प्रशंगवस : ऐतिहासिक एवं धार्मिक नगरी उपल्लाचौरको यस्तो छ, पछिल्लो हाल !

बागलुङ २०७५ चैत १० । बागलुङ पहिले बागलुङचौर भनेर चिनिन्थ्योे । ऐतिहासिक दस्ताबेज, (पुराना कागजपत्र लालमोहर, सनद, ताम्रपत्र र नक्साहरु)मा बागलुङचौर भनेर उल्लेख गरिएको पाईन्छ । बाङ्गेचौर, उपल्लाचौर र ओडारचौरहरु बागलुङचौरभित्रै पर्दथे ।

करीब ५ सय वर्ष पहिले (बिसं १५९१) प्रशिद्ध कालिका देवी (पाल्पा माझकी देवी) लाई पर्वतका राजा प्रतापी नारायण मल्लले बाङ्ंगेचौरमा प्रतिष्ठापित गरेपश्चात कालिका देवीको नाममा भएका लिखत, सनद, आलमोहरादिमा ‘बागलुङचौरकी कालिका देवी’ भनेर उल्लेख गरिएको पाईएकोले यस कुराको पुष्टि गर्दछ ।

कीर्तिवम मल्ल पर्वत राज्यको तख्तमा रहँदाका बखत बिसं १८४० मा भक्तपुरका राजा रणजीत मल्लका भित्रिनी पट्टीका छोरा अवधूत सिँहलाई यहि उपल्लाचौरको घर घडेरी विर्ता दिएर शरण दिएपछी उपल्लाचौरको ऐतिहासिक महत्व बढेको हो । बागलुङचौर भएर वेनी, मुस्ताङ जाने बाटोमा पर्ने उपल्लाचौरको घडेरी राजा कीर्तिबम मल्लले अवधूत सिँहलाई बिर्ता दिएका हुन् ।

शक सम्वत १७०५ (बिसं १८४०) पुस महिनामा पर्वतकमा राजा कीर्तिवम मल्लले राजकुमार अवधूतसिँहका नाममा गरिदिएको ताम्रपत्रमा ‘…स्वस्ती श्रीश्री अवधूतसिँहके उपल्लाचोरको घ्याडी विर्ता गरिदियाँ निकासी माफ गरी दियाँ…’ भनी उल्लेख गरिएको छ ।

पर्वतका राजा कीर्तिवम मल्लले भक्तपुरका राजकुमारलाई शरण दिएर उपल्लाचौरमा राखेपछी श्री ५ राजेन्द्र विक्रम शाहले बिसं १८७७ कात्तिक महिनामा कार्कीकोटको अब्बलमा रहेको उपल्लाचौरको जग्गा चार किल्ला छुट्टाइ, ‘… इती चार किल्ला मोहर गरिबक्स्यो आफ्ना खातिरजामा सित बिर्ता जानी भोग्य गर…’ व्यहोराको मोहर (लिखत) बाट समेत यो जग्गा अवधूत सिँहले बि सं १८७७ पछी सम्म भोग चलन गर्दै आएको देखिन्छ । पर्वत राज्य नेपाल अधिराज्यमा बिलय भएपछी पनि अवधूत सिँहले यो बिर्ता बिसं १८९६ सम्म भोगचलन गरेको ईतिहासकारहरुले लेखेका छन् । (पर्वत राज्यको ऐतिहासिक रुपरेखा, पेज १६ ।)

उपल्लाचौरको क्रमिक विकास

उपल्लाचौरको शेराडिलमा नेपाली सेनाको ब्यारेक स्थापना ( हाल २३ नं वाहिणी अड्डा), नेत्रज्योति संघको आँखा उपचार केन्द्रको भवन, नेपाल परिबार नियोजन संघ र नेपाल रेडक्रस सोसाईटी, डीसीआरडीसीको भवन निर्माण, स्थानीय श्रद्धालुं भक्तहरुको सक्रियता तथा नेपाली सेनाको सहयोगमा गौरीधाम शिवमन्दिरको निर्माण, बागलुङ बसपार्क (दावागरा) शिलान्यास आदिका कारण उपल्लाचौरले काँचुली फेदैै आएको छ । केहि वर्ष पहिले सम्म पातलो बस्ती रहेको उपल्लाचौर अहिले ठुलै बजारकोरुपमा विकसित भएको छ । (तस्वीरहरु)

