कुस्मीसेरामा कोहर्ट एनालासिस विश्लेषणात्मक गोष्ठी : जैमिनी नगरपालिकामा क्षयरोगका विरामी दोब्बर !

बागलुङ २०७६ बैशाख १४ । जैमिनी नगरपालिकामा क्षयरोगका विरामी दोब्बरले बढ्दै गएका छन । क्षयरोग पत्ता लाग्ने दर बढाए सँगै जैमिनी क्षेत्रका थप क्षयरोगी फेला परेकोे स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

कार्यालयको तथ्याङक अनुसार नगरपालिका भित्र गत आवमा ८ जना विरामी रहेकोमा यस वर्षमात्र १५ जना क्षयरोगका विरामी फेला परेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ अधिकृत देवप्रकाश घिमिरेले बताए ।

नगरभित्र सवै भन्दा बढी जैदी छिस्ती क्षेत्रमा रहेका छन । जसमध्ये फोक्सोको क्षयरोग भएका १० पुरुष र १ महिला गरी विरामी ११ जना रहेका छन । त्यस्तै फोक्सो बाहेक अन्य भागमा क्षयरोग भएका विरामी ४ जना रहेको घिमिरेले जानकारी दिए । जैमिनी नगरपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरु सँग भएको क्षयरोग सम्बन्धी कोहर्ट एनालासिस अर्थात विश्लेषणात्म गोष्ठी मार्फत उक्त तथ्याङक सार्वजनिक गरिएको हो ।

गोष्ठीमा बोल्दै जैमिनी नगरपालिकाका नगर उपप्रमुख लिला रानाले जैमिनी नगरभित्र क्षयरोग न्युनिकरणका लागि नगरपालिकाले आवश्यक प्रक्रिया अगाडि बढाउने बताए । उनले क्षयरोग लागिसकेको व्यक्तिलाई निरन्तर निगरानीमा राखी औषधी खान लाएपछि त्यसको अवस्था कस्तो भन्नेर समय समयमा ध्यान दिन स्वास्थ्यकर्मीलाई आग्रह गरेका थिए ।

गोष्ठीमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद शर्मा स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ अधिकृत देवप्रकाश घिमिरे लगायतले क्षयरोग नियन्त्रणका लागि नगरपालिकाले आवश्यक पहल थाल्नुपर्ने बताएका थिए ।

गोष्ठीमा जिल्लामा संचालित मोबाईल स्वास्थ्य कार्यक्रमका बारेमा छलफल गरिएको थियो । मातृ तथा बाल स्वास्थ्य समन्वयका लागि मोबाईल स्वास्थ्य कार्यक्रम गर्भवती महिलाको स्वास्थ्य जाँचका लागि थप टेवा पु¥याएको मेडिक मोबाईलका कार्यक्रम अधिकृत नारायण रिजालले बताए ।
कार्यक्रम उपप्रमुख रानाको अध्यक्षता कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेण्ट किशोर शर्माको स्वागत र नगरपालिकाका स्वास्थ्य संयोजक गोविन्द प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यसैवीच जैमिनी नगरपालिका अन्तरगतका स्वास्थ्य संस्थाका लागि दाँत र नाक,कान घाँटीका विरामीलाई उपचार गर्ने उपकरण हस्तान्तरण गरिएको हो । नगरपालिकाको सहयोगमा करिब १ लाख २० हजार बराबरको उपकरण हस्तान्तरण गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक गोविन्द प्रसाद शर्माले बताए । डेन्टर सेट र ईएनटी सेटको साथमा विपिसेट, थर्मोमिटर र अन्य आवश्यक सामाग्री पनि हस्तान्तरण गरिएको छ ।
नगरपालिका भित्रका सवै स्वास्थ्य संस्थालाई झण्डै १३ हजार बराबरको उपकरणहरु प्रदान गरिएको हो । उपकरण हस्तान्तण गर्दै नगरपालिकाका उपप्रमुख लिला रानाले जैमिनी नगरपालिकालाई स्वास्थ्य नगर बनाउनका आवश्यक उपकरण खरिद प्रक्रियामा नगरपालिकाले सहयोग गर्ने बताए ।
स्वास्थ्य संस्थामा उपकरण पुगेपछि सामान्य दाँत र नाक,कान,घाँटीका विरामीको स्वास्थ्य जाँचमा सहज पुग्ने दमेक स्वास्थ्य चौकीका हेल्थ असिष्टेण्ट हेमकुमार आचार्य क्षेत्रीले बताए । स्वास्थ्य संस्थामा सामान्य उपकरण समेत नहुँदा उपचारका लागि पहिले निकै कठिन भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.