उपभोक्ता मन्च विरुद्ध व्यायारीहरुको एउटै स्वर : व्यवसायीलाई दुःख दिने नियतवस आयो विज्ञप्ती !

कोपिला कंडेल, बागलुङ २०७५ चैत १४ । राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले किङ्गफिसर बियरलाई लिएर निकालेको बिज्ञप्ती प्रति बागलुङ उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ । संघले बिहिबार पत्रकार सम्मेलन गरी मञ्चद्वारा बुधबार निकालेको विज्ञप्ती दुःख दिने नियतबस भएको आरोप लगाएको हो ।

संघका अध्यक्ष युवराज राजभण्डारीले म्याद सकिएको किङ्गफिसर बियरको बारेमा एक्कासी, नियतबस ढङ्गले विज्ञप्ती निकालेको भन्दै त्यस्तो कार्य आपत्तिजनक रहेको बताए ।

व्यवसायी श्रीजय श्रेष्ठले राष्ट्रिय उपभोक्ता मञ्चले व्यक्तिगत रुपमा दुःख दिने नियतले किङफिसर बियरको बारेमा अनावश्यक टिप्पणी गरिएको उल्लेख गर्दै गल्कोट क्षेत्रका भेटिएको म्याद नाघेको केही बियर फिर्ता भैसकेको जानकारी समेत दिए । उनले राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष पटक–पटक आफ्नो पसलमा गई सिडिओसंग मिलाउँदैछु भनेको तर उनको माग बारे सम्बोधन नगरे पछि २ वटा बियर लगेर आफुहरुको व्यवसाय बिरुद्ध प्रचारबाजी गरेको आरोप लगाए।

उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वसन्तकुमार श्रेष्ठले किङ्गफिसर बियरलाई मात्र इन्डिकेट गरेर विज्ञप्ती निकाल्नु नियतबस रहेको बताए ।

व्यवसायीहरुले राष्ट्रिय उपभोक्ता मञ्च प्रति नै प्रश्न तेर्साएका छन् । दशकौँसम्म एउटै व्यक्ति अध्यक्ष बनिरहेको, चाडवाडको समयमा व्यवसायीबाट पैसा संकलन गर्ने, मासु उठाउने, मञ्चद्वारा प्रकाशित पुस्तकको लागि विज्ञापन उठाउने र विज्ञापन नदिए अनुगमनको नाममा व्यवसायीलाई दुःख दिने गरेको आरोप समेत लगाएका थिए ।

व्यवसायीहरुले विज्ञप्ती समेत जारी गर्दै मञ्चद्वारा प्रकाशित विज्ञप्ती प्रति ध्यानाकर्षण भएको बताएका छन् । बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष युवराज राजभण्डारी, डिलर एशोसियसन, बागलुङका अध्यक्ष कमल प्रधान, मदिरा व्यवसायी संघका अध्यक्ष सरोज बानियाँद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा नियतबस प्रकाशित बिज्ञप्ती प्रति घोर भत्सर्ना गरेको उल्लेख छ । ‘व्यवसायीलाई दुःख दिने नियतवस कुनै व्यवसायी, उत्पादन वा कम्पनीलाई लक्षित गरि विज्ञप्तीबाजी र प्रचार प्रसार गरिएकाले यस्ता कार्यप्रति घोर आपत्ति प्रकट गर्दै सम्पूर्ण व्यवसायी एवं उपभोक्ताहरुलाई जागरुक हुन अनुरोध गर्दर्छौँ’ विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा म्याद सकिएका पेय पदार्थ लगायत कुनै पनि सामाग्रिहरु विक्रि वितरण नगर्न तथा फिर्ता गर्नको लागि डिलर व्यवसायीसंग अनुरोध गरिएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बुधबार विज्ञप्ती प्रकाशित गर्दै म्याद नाघेका विभिन्न ब्रान्डका वियर तथा पेय पदार्थहरु विक्रि वितरण भईरहेकोले जिल्ला भित्रका व्यापारी, होटल, लजहरुले त्यस्ता वस्तुहरु कम्पनीमा फिर्ता गरी नष्ट गर्न आग्रह गरेका थिए ।

श्रेष्ठद्वारा हस्ताक्षरीत विज्ञप्तीमा ‘उपभोक्ता संरक्षण ऐन २०५४ नियमावली २०५६ बमोजिम उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा असर पर्ने खालका गतिविधि गर्न नपाई कानुनी व्यवस्था भए अनुसार म्याद नाघेका वस्तु विक्री वितरण नगर्न अनुरोध गरिएको छ’ उल्लेख गरिएको थियो । कार्यक्रम उद्योग बाणिज्य सघं बागलुङका अध्यक्ष राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष उमाकान्त शर्मा बाबुको स्वागत मन्तब्य र महासचि नरेस कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

सम्वन्धित लिंक
म्याद गुज्रिएका किंगफिशर वियर बागलुङ बजारमा छ्याप्छ्याप्ती, सचेत हुन उपभोक्ता मन्चको आग्रह !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.