यस्तो छ, उपल्लाचौरको पछिल्लो हाल

केहि समय यता असामाजिक तत्वहरुको चलखेलले उपल्लाचौर गन्हाउन थालेको छ । केहि गम्भीर खाले घटनाहरुले गर्दा ऐतिहासिक एवं धार्मिक नगरी उपल्लाचौर गन्हाएको हो । आँखा उपचार केन्द्रको भवन निर्माण होस् या दावागरा बागलुङ बसपार्क निर्माण होस भ्रष्टाचारका कारण उपल्लाचौर चर्चाको शिखरमा छ । यति मात्रपनि होईन, अवैध लागु औषध कारोबार तथा सामुहिक बलात्कारको घटनाका कारण पनि रमणीय नगरी उपल्लाचौर चर्चामा छ । पछिल्लो समय उपल्लाचौरमा विछ्याईएका रेड कार्पेटहरुका कारणपनि टीकाटिप्पणी चल्न थालेको छ ।

विस २०६० साल असोज ७ गते बागलुङ नगरपालिकाले उपल्लाचौर दाबागरामा बसपार्क निर्माण गर्ने निर्णय गरेर विस २०६१ साल असार महिनामा बसपार्कको विधिवत शिलान्यास कार्य सम्पन्न भयो ।

सो निर्माणाधीन बसपार्कको पुन बिसं २०७५साल फागुन महिनामा शिलान्याश गराईयो । गजक त के देखियो भने, २०६१ साल असारमा शिलान्यास समारोहको सन्चालन दाबागरा बसपार्क निर्माण समितिका सचिव ध्रुवबहादुरकेसीले गरेका थिए भने २०७५ फागुनमा पुन शिलान्यास गराईदा उनै केसी सोहि ४ नं वडाको वडाध्यक्षको भूमिका निर्बाह गरिरहेका थिए । उनले यो दावागरा बसपार्कको २०६१ साल असार महिनामा शिलान्यास भएको बास्तविकता किन लुकाए ? कतै दाबागर बसपार्क अहिलेकै बागलुङ नगरपालिकाको प्रयासमा थालनी गरिएको भन्ने भ्रम नगरवासीमा छर्ने दुष्प्रयास गरिएको हो भने यो गम्भीर गल्ती हुनेछ । सत्यलाई हत्केलाले छेक्न खोज्नु महामूर्खता हुनेछ ।

अर्कोतिर यहि निर्माणाधीन बसपार्कको माटो डोजरले फाल्ने काम गरियो तर बिलमा भने म्यानुअल (ज्यामी लगाएर) फालिएका भनि १० लाख रुपयाँ भन्दा बढी रकम भ्रष्टाचार गरिएको महालेखा परीक्षकको प्रतिवेदनमा देखिएपछी केहि दिन पहिले सो रकम झ्वाम् पार्नेहरुले यहि फागुनको चौथो हप्तामा बागलुङ नगरपालिकामा फिर्ता गरेका छन् । भ्रष्टाचार गरेको रकम फिर्ता गर्न आउनेहरु माथी भने कुनै कार्बाही भएको छैन ।

त्यस्तै उपल्लाचौरमा रहेको आँखा उपचार केन्द्र (आँखा अस्पताल)को भवन दुई वर्ष पहिले मरमत गरि रकम समेत नगरपालिकाबाट भुक्तानी लिईएको थियो । तर हालसालै सोहि भवन मर्मत भनि पुराना बिलभपाई पेसगरी रु १४ लाख भन्दा बढी रकम भ्रष्टाचार गर्नेहरुले महालेखाको प्रतिवेदन पछि सो रकम नगरपालिकामा फिर्ता गरेर भ्ष्टाचारलाई चुनौति दिन सफल भएका छन् । यस कार्यमा संलग्न कसैलाई पनि नगरपालिकाले कार्बाही गरेको छैन ।
आँखा उपचार केन्द्रको भवन २०५१ सालमा निर्माण गरिदा पनि दुई तिहाई भ्रष्टाचार भएको समाचार प्रकाशमा आएको थियो ।

स्थानीय सरकार सन्चालन ऐन २०७४ का अनुसार आँखा उपचार केन्द्रको भवन र निर्माणाधीन दाबागरा बसपार्कमा भएको भ्रटाचारको रकम भुक्तानी दिने कार्यको मख्य जिम्मेवार व्यक्ति प्रमुख प्रशासकीय अधिकृत भएकाले विचार पुराउनु पर्ने थियो । किन बिचार पुराईएन भन्दै नगरवासी यस जिम्मेवारीबाट प्रमुख प्रशासकीय अधिकृत उम्कन नपाउने बताईरहेका छन् ।

(यहाँ प्रस्तुत ऐतिहासिक दस्तावेज पर्वत राज्यको ऐतिहासिक रुपरेखा, लेखक टेक बहादुर श्रेष्ठ, नेपाल र एशियाली अनुसन्धानकेन्द्र, त्रिविविबाट प्रकाशित पुस्तिका बाट साभार गरिएको हो ।)

बागलुङ नगरपालिकामा करोडौँ अनियमितता, कार्बाही गरी असुल गर्न महालेखाको निर्देशन !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *