बडीगाडमा सामाजिक विकृति विरुद्ध सामुहिक प्रतिवद्धता मार्फत समाज सुधारको अभियान थालिदै !

कमल पौडेल, बडीगाड, (बागलुङ) २०७५ चैत ५ । बडीगाड गाउँपालिकामा सामाजिक विकृति न्यूनिकरणको लागि विशेष पहल गरिने भएको छ । गाउँपालिका भित्रको अनियन्त्रित मदिरा, जुवातास, दाईजो प्रथा, छुवाछुत, महंगी लगाएतका सामाजिक विकृति न्यूनीकरणको लागि पालिकाले पहल सुरु गर्ने भएको हो ।

यस अभियान अन्तरर्गत चैत्र ८ गते पालिका भित्रका सवै जनप्रतिनिधि, राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्था, पेशाकर्मी, व्यवसायी तथा आम सर्वसाधरणलाई भेला गरि सामाजिक विकृति विरुद्ध सामुहिक रुपमा प्रतिवद्धता मार्फत समाज सुधारको अभियान सुरु गर्न लागिएको गाउँपालिकाले बताएको छ ।

लामो समयको पूर्व तयारी पछि सो अभियान घोषणा गर्न लागिएको बडीगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले ईबागलुङलाई जानकारी दिए ।

सो अभियानको सुभारम्भ, प्रतिवद्धता तथा घोषणा कार्यक्रममा संघिय तथा प्रदेश सांसदहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, छिमेकी पालिकाका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी सहित को सहभागिता रहेने प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाई छ ।

मदिरा, दाईजो, छुवाछुत लगाएतका विषयले समाजमा झैझगडा फैलिएकोले सामाजिक विकृति रोक्न विशेष अभियान सुरु गर्न लागिएको गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले वताए । चैत्र ८ गते गाउँपालिकाको कार्यालय ग्वालिचौर खार वजारमा हुने सो कार्यक्रममा बडीगाड गाउँपालिकाको सम्वृद्धि चाहने सवैलाई उपस्थितको लागि गाउँपालिकाले अनुरोध गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *