दिनहुँ जसो पानी परिरहेकाले हटिया बजार, गौदी खोलाको चपेटामा आउने सन्त्रास बढ्यो !

गुमानसिँह भण्डारी गल्कोट २०७६ बैशाख ९ । निरन्तरको बर्षातका कारण गल्कोटको हटियाबजार बाढीको उच्च जोखिमबाट मुक्त हुन सकेको छैन । गत बैशाख १ गते गौदी खोलामा आएको बाढीका कारण गल्कोट नगरपालिका ३ हटियाको बौराह ठुलोचौतारामा लगाईएको करिब ५० थान ग्याबिन जाली खोलाले बगाएको र तत्पश्चा दिनहुँ जसो वर्षात परिरहेकोले हटियाबजार उच्च जोखिममा परेको स्थानीयको भनाई छ । ।

गल्कोट नगरपालिका १ दुदिलाभाटी र गल्कोट नगरपालिका २ नरेठाँटीमा असिना सहितको बेमौसमी बर्षात हुदाँ गौदी खोलामा बाढी आएर बौराहमा भएका बस्ती र हटियाबजार संरक्षण गर्ने गरि लगाईएका सबैजसो ग्याबिन जाली बगाएको गल्कोट नगरपालिका ३ का अध्यक्ष वीरजङ भण्डारीले ईबागलुङलाई बताए ।

बैशाख १ गतेपछि दिनहु निरन्तर ठुलो बर्षात हुने गरेका कारण खोला हटियाबजारमा पस्ने सम्भावना बढेको भण्डारीको भनाई छ ।

गौदी खोलाको छेउछाउमा भएका अधिकांश घरहरु जोखिममा छन । हटिया बौराहका राम बहादुर खत्री, हिरा कुमारी खत्री र सन्तोष खत्रीको घर जोखिममा छन । गत बैशाख १ गतेजस्तै खोलामा बाढी आउने हो भने ती घरहरु बगाएर लैजाने वडा सदस्य झहर बहादुर खत्रीले बताए ।

अब बर्षात सुरु हुन लागेका कारण समेत हटिया बजारबासीमा त्रास बढेको छ । असारदेखि बर्षायाम सुरु हुने भएकाले गौदीखोला पारिवारी हटिया बजारमा बसोबास गर्ने बासिन्दा चिन्तित भएका छन् । खोला किनारमै घर बनाउँदा बाढीको जोखिम बढ्न थालेपछि स्थानीय त्रसित भएका छन् । गलकोटमा पुराना संरचनामात्र होइन नयाँ बन्ने घर पनि नदी छेउमै बन्न थालेका छन् । गलकोटमा मध्यपहाडी लोकमार्ग बिस्तार भएसँगै मापदण्ड बिपरित खोला किरारमा घर तथा बिभिन्न भवनहरु बन्ने क्रम बढेको हो । गल्कोटको एकमात्र गलकोट बहुमुखि क्यापस समेत जोखिममा छ । गौदी खोला नजिकबाट बग्ने र पहिले लगाईएको ग्याबिन जालि समेत हटाईएपछि क्याम्पस खोलाको जोखिममा परेको हो ।

निरन्तर रुपमा बर्षात भए क्याम्पस परिसरबाट खोला पस्न सक्ने स्थानियले बताएका छन । त्यस्तै हटिया सिमखेत समेत खोलाको जोखिममा छ । त्यहाँ बसोबास गर्ने करिब १०, १५ घरपरिवार समेत त्रासमा बसेका वडा कार्यालयले जनाएको छ । गौदी खोलामा खेत तथा घरधनीहरुले मापदण्ड बिपरीत खोला अतिक्रमण गरि ग्याबिन जालि लगाउने गरेका कारण हटियाबजार खोलाको जोखिममा परेको हो । गौदी खोलामा अतिक्रमण भएका कारण बैशाख १ गतेको बाढीले बढी क्षति पुगेको स्थानियले आरोप समेत लगाएका छन । स्थानीयतहले पनि जोखिमयुक्त ठाउँमा घर नबनाउने सल्लाह दिनुपर्ने भए पनि बर्सेनी घर बनाउने क्रम रोकिएको छैन । जोखिमयुक्त ठाउँको बस्ती अन्यत्र सार्न पहलसमेत नगरेको स्थानीयको गुनासो छ ।

समयमै खोलामा आवश्यक अनुसारको कार्य गर्न सकिएन भने धनजनको ठुलो क्षति हुने बताईएको छ । गलकोटको हटियामा मात्रै खोलाले करिब ५० रोपनी खेतियोग्य जमिन कटान गरि बगरमा परिणत गरेको वडा अध्यक्ष भण्डारीको भनाई छ । बेमौसमी वर्षा र बाढीले खानेपानीका मुहान, पाइप तथा धारासमेत बगाई दिँदा खानेपानीको समस्या भएको हटियाबजारबासीको भनाई छ । बैशाख १ गतेको बाढीका कारण हटियामा मात्रै १ करोड ५४ लाख बराबरको क्षति भएको वडा सदस्य झहर बहादुर खत्रीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *