नेपालकै अग्लो र ठुलो लगानीमा निर्माण हुने झोलुंगे पुलको शिलान्याश !
आर्थिक सम्मृद्धिका लागि बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुल महत्वपूर्ण – सभापति तिमिल्सिना

कोपिला कंडेल, बागलुङ २०७५ चैत ९ । बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजार र पर्वतको पाङ अदुवाबारी जोड्ने ५ सय ६७ मिटर लामो झोलुंगे पुलको शनिबार राष्ट्रिय सभाका सभापति गणेश तिमिल्सिनाले बागलुङ नगरपालिका-१ बांगेचौरमा बैदिक विधिपूर्वक शिलान्याश गरेका छन् ।

शिलान्याश पछि बोल्दै उनले आर्थिक सम्मृद्धिका लागि बागलुङ पर्वत जोड्ने झोलुङ्गे पुल महत्वपूर्ण बन्ने बताए । मुलुकको आर्थिक बिकास र सम्मृद्धिका लागि राज्यले ठुलो लगानी गरेको चर्चा गदै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले सरकारका गतिबिधी जमिन मुनीबाट शुरु भएकाले सतहमा आएर फड्को मार्न अझै केही समय लाग्ने बताए । तिन तहका सरकारलाई एकै साथ अगाडी बढाउदा केही समस्या उत्पन्न हुने गरेका छन, अध्यक्ष तिमिल्सिनाले भने, स्थानिय तहको बिकासका लागि स्थानिय उत्पादन बढाएर ब्यापार घाटा कम गर्नुपर्दछ । बागलुङ पर्वत जोड्ने यो झोलुङ्गे पुलले स्थानिय सम्भावनालाई उजागर गर्ने उनको दाबी थियो ।

शिलान्याश कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, गण्डकी प्रदेशका मन्त्री बिकास लम्साल, बागलुङ जिल्लाका सांसदहरु देबेन्द्र पौडेल, डा सूर्य पाठक, र्पतका सांसद पदम गिरी, प्रदेश सांसद ईन्द्रलाल साप्कोटा र संबिधान सभा सदस्य प्रकाश शर्मा पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसरमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले बागलुङ र पर्वतको पाङ्ग अदुवाबारी जोड्ने झोलुङ्गे पुल नेपालको सबै भन्दा लामो र राज्यको ठुलो लगानीमा बन्न लागेको जानकारी दिँदै यो नेपालको सर्वाधिक ५ सय ६७ मिटर लामो र कालीगण्डकीको सतह देखी १ सय २८ मिटर माथि हुने बताए ।

पुल निर्माणका लागि सुरुको लागत १२ करोड २२ लाख रहेको थपलियाले बताए । उनले पुल शिलान्याश भएको दिनदेखी २ बर्ष भित्रमा सम्पन्न गर्ने योजना रहेको चर्चा गर्दै तोकिएको समय सीमा भित्र सम्पन्न नगरेमा ठेकेदार कम्पनि माथि प्रश्न चिन्ह खडा हुने बताए । पुल सम्पन्न गर्नका लागि आफुहरुले बजेटको अभाव हुन नदिने भन्दै ठेकेदारलाई कुनैपनि बाहनामा ढिलासुस्ती गर्ने छुट नभएको उनको भनाई थियो ।

कार्यक्रम बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलको अध्यक्षता, कुस्मा नगरपालिकाकी उप प्रमुख सीता काफ्लेको स्वागत मन्तब्य र पत्रकार राम थापाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *