मध्यपहाडी लोकमार्ग : आयोजना प्रमुख र ठेकदारलाई भेट्टाउनै सास्ती !
६ महिना भित्र कालोपत्रे नगरे कार्बाही गर्ने सांसदको चेतावनीलाई ठेकदारले लगाई दिए धोँती !

कसरी भाग्न सक्छन, ठेकदार ? काम ढिला भएको मात्र हो : भगुवा ठेकेदारहरुको पक्षमा आयोजना प्रमुख

बागलुङ २०७६ बैशाख १७ । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको निर्माणमा आयोजना र ठेकदारको लापर्बाही (मिलिमतो)ले बागलुङ देखी रुकुम रोल्पा जिल्लाका आम जनताले सास्ती खेप्नु परेको छ । बागलुङ सदरमुकाम देखी बिहुँ घोँडाबाँधे सम्मको ३३ किलोमिटर सडक लथालिंग भताभूंग अवस्थामा छ । मौसमी या बेमौसमी सानो वर्षाले पनि बागलुङ बजार देखी बिहुँ सम्मको सडकको विभिन्न खण्डमा पहिरो खस्ने हुनाले यात्रुहरुलाई महासास्तीको सामना गर्नुपर्ने र कुनैपनि भीषण दुर्घटनाको सामना गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । बागलुङ बजार देखी अक्षेते सम्म र त्याहाँ देखी माथी बिहुँको घोँडाबाँधे सम्मको सडक खण्ड वर्षौँ देखि निर्माणाधीन अवस्थामा रहेको छ । यस खण्डको निर्माण कार्यको जिम्मा लिने ठेकेदारहरु निर्माणस्थलमा छैनन्, न उनका नाईकेहरु नै देखा पर्छन । सडक निर्माणमा संलग्न कामदारहरु पनि ज्याला नपाएको भन्दै निर्माण कार्य छोडेर पलायन हुँदा सडक निर्माण ठप्प छ ।

मध्यपहाडी लोकमार्ग बागलुङ खण्डका नवागत आयोजना प्रमुख सिनियर डिभिजन इन्जिनियर आशिष थापामगरलाई ईबागलुङले बागलुङ सदरमुकाम देखी बिहुँ सम्मको खण्ड निर्माणमा भएको लापर्बाही र ढीला सुस्तीका बारेमा जिज्ञासा राख्दा उनले निर्माण कार्य अली ढीला भएको मात्र हो, काम जारी रहेको बताए । निर्माणको जिम्मा लिने ठेकदारहरु काम छोडेर भागेको र कामदारहरु पनि ज्याला नपाएर काम छोडेर गएको चर्चा छनि भन्ने हाम्रो प्रश्नमा आयोजना प्रमुख थापा मगरले कसरी भाग्न सक्छन ठेकेदार ? कहाँ भाग्ने ? कामदार भने काम छोडेर जान सक्छन भन्ने जवाफ दिएर भगुवा ठेकेदारहरुको पक्षमा उभिए् ।

केहिदिन पहिलेमात्र बिहुँ काउलेमा जमीन भासिएर घरबारविहीन बनेका भूस्खलन पीडितहरुलाई जग्गाधनी पूर्जा (लालपूर्जा) वितरण गर्न पुगेको सांसद डा सूर्य पाठक एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको टोली समक्ष स्थानीयले मध्यपहाडी लोकमार्गको निर्माण कार्य कछुवा गतिमा भएको दुखेसो पोखेका थिए । स्थानीयको यस दुखेसो प्रति सहानुभूति राख्दै सांसद पाठकले सार्वजनिक खरीद ऐनको त्रुटीका कारण कानून ठेकदार मैत्री हुँदा ठेकदारमाथी कार्बाही गर्न नसकिएको बताउदै यसलाई संशोधन गरी काम नगर्ने ठेकदार वा कम्पनिलाई कालो सूचीमा राख्ने जानकारी दिएका थिए ।

सोहि कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खरेलले यस खण्डको निर्माणको जिम्मा लिएका ठेकदारहरुलाई प्रहरी लगाएर खोज्दापनि नभेट्टिएको जानकारी दिँदै मध्यपहाडी लोकमार्ग बागलुङ खण्डका प्रमुखलाई समेत बोलाएर आगामी जेठ ५ गतेको कार्यालय प्रमुखहरुको बैठकमा मध्यपहाडी लोकमार्गको विस्तृत प्रगति विवरण प्रस्तुत गर्न निर्देशन दिएको बताएका थिए ।

गत २०७५ साल भदौ ७ गते बागलुङ जिल्लाको २ नम्वर क्षेत्रबाट निर्वाचित संघीय सांसद देवेन्द्र पौडेलले मध्य पहाडी लोकमार्ग आयोजना प्रमुख तथा ठेकेदार सँग काठमाडौँ स्थित आयोजनाको कार्यालयमा छलफल गरी बागलुङ देखि बिहुको १३ किलोमिटर कालोपत्रेको जिम्मा पाएको कम्पनी र बिहुदेखि धोडाबाधे सम्म कालोपत्रे तथा हटिया सम्मको सडकको स्तरोन्नती गर्ने जिम्मा पाएको कम्पनीका ठेकेदारलाई भेटेर समय सिमाभित्र काम सक्न पौडेलले निर्देशन दिँदै समयभित्र निर्माण कार्य सम्पन्न नभए कार्बाही गर्ने चेतावनी दिएका थिए । तर ८ महिना बित्दा पनि ठेकेदारहरुले सांसदको चेतावनीलाई धोँती लगाई दिएका छन् । आयोजना प्रमुखले नै ठेकेदारहरुको पक्षपोषण गरेपछी नेताहरुको चेतावनीको के औचित्य ?

नवागत आयोजना प्रमुख आशिष थापा मगर

यहि २०७६ बैशाख १४ गते प्रजिअ खरेलको नेतृत्वको टोली मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको निरीक्षण अवलोकन गर्न गएको सन्दर्भमा हामीले सोधेका थियौँ, लोकमार्गको निर्माण अवस्था कस्तो पाउनु भयो ?

मध्यपहाडी लोकमार्गको बुर्तिवाङ देखी रुकुमको सीमाना भूमे गाउपालिका सम्म लोकमार्गको निर्माण कार्य सन्तोष जनक भएको बताउदै निसीखोला-३ भल्कोटमा १४ किलोमिटर कालोपत्रे पिच गर्नै कार्यमा केहि स्थानीयले अवरोध निकाले पछी त्यस्को समाधान गरी फिर्ता भएको ईबागलुङलाई बताए ।

प्रजिअ खरेलले बागलुङ सदरमुकामको खण्डको जिम्मा लिएका ठेकदार दिलिप शाही र पुष्पा शाही बागलुङबाट भागेर रुकुमको साईटमा काम गर्न गएको जानकारी पाएपछी निजलाई खोजी गर्दै त्यहाँ पुगेपनि निजहरु नभेट्टिएको ईबागलुङलाई बताए ।

दुदिलाभाटीबाट बग्ने गौदीखोलाकाे पुल ।
सोहि क्रममा गल्कोट नगरपालिकाको दुदिलाभाटीबाट बग्ने गौदी खोला र नरेठाँटतिरबाट आउने चुक्दी खोलामा गत बैशाख १ र २ गते परेको बेमौसी वर्षा र बाढीले गौदीखोलाको मोटरेबल पुल उच्च जोखिममा रहेको समचार प्रति जिज्ञासा राख्दा प्रजिअ खरेलले दुबै खोलामा आएको बाढी पहिरोले दुई खोलाको दोभान पुरिएपछी गौदी खोलाको पुल उच्च जोखिममा रहेको जानकारी दिए । भीषण वर्षाकै बीच सो राति १ बजेको समयामा आफुहरु प्रभावित क्षात्रमा पुगेर स्थानीयवासीलाई सुरक्षित रहन आग्रह गरेको पनि प्रजिअ खरेलले बताए ।

बिहुँबाट सहकर्मी भरत सापकोटा र गल्कोट हटियाबाट सहकर्मी गुमानसिँह भण्डारीको रिपोर्टिङको आधारमा ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *