । खाजानास्ता र स्थानीयसँगको भेटघाटपछि हाम्रो यात्रा पुनः अघि बढ्दै गयो । पुष महिनाको दिन साँझ ढल्कदै गएको थियो । हामी केही समयमै काँक्री भन्ने ठाउँमा पुग्यौं । त्यहाँ पनि स्थानीयले हाम्रो सम्मानका लागि स्वागत गेट बनाएका रहेछन् । हामी सबैलाई स्थानीयबासीले फूलमाला र अविरले निकै खुसीका साथ स्वागत गरे भने हामीले स्थानीयको निकै ठूलो माया र सद्भाव पाएको महसुस गर्यौं ।

एक जना थबाङको केटाले विवाहको लागि लतारेर भगाउन खोज्दा अँध्यारोमा दौडन खोज्दा निकै अग्लो कान्लाबाट लोटेर खुट्टो भाँचेकी र केटाले ८७ हजार तिरेर उम्कीएको तर उनलाई उपचारका लागि बुटवल नर्सिङ हस्पिटलमा २ महिनाभन्न बढी राखेर केही दिन अघि मात्र घरमा ल्याएको भए पनि उनको खुट्टो निको नभएको विद्यालयका प्र.अ. र शिक्षकहरुले हामीलाई जानाकारी गराउनु भयो ।

काँक्रीदेखि झण्डै डेढ घण्टाको बाटो हिडेपछि हामी चढेको जीप अचानक विग्रियो । रात परिसकेको थियो । साथीहरु चडेको हाम्रो बस केही पछि थियो । जीपबाट झरेर सबै साथीहरु अँध्यारोबाटोमा केहीबेर पैदल हिडेपछि पछिको बस पनि आइपुग्यो । हामी सबै जना त्यही बसमा कोचाकोच भएर अघि बढ्यौं । निछम्मै अँध्यारो थियो । गाडी अत्यन्त साँगुरो बाटोमा लोडसँग कुदिरहेको थियो । चालकले निकै लामो व्रेक लगाइ लगाइ यात्रा अघि बढेको थियो । अँध्यारोमा अलिअलि नजर लगाउँला त्यहाँको भौगोलिक अवस्था र सडकको स्थिति हेर्दा लाग्थ्यो त्यहाँबाट गाडी इनकेस तलमाथि भयो भने मान्छे त के गाडीका पार्टपुर्जा पनि भेटाउन मुस्किल थियो । गाडीले निकै झोक्का दिंदै उफारी रहेको थियो । मुटु काप्ने भीर थियो । अत्यन्त जोखिमपूर्ण यात्रा । घरपरिवारको याद आइरहेको थियो । मलाई घरबाट हिड्ने बेला कहाँ जानुहुन्छ ड्याडी ? छिटो आउनु होला है ? भन्दै ४ वर्षकी छोरी सरुले वाईवाई ड्याडी भनेको तस्वीर मेरो आँखा अगाडि निकै सजीव बनेर आइरहेको थियो । त्यहाँ मोबाइल नेटवर्कले पनि काम गर्दाे रहेनछ ।

केही बेरपछि सायद बाटोमा हाम्रो जीप विग्रिएको कुरा थाहा भएर होला, सिस्ने हिमाल यातायात समितिको पहलमा हामीलाई लिन एउटा जीप बाटैमा लिन आइपुग्यो । पहिला जीपमा चढेका साथीहरु त्यही जीपमा चढेपछि यात्रा केही सहज भयो । केही समय जीपको यात्रापछि हामी बेलुकी करिब ७ बजे रुकुमकोट पुग्यौं । त्यहाँको आयोजक सिस्ने हिमाल यातायात व्यावसाय समिति लगायत उद्योग वाणिज्य संघ तथा अन्य संघसंस्थाका प्रतिनिधि र स्थानीयबासी हामीलाई निकै आतुरका साथ दिउँसोदेखि नै पर्खिरहेका रहेछन् । त्यहाँ हामीलाई फूलमाला र अबिरले निकै स्वागत गर्दा हामी निकै खुसी भयौं । त्यसपछि बेलुकी ८ बजे दुवै यातायात व्यावसाय समितिहरु र पत्रकार सहितको अन्तरक्रिया कार्यक्रममा सहभागी हुने अवसर मिल्यो । यातायातले जनजीवनमा पार्ने सकारात्मक प्रभाव साथै यसलाई निरन्तरता दिनका लागि देखिएका चुनौती लगायतका विषयमा मैले पनि आफ्नो तर्फबाट केही कुरा राख्ने मौका मिल्यो । त्यसपछि खाना खाएर रुकुमकोटको एउटा होटेलमा आयोजकले व्यावस्थापन गरेअनुसार थकान मेटेर सबै साथीहरु सुत्यौं ।

