होम स्टे का सञ्चालकलाई सहकारी र पर्यटन सम्बन्धी सचेतना !

बागलुङ, २०७५ चैत १७ । वित्तीय सेवासंगै समाज रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका सहकारीहरुले पछिल्लो समय पर्यटन प्रवद्र्धनमा समेत प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

सहकारी संस्थाहरुले पर्यटन प्रवद्र्धन उपसमिति गठन गरी कार्यक्रम सञ्चालनका लागि सहकारीहरुबीच अध्ययन अवलोकनका कार्यक्रम गरेर आन्तरिक पर्यटनमा प्रभावकारी भूमिका खेल्दै गएको व्यवसायीहरुले बताएका छन् ।

६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा देशभरका सहकारीहरुले सहकारी सचेतना लगायत सामाजिक तथा सांस्कृतिक रुपान्तरण र मानवीय सेवाका कामहरु गरिरहेका छन् । चैत २० गते ६२ औं राष्ट्रिय सहकारी दिवस मनाइदैछ ।

यसै सन्दर्भमा बागलुङको आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले जिल्लाकै पहिलो होम स्टेका सञ्चालकहरुलाई एक दिने सहकारी सचेतना तथा सहकारीमार्फत पर्यटन प्रवर्धन सम्बन्धी सचेतना प्रदान गरेको छ ।

बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेस्थित जिल्लाकै पहिलो होम स्टे ‘अतिथि सत्कार होम स्टे’ का सञ्चालक, मिलिजुली महिला समुहका सदस्य र आदर्श सञ्चार सहकारी संस्थाका शेयर सदस्यहरुलाई आइतबार सहकारी सचेतना तथा सहकारी मार्फत पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दैं मिलिजुली महिला समुहका अध्यक्ष ईन्द्रा थापाले महिलाहरुलाई व्यवसायिक बनाउँनको लागि सहकारी सचेतना कार्यक्रम प्रभावकारी हुने बताईन् । उनले पछिल्लो समय भकुण्डेका महिलाहरु होम स्टे सञ्चालन र स्थानीय उत्पादनको बजारीकरणले व्यवसाय उन्मुख बन्न थालेको भन्दैं यस्तो अवस्थामा सहकारीले आयोजना गरेको सचेतना कार्यक्रमले बचतको महत्वको बारेमा जानकारी भएको बताईन । उनले सहकारीहरुले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको पनि जनाईन् ।

कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका शेयर सदस्य उमाकान्त शर्माले राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाका सह सम्पादक सिर्जना पन्तले कार्यक्रमको सहजीकण गर्दै २०६३ सालमा साविक धौलागिरि अञ्चलमै पहिलो सञ्चार सहकारीको रुपमा स्थापना भएको आदर्श सञ्चार सहकारीले धौलागिरि जागरण दैनिक पत्रिका र अग्रसर साप्ताहिक पत्रिका प्रकाशन सँगैं वित्तीय तथा सामाजिक गतिविधि गर्दै आएको जानकारी दिईन् । कार्यक्रम संस्थाका पूर्व सञ्चालक सन्तोष क्षेत्रीको अध्क्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.