आदर्श सञ्चारका सञ्चालक र कर्मचारीलाई सचेतना

बागलुङ, २०७५ चैत ९ । संस्थालाई थप व्यवसायिक र प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका सञ्चालक र कर्मचारीहरुका लागि एकदिने क्षमता अभिवृद्धि तालिम शनिवार सम्पन्न गरेको छ ।
सञ्चालक समिति, उपसमितिका पदाधिकारी तथा सदस्यहरु तथा कर्मचारीहरुलाई व्यवसायिक सचेतना प्रदान गरी सहकारी व्यवसायलाई थप प्रभावकारी बनाउन तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।

सूचना र सञ्चारका क्षेत्रमा क्रियाशिल आदर्श सञ्चार सहकारीले वित्तीय सेवा तथा सचेतनाका कार्यक्रमलाई शसक्त रुपमा अगाडि बढाउदै आएको छ । आगामी दिनमा प्रविधिको अधिकतम उपयोग गरी सदस्यहरुलाई सेवा प्रदान गर्नका लागि निरन्तर सहकारी शिक्षा लगायत सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी (अञ्जु) ले बताईन ।

सहकारीका शेयर सदस्यलाई सक्रिय, सञ्चालकहरुलाई क्षमतावान र कर्मचारीलाई दक्ष बनाउनका लागि निरन्तर शिक्षा आवश्यक रहेको सो अवसरमा बताईएको थियो ।

कार्यक्रममा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सञ्चालक समितिको काम कर्तव्य र अधिकार, संस्थाको २०८० सालसम्मको रणनीतिक योजना र उक्त योजना सफल पार्नका लागि सञ्चालक, शेयर सदस्य र कर्मचारीको भूमिका लगायतका विषयमा सहजीकरण गरेका थिए ।

वित्तीय सेवासंगै प्रविधिको उपयोगमा अगाडि बढ्नका लागि संस्थाले लिएको प्रविधिमैत्री विषयमा संस्थाका पर्यटन प्रवद्र्धन उपसमितिका सदस्य सूर्य चापागाईले जानकारी गराएका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार डिलबहादुर कार्की र अध्यक्ष अञ्जु जिसीले सञ्चालक समितिद्वारा गठित विभिन्न उपसमितिका सदस्यहरुलाई वधाई ज्ञापन गर्नु भएको थियो । तालिममा सञ्चालक, उपसमितिका सदस्यहरु र कर्मचारी गरी ३५ जनाको सहभागिता रहेको थियो ।

संस्थाले सूचना तथा सञ्चार उपसमिति, शिक्षा उपसमिति, कर्जा उपसमिति, पर्यटन प्रवद्र्धन उपसमिति, व्यवसाय प्रवद्र्धन उपसमिति, स्वास्थ्य तथा सरफाई उपसमिति र युवा तथा खेलकूद उपसमिति गठन गरी ३० जना शेयर सदस्यहरुलाई जिम्मेवारी प्रदान गरेको छ ।
संस्थाको मुख्य उदेश्य सञ्चार भएकाले पत्रिका प्रकाशनसंगै वित्तीय, सामाजिक र सचेतनाका कार्यक्रम गर्दै आएको आदर्श सञ्चार सहकारीमा हाल १३ सय जना शेयर सदस्य, ३ करोड शेयर रकम, १३ करोड निक्षेप, १५ करोड कर्जा लगानी र १८ करोड कुल सम्पत्ती रहेको संस्थाका कोषाध्यक्ष पूर्णबहादुर कार्कीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.