प्रतिलिपि अधिकार हनन हुन नदिन बौद्धिक बर्ग सचेत बन्नुपर्छ : प्रजिअ खरेल

कोपिला कंडेल, बागलुङ २०७५ चैत १५ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले प्रतिलिपि अधिकार सम्बन्धी कानुन कार्यान्वयनको अवस्था र सुधारका क्षेत्रहरु बिषयक एक दिवसीय गोष्ठी सम्पन्न गरेको छ ।

गोष्ठीका प्रमुख अतिथी एवं प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले उद्घाटन पछि बोल्दै प्रतिलिपि अधिकारको हनन हुन नदिन बौद्धिक बर्ग सबै सचेत बन्नुपर्ने बताए ।

नेपालको संबिधानले प्रतिलिपि अधिकारलाई बौद्धिक सम्पत्तिको रुपमा स्थापित गरेको छ प्रमुख जिल्ला अधिकारी खरेलले भने, बौद्धिक सम्पत्तिको रुपमा कानुनले ब्यवस्था गरेको प्रतिलिपि अधिकारको चोरी भएमा सम्बन्धित ब्यक्तिले आवाज उठाउनु पर्छ ।

उनले राज्यले कानुन निर्माण गरेपनि प्रतिलिपि अधिकारलाई ब्यवहारमा कार्यान्वयन भने गर्न नसकेको बताए ।

कार्यक्रमको सहजिकरण गर्दै नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार प्रकाश आचार्यले प्रतिलिपि अधिकार र यसको संरक्षण बिषयक एक कार्यपत्र प्रस्तुत गर्दै प्रतिलिपि अधिकारको चोरी भएमा सम्बन्धीत ब्याक्तिले उजुरी गरेको बखत कानुन बमोजिम कारबाही हुने ब्यवस्था रहेको बताए । सृजनात्मक कार्यको लागि प्रतिलिपि अधिकारले महत्वपुर्ण भुमिका निर्वाह गर्ने चर्चा गर्दै सहजकर्ता आचार्यले मुलुकको सामाजिक आर्थिक तथा सांस्कृतिक बिकासका लागि प्रतिलिपि अधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिए । त्यसैगरी नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका कानुन अधिकृत लक्ष्मी शर्माले प्रतिलिपि अधिकार संरक्षण सम्बन्धमा कानुनी ब्यवस्था बिषयक कार्यपत्र प्रस्तुत गर्दै प्रतिलिपि अधिकार र दण्ड सजाय सम्बन्धी सम्बन्धीत ब्यक्तिलाई कारबाही हुनुपर्ने बताएका थिए ।

सो अवसरमा बोल्ने सहभागीले नेपालमा प्रतिलिपि अधिकार सम्बन्धी कानुन निर्माण भएपनि प्रभावकारी कार्यान्वयनको अभावमा अरुका सृजना रचना संगीत लगायतको चोरी गर्नेलाई कारबाही हुन नसकेको बताएका थिए । उनिहरुले प्रतिलिपि अधिकार सम्बन्धी कानुनलाई राज्य स्तरबाटनै कडाईका साथ लागु गर्नुपर्ने बताए ।

कार्यक्रम नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार प्रकाश आचार्यको अध्यक्षता, कानुन अधिकृत लक्ष्मी शर्माको स्वागत मन्तब्य र कार्यालयका उत्तम दवाडीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.