गल्कोटको ऐतिहासिक कोट मैदानमा लाग्ने चैतदशैँ पर्व र सरायँ नाँच !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ चैत २३ । गल्कोटको कोट मैदानमा चैतेदशैँको तयारी तिब्र पारिएको छ । संस्कृतिलाई जीवन्त राख्न चाड पर्वहरुको ठूलो महत्व हुन्छ । हाम्रा संस्कार र परम्पराहरुलाई यिनै चाड पर्वहरुले सुरक्षित राख्दछन् । शरद ऋतुमा मनाइने बडा दशैंमा जस्तो बाहिरी उल्लास र चहल पहल चैते दशैंमा नभए पनि दुर्गा भवानीको पूजाआजा गर्ने र खास गरेर अष्टमी तिथिको दिन आफन्तजनसँग बसेर सँगै खानपिन गर्ने र भगवान राम जन्मेको तिथि रामनवमी विशेष उल्लासकासाथ धार्मिक अनुष्ठानमा संलग्न भई यो पर्व मनाउने गरिन्छ । गल्कोट क्षेत्रमा यसको महत्व कायमै छ । गल्कोटको कोटमैदानमा बर्षौ पहिलेदेखिनै चैतेदशै पर्वले गल्कोट सँगै आसपास क्षेत्रका मानिसहरुको मन लोभ्याउने गरेको छ ।

कोटमैदान पुजा ब्यवस्थापन समितिले पुजाआजाको ब्यवस्थापन गर्ने गरेको छ भने गल्कोट सस्कृति तथा समाज बिकास मञ्चले खेलकुद तथा सास्कृतिक कार्यक्रम गर्दै आएको छ । चैते दर्शैको दिन गल्कोट नगरपालिका वडा नम्बर ३ हटिया कोटमैदानमा बसोबास गर्ने स्थानिय गन्दर्भ जातिले सराय नाँच देखाउने गरेका छन । यस बर्ष समेत सराय नाँच प्रदर्शन गरिने मञ्चका सदस्य रबिन बोहोरा क्षेत्रीले बताए ।

असत्यमाथि सत्य र विजयको खुसियालीस्वरुप बडो हर्षोल्लासका साथ नाचिने सराय नाचले चतैदसैँको महत्वलाई थप बलियो बनाएको बोहोराको भनाई छ । परम्परागत रुपमा नाचिने सराय नाचलाई विजयको प्रतीकका रुपमा लिने गरिएको उनको भनाई छ । चैतेदशै पर्वसँग जोडिएको सराय नाचको आफ्नै मौलिकता र धार्मिक तथा सांस्कृतिक महत्व रहेको स्थानिय जगत बहादुर खत्रीले बताए । खत्रीले यस्ता धार्मिक तथा सांस्कृतिक पर्वलाई पर्यटनसँग जोडेर आर्थिक लाभ लिन समेत सकिने बताए ।

यस्तै, अर्का समाजसेवी मिन बहादुर खत्रीले सराय नाच हाम्रो इतिहास भएको हुँदा यसको संरक्षण र प्रवद्र्धनमा युवापुस्ताले चासो दिनुपर्ने भन्दै यस्ता संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्नेमा जोड दिए । गन्धर्ब जातिले पञ्चेबाजाको मालश्री धूनसँगै हातमा आ–आफ्ना हतियार लिई छुट्टै भेषभूषामा सजिएर सराय नाच नाच्ने प्रचलन रहेको स्थानिय बिनोद बोहोराले बताए ।

चतैदसैँको अवसरमा खेलिने सराय नाचले पर्वसँग कलासंस्कृति र परम्परालाई झल्काएको पाइन्छ । साथमा सरायले गलकोट क्षेत्र सँगै आसपासमा रहेका आफन्त तथा साथीसँगी सबैलाई एकै ठाउँमा भेला गराई आपसी सद्भाव मेलमिलाप तथा भ्रातृत्वको सम्बन्ध स्थापित गर्दै आपसमा सुखदुःखका भावना साटासाट र भाइचाराको सम्बन्ध प्रगाढ बनाउने कडीका रुपमा सराय नाचले मद्दत पु¥याएको छ । कोटमैदान पुजा ब्यवस्थापन समिति गलकोट नगरपालिका वाड नम्बर ३ कोटमैदानले वर्षेनी चैतेदशैको अवसर पारि यो नाँच देखाउने गरेको गलकोट नगरपालिका ३ का कार्यावाहक वाड अध्यक्ष तथा मञ्चका झहर बहादुर खत्रीले बताए । मञ्चले आगामि चैत्र २७ गतेदेखि ३० गतेसम्म बिबिध सास्कृतिक तथा खेलकुद कार्यक्रमको आयोजना समेत गरेको छ ।

यस बर्षको चैते दशै पर्वलाई सभ्य बनाउनका लागी आन्तरिक तयारी भईरहेको खत्रीको भनाई छ । गलकोटको ऐतिहासिक ठाउ भएका कारण पुजाआजाकै लागी समेत हजारौ मानिसहरु उक्त स्थानमा पुग्ने गरेका स्थानियको भनाई छ । कोटमैदानमा माई र खडक कालिकाको मन्दिर रहेको छ । माईको मन्दिरमा बर्ष भरि पुजाआजा हुने भएपनि खडक कालिकाको मन्दिरमा भने वडा दर्शै र चतै दर्शैको अवसरमा मात्रै पुजाआजा हुने पुजा ब्यवस्थापन समितिका सन्त बहादुर खत्रीले बताउनुभयो । दुवै मन्दिरमा मनले चिताएको पुग्ने बिश्वासका साथ बिभिन्न पशु पक्षिको बलि दिने प्रचलन रहेको छ । कोटमैदान सम्म पुग्ने मोटरबाटो स्तरिय भएका कारण यस बर्ष हजारौ दर्शकहरु आउने आयोजकले अपेक्षा गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.