बाढीले बगाएको सुब्जागाउँ, डाँडाखेत सिंचाई आयोजनाको कुलो २ वर्ष पछि पुनःनिर्माण !

सुमन सुनार,बुर्तिबाङ २०७५ चैत १७ । ढोरपाटन नगरपालिका वडा नंं. ६ सुब्जागाउँमा बाढिले बगाएको सुब्जागाउँ, डाँडाखेत सिंचाई आयोजनाको कुलो २ वर्ष पछि पुनःनिर्माण गरिएको छ । ढोरपाटन नगरपालिकाबाट आर्थिक वर्ष २०७५÷०७६ मा विनियोजित १५ लाख रुपैँया बजेटमा उक्त सिंचाई कुलोको पुनःनिर्माण गरिएको हो ।

गत २०७३ साल साउन ११ र १२ गते भुजीखोलामा आएको भीषण बाढीले सुब्जागाउँ, डाँडाखेत सिंचाई आयोजनाको करिव ३ सय ७५ मिटर कुलो बगाएको थियो । बाढीले कुलो बगाएपछि त्यहाँका स्थानियको करिव २ सय मुरी भन्दा बढी धान र २५ हजार क्वीन्टल भन्दा धेरै आलु उत्पादन हुने खेतियोग्य जमिनमा मकै र अन्य अन्नवाली लगाउनुपर्ने अवस्था थियो । आयोजनाको कुलो पुनःनिर्माण भएसंगै सुब्जागाँउ सहित आसपासका २७ घरधुरीले भोगचलन गर्दै आएको करिव ३ हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुगेको छ । बाढिले कुलो बगाए पछि विगत २ वर्ष देखि सिंचाई सुविधाबाट बञ्चीत भएका सुब्जागाउँका स्थानिय बासिन्दा ढोरपाटन नगरपालिकाबाट विनियोजित बजेटले कुलोको पुनःनिर्माण भएपछि हर्षित भएका छन् ।

उक्त सिंचाई आयोजनाको पुनःनिर्माण सम्पन्न भएपछि ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले उदघाटन गर्दैे थोरैै बजेटमा पनि राम्रो काम भएको भन्दै खुशी व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख नेपालीले उक्त सिंचाई आयोजनालाई थप व्यवस्थापन गर्नका लागि नगरपालिकाबाट आगामी आर्थिक वर्षमा थप बजेटको व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाए । यस्तै उनले सुब्जागाउँमा निर्माण हुन लागेको सुब्जागाउँ सास्कृतिक होमस्टेका लागि नगरपालिकाबाट सक्दो सहयोग गर्ने भन्दै प्रदेश देखि केन्द्र सम्म आवश्यक सहयोगको पहल गर्ने समेत सो अवसरमा बताए ।

यस्तै कार्यक्रममा ग्रामिण विकास मञ्चका संस्थापक सचिव तथा पत्रकार प्रशान्त घर्ती मगर, ग्रामिण विकास मञ्चका सदस्य टेकमायाँ घर्ती मगर, ढोरपाटन नगर कार्यपालिका सदस्य थम बहादुर छन्त्याल लगायतले मन्तब्य राखेका थिए ।
उद्घाटन कार्यक्रमकै अवसरमा मिलन आमा समुह सुब्जागाउँले ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालीलाई सम्मान समेत गरेको थियो ।
त्यस्तै सुब्जागाउँ, डाँडाखेत सिंचाई आयोजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दल बहादुर घर्ती मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

ढोरपाटन नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जीवन कुमार पुनको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा ढोरपाटन नगरपालिकाका उप–प्रमुख करमती पुन, वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी लगायत स्थानिय समाजसेवी, बुद्धिजिविहरुको उपस्थिति रहेको थियो । सुब्जागाउँ लांघाली सास्कृतिक परिवारका अध्यक्ष मिम प्रसाद पुनको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन भने ग्रामिण विकास मञ्चका संस्थापक अध्यक्ष सुनिल कुमार घर्ती मगरले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.