मध्य पहाडी लोकमार्गको यो सडक खण्ड सहज हुनेहो भने यहाँको कृषि, पर्यटन, घरेलु उद्योग, जैविक विविधताको प्रशोधन र विस्तार, व्यापार व्यावसाय लगायतका क्षेत्रमा आमूल परिवर्तन आउनुका साथै स्रोत र साधनले सम्पन्न सुनको सिरानी हालेर नुनको खोजीमा हिड्न बाध्य बनेका पूर्वी रुकुमेली जनताको जीवनस्तरमा समेत निकै ठूलो परिवर्तन ल्याउने प्रशस्त संभावनाहरु रहेको देखिन्छ ।

अर्काे विहान विहानै उठेर चियापान गरियो । चिसो निकै बढेको थियो । ८ बजे औपचारिक कार्यक्रम हुने भनिएको थियो । सबै साथीहरु तयारीमा थिए । हाम्रो समूहबाट सिस्ने हिमाल यातायात व्यावसायी समिति र उद्योग वाणिज्य संघ इकाइ समिति रुकुमकोटलाई सम्मान स्वरुप दिने धन्यवाद पत्र तयार पार्नका लागि मलाई जिम्मा दिइयो । मैले केही समयभित्रै त्यो तयार पारेर समितिका साथीहरुलाई दिएँ । औपचारिक कार्यक्रम शुरु भयो । दुबै यातायात व्यावसाय समितिले रिबनले संयुक्त रुपमा रिवन काटी उद्घाटन गरियो । अतिथि वक्ताहरुले बोल्ने काम चलिरहेको थियो । सोही अवसरमा मलाई पनि दुई शब्द बोल्ने अवसर प्रदान गरियो । मैले समालोचनात्मक टिप्पणि सहित संचार माध्यमको तर्फबाट केही कुरा राखें । होटेलमा खाना तयार भएको भए पनि बस हिंडी सकेकाले हामी सबै साथीहरुको टिम बसमा चढ्यौं र बुर्तिबाङको यात्रा सुरु गर्यौं ।

हामीलाई छोड्नका लागि सोही गाडीमा सिस्ने हिमाल यातायात व्यावसाय समितिका महासचिव, उपाध्यक्ष लगायत केही साथीहरु साथमा नै आउनु भएको थियो । भोक लागिसकेको थियो बसले हामीलाई केही समयपछि काँक्रि भन्ने ठाउँमा ल्याइपुरायो । त्यहाँ हामीलाई स्थानीयबासीले निकै स्वागत गर्दै फूलमाला र अविरले स्वागत गरेको पाउँदा हामी निकै खुसी भयौं । मौसम केही धामल धुमल गरि हल्का पानी परिरहेको थियो । केहीबेरमै खाना खाएर हाम्रो याता पुनः अगाडि बढ्यो । केही बेरमै हामी लुकुम आइपुग्यौं । त्यहाँ केहीबेर अडिएर फेरि बुर्तिबाङतर्फको यात्रा अघि बढायौं । गाडी उकालो चढिरहेको थियो । त्यसपछि लगातार एक्कासी हिउँ पर्न सुरु गर्यो । यात्रा निकै जोखिम थियो । हामी चढेको बस सिस्ने हिमाल यातायातको थियो । लुकुमदेखि निकै माथि उकालो चढेपछि हिँउ रोकिन सकेन । ड्राइभरले बस अगाडि लैजान नमानेपछि हामी फेरि फर्कन बाध्य भयौं । पुनः पर्किएर लुकुम आयौं त्यो दिनको बास त्यहीं भयो । लुकुममा हामी साथीहरु बाँडिएर बस्यौं । ठूला होटेलहरु थिएनन् । साथीहरु धेरै भएकाले पनि खाने बस्नेको व्यवस्थामा कठिनाइ त अवस्य थियो । बेलुकी लुकुमकै एउटा छाप्रो होटेलमा साथीहरु बस्यौं ।

