पैयुपाटामा सम्पन्न बृहत नि:शुल्क स्वास्थ्य शिविरमा १ हजार बढि बिरामी लाभान्वित !

नारायण रिजाल, बागलुङ २०७३ चैत १३ । मानव मिलन नारी जागरण केन्द्र पोखराको आयोजना र रिजनल अस्पताल पोखराको प्राविधिक सहयोग र स्थानिय पैयुँपाटा स्वास्थ्य चौकीको संयोजनमा बागलुङ नगरपालिकाको पैयुँपाटामा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा स्त्री रोग, महिलाहरुको पाठेघरको क्यान्सर सम्बन्धी निशुल्क परिक्षण, मुटु, छाति, मृगौला लगायतका रोगको निशुल्क परिक्षण तथा उपचार समेत गरिएको थियो । शिविरमा पैयुँपाटा, नारायणस्थान अमलाचौर र आसपासका समुदायका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

शिविरमा ३५६ जनाले ईसीजी, ७५ जनाले भिडियो एक्सेरे १६९ जनाले ल्याबको सेवा लिएका थिए । त्यसैगरी ४१ जनामा पाठेघरको समस्या देखिएको शिविरमा संलग्न चिकित्सकहरुले बताए । शिविरमा करिब एक हजार भन्दा बढीले विभिन्न रोगको उपचार तथा स्वास्थ्य परिक्षण पनि शिविर व्यवस्थापन संयोजक कमला गिरीले बताईन ।

शिविरको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले ग्रामीण बस्तीका जनताको स्वास्थ्यमा चासो राखेर निशुल्क शिविर संचालन गर्दा अस्पताल जान नसक्नेले पनि सहज सेवा पाएको बताए ।

उनले गाउँ बस्तीका महिलाको समस्या बारेमा चासो राखी पोखराबाट बागलुङ आई संस्थाले गरेको काम निकै सराहणीय रहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति नारायण शर्मा पौडेल, पत्रकार महासंघकी केन्द्रीय सदस्य सुष्मा पौडेल, रिजनल अस्पताल पोखरकाका संस्थापक अध्यक्ष जगत खड्का, नेपाल महिला संघ पैयुँपाटाका अध्यक्ष् राधिका कुँवर लगायतले बोलेका थिए ।

सोही अवसरमा केन्द्र स्थापनाका लागि मार्गदर्शन दिने मानव मिलन संस्थाका संस्थापक तथा मानव स्वास्थ्यकै लागि २५ हजार किमी पैदल यात्रा गर्ने नेपाल केशरी डा.मणीभद्र मुनी जी महाराजले जीवन उपयोगी मार्गदर्शन बारेमा प्रवचन गरेका थिए ।

शिविरमा रेजिनल अस्पतालकी डा. तारा गुरुङको नेतृत्वमा अस्पतालका अध्यक्ष जगतबहादुर खड्का, दिलिप न्यौपाने, लक्ष्मी पौडेल, प्रमिला श्रेष्ठ, लगायत १७ जनाको टोलीले रगत, पिशाव परिक्षण लगायतका सबै सेवा प्रवाह गरेका गराएका थिए । साथै विरामीलाई आवस्यक पर्ने औषधि पनि निशुल्क दिइएको थियो ।

कार्यक्रम केन्द्रकी अध्यक्ष पार्वती पौडेलको अध्यक्षता, उपाध्यक्ष रमा ढकालको स्वागत र सचिव कमला गिरीको संचालन सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply