साताको तस्वीर : चैते दशैँ बागलुङ बजार… !

बागलुङ बजारमा चैते दशैँ मेलाको रौनक सुरु भएको छ । रौनक पनि किन नहोस, बागलुङ बजार र चैते दशैँ मेलावीच अति मीठो र सुमधुर सम्वन्ध जोडिएको छ । चैते दशैँ भन्दासाथ बागलुङ बजारको स्मरण हुन्छ अनि बागलुङ बजारको नाम आउदा साथ यहाँ लाग्ने चैते दशैँ मेलाको संझना आउछ । बागलुङ बजार र चैतेदशै मेला बीच टिपिक्क टाँसिएको सम्वन्ध छ ।

कालिका देवीको मन्दिरमा गत वर्ष चैते दशैँ मेला भर्न आएका श्रद्धालुहरु, ५ दशक भन्दा पहिलेको चैतदशैँ मेलाको दृश्य ।

सर्बविदित यथार्थ के हो भने, बागलुङ बजार र चैते दशैँ मेलाबीच कायम रहेको ऐतिहासिक सम्वन्धको कडी हुन प्रशिद्ध कालिका देवी ।

बाईसी चौवीसी राज्यकालमा पर्वतका राजा प्रतापी नारायण मल्लले विसं १५९१ मा पाल्पाका राजा मुनि मुकुन्द सेनकी राजकुमारी विवाहा गरी ल्याउँदा पाल्पा माझकी देवी लाई राजकुमारीले साथै लिएर आएकी हुन् ।

लोपोन्मुखी लोक संस्कृतिको जगेर्ना गर्दै जनजाती मगर समुदाय ।

पर्वते राजाको वंशावलीमा लेखिएको छ, “… तनै साहेब राजपुत्र छदै तन्का छोरा पर्तापी नारायण मल्ल राजा भै रजाया । तनका विभाहा पाल्पाका सिद्ध पर्तापी मनी मुकुन्द सेन मैया विभाहा गरी माझकी देवीपनि मागी ल्याया …।”

कालिका देवीको मन्दिर पहिले र अहिले ।

“…श्रीदेवी कसैले बोक्न नसक्दा ठोकरामा सुनका फाली भयाका शिकारी चक्र पवारले बोक्दा हलुंगा भया तनै शिकारीले श्रीदेवीको खडग समाती लिया भनी चक्र पवारको खडगा पदवि दिय श्रीदेवीको पुवारी बनाय बागलुंचौरमा श्री देवी थपित बनाय बढाइ गराय… ।”

राजा प्रतापी नारायण मल्लले माझकी देवीलाई हालको बाङ्गेचौरमा स्थापित गरेर ढोर(ल)थाना (वेनी) गएका थिए । तत्पश्चात नै कालिका देवीको मन्दिरमा प्रत्यक वर्ष चैत्रशुक्ल अष्टमीका दिन चैत दशैँ मेला गरिने प्रचलन (परम्परा) चलाएका हुन् ।

राजकुमारीकी अति प्रिय थिईन माझकी देवी । देवीलाई पर्वत राज्यको राजधानी ढोर (ल)थाना नलगी बाङ्गेचौरमा प्रतिष्ठापित गरेको राजकुमारीलाई चित्त बुझेको थिएन । राजा प्रतापी नारायण मल्लले देवीलाई बेनी वा ढोर(ल)थाना नलग्नुका धेरै कारणहरु रहेको इतिहासकारको भनाई रहेको छ ।

पर्वते राजाहरु वैष्णवमार्गी थिए । राजा प्रतापी नारायणका बाजे राजा डिम्बबम मल्ल स्वयं जगन्नाथका परम् भक्त थिए । जगन्नाथको मन्दिर रहेको गाउँ अर्थात आसपासमा काटमार गर्ने प्रचलन अहिले सम्मपनि नरहेको स्थानीयले बताउछन् । यति सम्मकि हाँस कुखुरा समेत पाल्न नहुने मान्यता रहिआएको गाज्नेमा, देवीको मन्दिर स्थापित गर्ने अवस्थामा राजा प्रतापी नारायण थिएनन् । अर्कोतिर बेनी र त्यस माथी रहेको ढोर(ल)थानामा प्रयाप्त स्थानाभावले पनि देवीलाई बाङ्गेचौरमा स्थापित गरेको अनुमान गर्न सकिन्छ ।

रानीको चित्त दुखाईलाई बुझेका राजा प्रतापी नारायणले बाङ्गेचौरमा देवीलाई स्थापित गरेर चैत्रशुक्ल अष्टमीलाई मध्यनजर गरी चैतदशैँ मेलाको आयोजना गरी रानी सहित आफु आएर देवीको पूजाअर्चना गर्ने, स्थानीय लोक साँस्कृतिक कार्यक्रमको आयोजनागर्ने, खेलकूदादिको सन्चालन गर्ने हाटबजार सन्चालन गर्ने साथै जनताको पीरमर्का सुन्ने र बुझने परम्परा कायम गरेका हुन् । यसरी उनले रानीको चित्त दुखाईलाई मेट्ने प्रयास गरेका थिए भने स्थानीय उत्पादनको बजार व्यवस्थापन, लोकसंस्कृतिको विकास, प्रजाहरुसंगको सामिप्यता बढाएर आफनो लोकप्रियता पनि बढाएका थिए ।

राजा रानी सहितको उपस्थितिले चैत दशैँको मेला प्रशिद्ध हुन पुग्यो र देवीको महिमा चौतर्फी फैलिन गयो । फलस्वरुप देवी, बागलुङ र चैत दशैँ मेला वीच अन्योन्याश्रित सम्वन्ध कायम भएर चैत दशैँको नाम उच्चारण हुँदा साथ बागलुङ बजार भन्ने बुझिन थाल्यो ।

कालिका देवीको मन्दिरमा लाग्ने चैतेदशैँ मेलाको धार्मिक महत्व हुनु स्वभाविकै हो । यस मेलाको ऐतिहासिक, साँस्कृतिक एवं आर्थिक महत्वपनि उत्तिकै रहेको छ ।

बागलुङमा देवीको मन्दिरमा चैते दशैँ मेलाको भव्य आयोजना गरिए जस्तै लमजुङको करपुटारमा रहेको ईशानेश्वर महादेवको मन्दिरमा शिवरात्रिमा भव्य मेला लाग्ने प्रचलन रहि आएको छ । बागलुङमा देवीको मन्दिरमा लाग्ने चैतदशैँ मेला र लमजुङको करपुटारमा लाग्ने मेलाको सुगन्ध चारैतिर फैलिएकोले त्यतिबेला देखिनै मानिसहरु “शिवरात्रि करपुटार, चैतेदशैँ बागलुङ बजार…” भन्ने गीत गाउन थालेको विश्वास गरिएको छ ।

पाचौँ शताव्दि देखि निरन्तर चलिरहेको चैत दशैँ मेलामा परिवर्तनहरु आएका छन् । समयका हिसाबले कार्यक्रमहरु परिमार्जित भैरहेका छन् । तीन चार दशक पहिलेको चैते दशैँ मेला हेरकाहरुलाई अहिलेको मेला हेर्दा उराठ लागेर आयो भन्ने गरेको सुनिन्छ, त्यतिबेलाका यानिमायाँ, सालैजो आदि मीठा भाकाका गीतहरु सुनिरहेकालाई आजभोलिको डिस्को संगीतले कानकिराले खाएको दुखेसो सुनाउछन् । पुराना गीत, संगीत र कलालाई जगेर्ना गर्दै नयाँ नयाँ परिवर्तनलाई अंगिकार गर्ने भए राम्रो हुन्थ्यो भन्नेहरु धेरै छन् । डाँडा, काँडा, पाखा, पखेरा, गाउँघरका कुना काप्चा जन्मिएका, हुर्किएका थुप्रै प्रतिभावान कलाकारहरुको खोजी संरक्षण भन्दा ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुतिले यस भेगकै लोक भाका र संस्कृतिमाथी बज्रप्रहार भैरहेको बुढापाकाहरुको दुखेसो रहेको छ ।

चैते दशैँको बास्तविक महत्वलाई उजागर गर्ने परम्पारगत लोकगीत र लोक नृत्यलाई संरक्षण गर्नु पर्ने लोकगीतका पारखीहरुको आवाजलाई सरोकारवालाहरुले खासै वास्ता गरेको देखिएको छैन । ख्यातिप्राप्त कलाकारहरुलाई मनग्गे दक्षिणा दिएर बेजोड प्रस्तुति प्रस्तुत गराउन सकिन्छ भने, आवश्यकता अनुसार केहि रकम सहयोग गरेर परम्परालाई जगेर्ना गर्न किन कन्जूसाँई गर्छन मान्छेहरु ? हेरौँ त, मगर जनजातिको सहभागितामा तीन वर्ष पहिले चैतेदशैँ मेलामा प्रदर्शित लोक गीत र लोक संस्कृतिको दमदार प्रस्तुति सहितको यो भिडियो, अनि बुझन सकिन्छ हाम्रो पहिचान, परम्परा, प्रचलन र संस्कृति । हामीले बिर्सनै नहुने कुरा के हो भने चैते दशैँ मेला हाम्रो साँस्कृतिक पर्व हो । यसको त्यहि हिसाबले सही संरक्षण गर्नु सबैको कर्तव्य हो ।


कालिका देवीलाई पाल्पामा माझकी देवी भनिएको पर्वतका राजाको वंशावलीमा उल्लेख भएकोले यस सम्वन्धमा अरु बढी खोजीनीती गरिरहनु परेन । बागलुङमा माझकी देवीलाई स्थापित गरिए पश्चात श्रीदेवी, कालिका देवी नामले पुकारिन थालेको पाईन्छ र अहिले आएर कालिका भगवती नामले समेत पुकारिने गरिएको छ । कालिका देवी सम्वन्धित लालमोहर, सनद आदि लिखतहरुमा कतै भगवती लेखिएका पाईदैन । केहि वर्ष पहिले सम्म कालिका देवीलाई माइस्थान पनि भनेर सम्वोधन गरिन्थ्यो ।
श्री ५ गिर्वाणयुद्ध विक्रम शाहबाट विसं १८५९ सालमा खडका पुजारीका नाममा भएको लागमोहर, जहाँ देवीलाई कालिका देवी लेखिएको छ ।

चैते दशैँको मेला भर्न टाढा टाढा देखी मानिसहरु आउने गर्छन् । यस पावन अवसरमा साक्षात कालिका देवीको दर्शन, पूजा अर्चना गर्न श्रद्धालुहरुको जनसागरनै उर्लन्छ । सयौँको संख्यामा पशुबलि चढाईन्छ । लाखौ रुपया भेटी चढ्छ । श्रद्धालु भक्तहरु कालिका देवीलाई सुन चाँदीका गरगहना चढाउछन् ।
केहि दिन पहिले मात्र एकजना श्रद्धालुले कालिका देवीले आफनो मनोकामन पूरा गरिदिएको खुशीमा मन्दिरको मुल गेटमा १५ केजी चाँदीको फ्रेम चढाएका छन् । कालिका देवीलाई यसरी सुन चाँदी चढाउने सयौँ वर्ष पुरानो प्रचलन रहि आएको छ । कालिका देवीमा कुनै श्रद्धालुले चढाएको श्री ५ सुरेन्द्र बिक्रम शाहको पालाको चाँदीको मोहरपनि गुठीमा आम्दानी बाँधिएको छ । कालिका देवीमा प्रिति गरी समय समयमा चढाईएका केहि सुन चाँदीका गर गहना र भाँडाहरु यहाँ प्रस्तुत गरिएको छ । त्यतिमात्र नभएर कालिका देवीको नाममा श्रद्धालुहरुले जगा जमीन पनि चढाउने गरेका छन् ।

पछिल्लो समय कालिका देवीको मन्दिरमा घण्टाहरु चढाउने प्रचलन ह्वात्तै बढेको छ । त्यो भन्दापनि चढाएको घण्टालाई व्दार बनाएर झुण्डाउने छुट पाउँदा मन्दिर परिसर अनि सडक साँघुरिदै गएको छ । यो क्रमलाई निरुत्साहित नगर्ने हो भने प्राकृतिक सौन्दर्यले भरिपूर्ण रमणीय जंगल केहि वर्ष मै घण्टै घण्टले भरिने निश्चित छ ।

केहि दशक पहिले सम्म चैत दशैँको मेला भर्न आउने हजारौ श्रद्धालुहरुका लागि दुई तीन दिन पहिले देखिनै पानी बोकेर हालको कालिका कुन्ज परिसरमा माटोका घैंटाहरुमा भरिन्थ्यो र श्रद्धालुहरुलाई खुवाएर स्थानीयवासीले पुण्य कमाउथे । चैते दशैँ मेला भर्न कति ठुलो संख्यामा श्रद्धालुहरु आउँथे भन्ने करिब ५ दशक पहिले खिचिएको यो तस्वीरले देखाउछ ।

मेलामा प्यूठान, गुल्मी, पाल्पा, कास्की, पर्वत म्याग्दी, मुस्ताङ ,रुकुम रोल्पा सम्मका स्थानीय उद्यमीहरु राडी पाखी ओखर घाँजी आदि सामाग्री विक्रीका लागी लिएर आउथे, भारतीय सीमा क्षेत्रका शहरहरुबाट व्यापारीहरु लत्ताकपडा लिएर मेलामा व्यापार गर्न आउथे । उनिहरु अहिलेको लाली गुराँस चोक नजिकको खेतमा जस्लाई मेला खेत भनेर पुकारिन्थ्यो, त्यहाँ बाँसका भकारीबाट बनाइएका अस्थायी टहराहरुमा चार पाँच दिन सम्म व्यापार गरेर बस्थे । तर विकासले फड्को मारेपछी चैते दशैँ मेलामा बन्द व्यापारका लागि टाढाटाढा देखी व्यापारी उद्यमीहरु आउने सिलसिला थामिएको छ । मेलामा विभिन्न ठाउँहरुबाट काठका ठेकाठेकी, बेतबाँसबाट बनेका डाला डाली नाङला आदि स्थानीय उत्पादन ल्याएर विक्री गर्ने चलन कायमै छ ।

न अहिले तन्नेरीहरु कछाड र खादी भिरेर, मादल र डम्फु बोकेर तरुनीहरुसंग गीत गाउन मेलामा आएको देखिन्छ, न तरुनीहरु मखमलको चोली र टेकी लगाएर सोलीमा रोटी, चौठीमा रक्सी र टपरामा अचार बोकेर मेलामा झरेको देखिन्छ । न लोकगीतको उद्गमस्थल मानिने म्याग्दी, बागलुङ, पर्वत, गुल्मीका कलाकारहरु नयाँ नौला भाका लिएर मेला भर्न आउछन् । न अब त्यो खोजेर पाइन्छ । समय सँगै बिलाउदै गएका परम्परागत संस्कृतिलाई जे जति जगेर्ना गर्न सकिन्छ त्यस्लाई संरक्षण गर्न सरोकारवालाहरुले कन्जुसाँई गर्न हुन्न ।

* श्रोत: बागलुङका पवार खडका, बिदुर खडका २०६५ ।
* तस्वीर-भिडियो: किरण आचार्य, फोटो संपादक इबागलुङ / बि.खड्का / संझना तामाङ ।
* बागलुङ २०७३ चैत १२ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *