गल्कोट-२ तोरीखोलाका होमस्टे सन्चालकहरुको टोली अध्ययन अवलोकन भ्रमणमा !

गुमानसिँह भण्डारी गल्कोट २०७५ चैत १५ । गल्कोटमा सामुदायिक होम स्टे संचालनमा आउने भएको छ । गल्कोट नगरपालिकाले होमस्टेको पूर्वाधार तयार पार्नका लागी गत बर्ष गल्कोट नरेठाटीको तोरीखोलामा रकम विनियोजन गरेको थियो । पूर्वाधारको काम सम्पन्न भईसकेकाले गल्कोट नगरपालिका २ को कार्यालयले तोरीखोला सामुदायिक होम स्टे समिति सँग मिलेर होम स्टे सञ्चालक र समितिलाई भ्रमणमा लगेको छ ।

ऐतिहासिक गल्कोट सँगै पश्चिम ढोरपाटन सम्म घुम्न जाने पर्यटक लक्षित गरेर गल्कोटको नमुना बस्ती तोरीखोलामा होम स्टे सञ्चालन गर्न लागिएको वडा नं २ का अध्यक्ष हिम बहादुर भण्डारीले ईबागलुङलाई बताए ।

वडाका जनप्रतिनिधि, समितिका सदस्य र होम स्टे सञ्चालक गरि १५ जनाको टोली आजदेखि अवलोकन भ्रमणमा निस्किएको हो । उक्त टोलीले एसिया कै नमुना मानिने लमजुङको घले गाउँ, काउलेपानी, स्याङ्जाको सिरुबारीमा संचालित होम स्टेमा अवलोकनको लागि जान लागेको समितिका अध्यक्ष कुमार पुनले बताए । गल्कोटको नमुना बस्ती तोरीखोलामा पहिलो चरणमा ५ घरधुरीमा होमस्टे संचालन गर्ने कार्यक्रम छ् ।

अवलोकन भ्रमणबाट फर्के लगतै प्रदेश सरकारले होम स्टे सञ्चालनका लागी सहयोग गरेको १० लाखले काम अगाडि बढाउने पुनले बताए । होमस्टे संचालनमा ल्याउनका लागी पुर्वाधार सँगै आन्तरिक ब्यवस्थापन लगायतका काम गर्न तोरीखोला सामुदायिक होमस्टे ब्यबस्थापन समिती गठन गरिएको छ ।

गल्कोटको घुम्टे, राजाको दरबार, निलुवा, गाजा, सह्श्रधारा, गाईघाट पर्यटकीय क्षेत्र हुन । यस क्षेत्रमा स्थानिय बस्तुहरु उत्पादनका लागिसमेत प्रख्यात रहेकाले होमस्टेले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सक्ने वडा अध्यक्ष भण्डारीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.