बाईसी चौवीसी राज्यहरुमा रुकुम एक शक्तिशाली राज्य थियो । रुकुमेली राजाहरुको राज्य व्यवस्थाबाट प्रभावित भुजेल मगरहरुले रुकुमका राजा जैथुबमका आठ भाई छोराहरु मध्य माईलो छोरा आनन्दबमलाई मागी ल्याएर बिसं १५१० मा ढोरको राजा बनाएका थिए । यिनै राजा आनन्दबमका सन्तान डिम्बबमले राज्य विस्तार गरी पर्वत राज्य निर्माण गरेका थिए ।

रातको समय चिसो निकै थियो । विजुली पनि थिएन । मोबाइलले नेटवर्क दिएको थिएन । व्याट्रि समेत चिसोले डाउन भइसकेको थियो । मलाई घरपरिवार र छोरी सरुको निकै याद आइरहेको थियो । त्यसमाथि रातको खेपिनसक्नु चिसोले निद्रा पर्ने कुरै थिएन । अर्कातिर रातभर नजिकैको एउटा घरमा झाँक्रि बसिरहेको र ढेङ्ग्रो बजेको चर्काे चर्काे आवाज आइरहेको थियो । रात कटाउन निकै गाह्रो भयो । विहान उज्यालो पनि भयो । हामी पत्रकार साथीहरु झाँक्रि बस्ने घरतर्फ गयौं । त्यहाँ दिनको समयमा पनि झाँक्री बसिरहेको अवस्थामा पायौं । त्यस घरमा तीन जना झाँक्री बसेको अवस्था पायौं । दुई जना पुरुष झाँक्री र एक जना महिला झाँक्री । त्यो घरमा एक जना महिला दुई महिना देखि घुँडा दुख्ने रोगबाट विरामी भएकाले झाँक्री बसेको कुरा थाहा पायौं । हामीले त्यसको बारेमा रेडयो कुराकानी र रिपोर्ट तयार पार्यौं । केही बेरपछि हामी अलि तल बेलुका बसेको ठाउँमा आयौं ।

विहान करिब ११ बजिसेको थियो । नजिकै गाउँबाट एकजना विद्यार्थीलाई उनका साथीहरुले डोराएर स्कुलतर्प लगेको देख्यौं । उनी रोइरहेकी थिइन् । दायाँ खुट्टाले उनलाई टेक्न मिलेको थिएन । हामी पत्रकार साथीहरु त्यहाँ पुगेर सोध्यौं ।उनी गाउँकै निसा वि.क. रहिछन् । उनी नजिकैको सिद्धचौर उच्च मावि लुकुममा कक्षा ९ मा पढ्ने रहिछन् । त्यो दिन उनको परीक्षा परेको रहेछ । उनको पीडा देखेपछि हामीले उनलाई बोकेर स्कुलसम्म पुराउने कुरा बतायौं । तर उनको खुट्टाले उनलाई बोक्न नमिल्ने बताइन् । सबै कुरा बुझौं भनी हामी तीन जना पत्रकार साथीहरु अलि तलको सिद्धचौर उमावितर्फ लाग्यौं । त्यहाँ गएर प्र.अ. लगायत शिक्षकहरुसंग बसी सबै कुरा बतायौै । ती छात्राको कुनै अभिभावकले कुनै जानाकारी र निवेदन नदिएका कारण उनलाई घरमै परीक्षा दिने व्यवस्था मिलाउन नसकिएको प्र.अ. ले जानाकारी दिनुभयो । ती छात्रा निसा वि.क.को बारेमा विस्तृत बुझ्दा एक जना थबाङको केटाले विवाहको लागि लतारेर भगाउन खोज्दा अँध्यारोमा दौडन खोज्दा निकै अग्लो कान्लाबाट लोटेर खुट्टो भाँचेकी र केटाले ८७ हजार तिरेर उम्कीएको तर उनलाई उपचारका लागि बुटवल नर्सिङ हस्पिटलमा २ महिनाभन्न बढी राखेर केही दिन अघि मात्र घरमा ल्याएको भए पनि उनको खुट्टो निको नभएको विद्यालयका प्र.अ. र शिक्षकहरुले हामीलाई जानाकारी गराउनु भयो । हाम्रो गाडी हिंडिसक्ने समय भएको थियो । विद्यालयबाट निस्किएर हामी लुकुमको वस्तीमा आएपछि केही बेरमै खाना खाएर हामी जीपको यात्राबाट मध्यपहाडी लोकमार्ग हुँदै त्यो दिन पनि फेरि लुकुम हुँदै बुर्तिबाङतिर लाग्यौं ।

यो दिन पनि हल्का पानी र हिउँ पर्न सुरु गरेको थियो । हाम्रो पछाडी अर्काे बसमा पनि अरु साथीहरु आइरहेका थिए । निकै माथि पन्चासे भन्ने ठाउँभन्दा अलि तल आएपछि पछाडिको बस विग्रियो । जीपले पनि त्यसलाई कुर्नुपर्ने भयो । दुई घण्टाभन्दा बढी समय त्यहाँ भुले पनि गाडी बन्न सकेन । हामी चढेको जीपलाई अघि जानका लागि जबरजस्ती आग्रह गर्यौं । हिउँ परिरहेको थियो । निकै माथि धुरीको आसपासमा आउँदा हिउँ झनै धेरै परेको थियो । रात पर्दै गयो । हामीसँग भएका चाउचाउ विस्कुत पनि सकिएका थिए । भोक र चिसो सिरेटोले हानिरहेको थियो । उकालो त्यसमाथि पनि हिउँ अत्यन्त बाक्लो । टु हुइल गाडी उकालो बाटो चढन निकै गाह«ो गरिरहेको थियो । रात झमक्कै पर्दै गयो । सबै साथीहरु गाडीबाट झरेर जीपलाई पछाडिबाट धकेल्थ्यौं । गाडी फेरी सुलुक्क चिप्लदै झथ्र्याे । हामीलाई हैरानी भयो । भोक र थकाइको सिमा नै थिएन ।

निकै माथि धुरीमा आउँदा हिउँ अत्यन्तै बाक्लो परिरहेको थियो । निछम्मै अँध्यारो भएको थियो । हामीले मध्यपहाडी लोकमार्ग निर्माण गर्ने त्यस सडक खण्डका केही कामदारलाई भेट्यो । हिउँ बाक्लो भएकाले ज्यानको जोखिम हुने हुँदा अघि नबढ्न अनुरोध गरे । तर पनि हामी उनीहरुलाई एउटा बेल्चा मागेर जबरजस्ती यात्रा अगाडि बढायौं । हिउँ निकै बाक्लो थियो । गाडी नचढेर हैरानी थियो । हरेका ठाउँमा त्यही बेल्चाले हिउँ फाल्दै निकै भन्दा निकै मुस्किलका साथ धुरी देउरालीमा आयौं । त्यहाँ ७ बजिसकेकाले निकै अँध्यारो भएको थियो । त्यसपछि अब त बाँचियो भन्दै केही खुसी पनि भयो । हामी त्यहाँबाट रुकुमको सिमाना काटी बागलुङको सिमानामा प्रवेश गर्यौं । केही घण्टाको यात्रापछि निसी आइपुग्यौं । सबै साथीहरु भोक प्यास र थकानले निकै थकित बनेका थियौं । वेस्टन टावन होटेलमा बास मागी गुन्द्रुक र भात खाएर सबै साथीहरु सुत्यौं । उता बसमा आएका साथीहरु बस विग्रिएर बाटोमा नै अलपत्र परेछन् । हामी अर्काे विहानै जीपमा आएका सबै साथीहरु बुर्तिबाङ आइपुग्यौं । यसरी ४ दिनसम्मको रुकुमको यात्रा निकै अविस्मरणीय रह्यो ।

बाईसी चौवीसी राज्यहरुमा रुकुम एक शक्तिशाली राज्य थियो । रुकुमेली राजाहरुको राज्य व्यवस्थाबाट प्रभावित भुजेल मगरहरुले रुकुमका राजा जैथुबमका आठ भाई छोराहरु मध्य माईलो छोरा आनन्दबमलाई मागी ल्याएर बिसं १५१० मा ढोरको राजा बनाएका थिए । यिनै राजा आनन्दबमका सन्तान डिम्बबमले राज्य विस्तार गरी पर्वत राज्य निर्माण गरेका थिए ।

रुकुमकोटमा हामीले एक अतिनै रमणीय पोखरी देख्यौँ । त्यस पोखरीका विषयमा स्थानीयले रुकुमका राजाहरुले तलाउमा कमलको फुलफुलेको दृश्य हेर्ने र शयर गर्ने गरेको श्रुतिस्मृति रहेको हामीलाई बताए । पोखरीमा कमलको फुल फुल्ने हुनाले यसलाई कमल पोखरी भनिने गरेको पनि स्थानीयले जानकारी दिए । रुकुमकोट र त्यस आसपासको संस्कार, सँस्कृति, परम्परा, प्रचलन बागलुङ जिल्लाको निसी, बोवाङ अधिकारीचौर, देविस्थान अदि गाविसका स्थानीयहरु संग धेरैजसो मिलेको पाईन्छ । हाल रुकुम जिल्लामा रहेका तक, सेरा, हुकाम मैकोट आदि केहि गाविसहरु करीब ३ दशक पहिले सम्म बागलुङ जिल्ला भित्रै रहेका थिए । पछी यी गाविसहरु रुकुममा समावेश गरिएको हो । त्यसैले पनि यस भेगको रहन सहन बागलुङ जिल्लाको सुदूर पश्चिमका जनताहरु संग मिल्छ । विरामी पर्दा झाँक्री बस्ने, झारफुक गर्ने, मागी विवाह नगरी हातहाली विवाहा गर्ने प्रथा अद्यपि यहाँ देख्न सकिन्छ ।

तक, सेरा, हुकाम, मैकोट लगायतका तत्कालीन गाउँ पन्चायतहरु बागलुङ जिल्लामा रहेको अवस्था सम्म त्यहाँका जनता राडी, पाखी, काम्ला, घूम र ओखरको घाँजी आदि लिएर चैत दशैँको मौकामा बागलुङ बजारमा आएर व्यापार गर्ने लत्ता कपडाहरु, नून तेलआदि किनेर लैजाने गर्दथे । तर जिल्लान्तर भएपछी उनिहरु बागलुङ जान छोडेको हामीलाई बताए । उनिहरु अहिले रिडीमा लाग्ने मेलामा व्यापारका लागि स्थानीय उत्पादनहरु लिएर विक्री गर्न जाने गरेको बताउछन् ।

पूर्वी रुकुमका लुकुम, काँक्री, तक, सेरा, हुकाम, मैकोट, कोल लगायतका गाविसहरु राज्यको सेवा सुविधाबाट निकै बन्चित रहेछन् । वास्तवमा ती ठाउँहरुमा राज्यको नजर पुग्न सकेको छैन । लुकुम गाउँमा हामीले लिएको रिपोर्ट अनुसार शिक्षा स्वास्थ्य र जनचेतनाको पहुँच निकै न्यून छ । समग्र गाउँमा २५ महिला झाँक्री सहित पुरुष महिला गरि ८० भन्दा बढी झाँक्रीहरु रहेको भन्ने पायौं । यहाँका मानिसहरु धामीझाँक्रीमा बढी विश्वास गर्ने र उपचारको माध्यम पनि चेतनाको कमीले धामीझाँक्री नै भएकाले स्वास्थ्य चौकीमा अत्यन्त कम जाने गरेको पायौं । स्थानीय रुपमा पनि प्रशासन, प्रहरीको अनुगमन र व्यवस्थापन भएको पाइदैन । जीवनस्तर निकै न्यून छ । सामान्य खेतीपाती र काम्लो बुनेर रुकुमेलीहरु माघेसक्रान्तीको समय छोपी रिडीसम्मको दश/बाह्र दिनको पैदल यात्रा गर्दा रहेछन् । शौचालय निर्माण, सरसफाई, ढल व्यवस्थापन आदिको अवस्था पनि निकै गम्भीर र अव्यवस्थित देखिन्छ । अतिथि सत्कारमा यहाँका वासिन्दाहरु निकै अगाडि छन् । अत्यन्त अनुशासित र सालिन स्वभाव, छक्का पन्जा गर्न कत्ति पनि नजानेका, अत्यन्त मीठो बोली, घरमा पाकेको खानेकुरा अतिथिलाई नदिई आफूले नखाने, आफ्नै भाषा शैली, खानपान र लवाई खवाई आदिले यहाँको सजीव वस्तुस्थिति र जीवनशैलीलाई झल्काएको पाइन्छ ।

राष्ट्रिय गौरवका योजनाहरु अन्तरगत मध्य पहाडी लोकमार्गको बुर्तिबाङ-रुकुमको यस सडक खण्डमा चुनौतीहरु पनि उत्तिकै छन् । सडकखण्डको विस्तार गर्न जरुरी छ । विचविचमा सडक निकै साँगुरो छ । गाडी विग्रियो भने मर्मत गर्ने ठाउँ समेत छैन । त्यति मात्र नभई यात्रुहरुका लागि खानपान र आवासको समेत उचित व्यवस्था छैन । सडक यातायातको लामो खण्डमा मोबाइलको कुनै पनि नेटवर्कले काम गर्दैन र बस्ती पनि छैन । अचानक दुर्घटना भयो भने गाडी कहाँ छ, यात्रु कहाँ छन् , अवस्था कस्तो छ, त्यसको उद्धार कसरी गर्ने लगायतका विषयहरु गम्भीर चुनौती देखिन्छन् । बुर्तिबाङदेखि रुकुमको सदरमुकाम खलङ्गा सम्मको दुरी १४५ किलोमिटर छ । यदि यो सडक यातायात सुविधा सहज हुने हो भने लामो दुरी पार गरेर रोल्पा, सल्यान, नेपालगंज, प्यूठान र बुटवल हुँदै राजधानी काठमाण्डौ जान बाध्य रुकुमेलीहरुको यात्रामा समेत सहज हुने देखिन्छ ।

यो सडक प्रयोग गरेर राजधानी जाँदा राप्ती लोकमार्गको बाटोभन्दा झण्डै एक सय किलोमिटर छोटो देखिन्छ । जसमा मुसीकोट–रुकुमकोट ३३ किलोमीटर, रुकुमकोट–पाथीहाल्ने ४५ किलोमीटर, पाथिहाल्ने–बुर्तिवाङ ४५ किलोमीटर, बुर्तिवाङ–बागलुङ ९० किलोमीटर, बागलुङ–पोखरा ७३ किलोमीटर, पोखरा–त्रिशुली २ सय २ किलोमीटर र त्रिशुली–काठमाडौं ५० किलोमिटर गरी मुसीकोट–काठमाठौं ५ सय ३८ किलोमीटर हुने छ । अहिले दाङ हुँदै यात्रा गर्न रुकुम–काठमाडौं ५ सय ८३ किलोमिटर दूरी रहेको छ । मुसीकोटबाट दाङ हुँदै काठमाडौं पुग्नेभन्दा बागलुङ हुँदै काठमाडौं जान ४५ किलोमिटर मात्रै कम हुने भएपनि पूर्वी रुकुमका लागि भने एक सय किलोमीटर छोटो पर्नेछ । त्यसैले सडकको यो खण्ड विस्तार गरि छिटो कालोपत्रे गर्न जरुरी देखिन्छ । मध्य पहाडी लोकमार्गको यो सडक खण्ड सहज हुनेहो भने यहाँको कृषि, पर्यटन, घरेलु उद्योग, जैविक विविधताको प्रशोधन र विस्तार, व्यापार व्यावसाय लगायतका क्षेत्रमा आमूल परिवर्तन आउनुका साथै स्रोत र साधनले सम्पन्न सुनको सिरानी हालेर नुनको खोजीमा हिड्न बाध्य बनेका पूर्वी रुकुमेली जनताको जीवनस्तरमा समेत निकै ठूलो परिवर्तन ल्याउने प्रशस्त संभावनाहरु रहेको देखिन्छ ।


लेखक, सामुदायिक रेडियो परिवर्तन बुर्तिवाङका अध्यक्ष एवं पत्रकार हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.