ढोरपाटन नगरपालिका बुर्तिबाङमा जारी ८ दिने मेलमिलाप सम्बन्धी आधारभुत तालिम सम्पन्न !

सुमन सुनार, बुर्तिबाङ २०७५ चैत ५ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा जारी ८ दिने मेलमिलाप सम्बन्धी आधारभुत तालिम सोमबार सम्पन्न भएको छ । ढोरपाटन नगरपालिका अन्तर्गत रहेको न्यायिक समिति, जनप्रतिनिधिहरु तथा अन्य सामुदायिक मेलमिलापकर्ताको क्षमता अभिबृद्धि गरी वडा स्तरमा हुने विभिन्न विवादलाई मेलमिलापका माध्ययमबाट वडामै मिलाउने उद्देश्यले ढोरपाटन नगरपालिकाले उक्त तालिमको आयोजना गरेको थियोे । हाम्रो समस्या, हाम्रै समाधान भन्ने मुल नारा सहित आयोजना गरिएको तालिम गत फाल्गुन २७ गते देखि सुरु भएको थियो । जनअधिकार संरक्षण मञ्च पिपिआर नेपालसंगको समन्वयमा तालिमको सञ्चालन गरिएको हो ।

तालिमको समापन कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले मेलमिलाप सम्बन्धी कार्यलाई सरल र सहज तवरले सञ्चालन गर्न सहयोग पु¥याउनुका साथै स्थानीय स्तरमा शान्ति, सौहार्दता र मेलमिलाप कायम गर्न ढोरपाटन नगरपालिकाले प्रयास थालेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख नेपालीले मेलमिलाप सम्बन्धी तालिम निकै महत्वपुर्ण भएकाले सहभागीले तालिमबाट सिकेर आफ्नो गाउँ, टोल र छिमेकमा हुने सानातिना झैझगडा, विवाद समाधान र न्याय निरुपणमा विशेष भुमिका खेल्नुपर्ने बताए । आफ्नो आस्था जुनसुकै संघ, संस्था र पार्टीमा भएपनि मेलमेलापकर्ताले समावेशी ढंगले न्याय निरुपण गर्नुपर्ने नगर प्रमुख नेपालीको भनाई थियोे ।

यस्तै जनअधिकार संरक्षण मञ्च गण्डकी प्रदेश संयोजक तथा तालिमका प्रमुख प्रशिक्षक ममता देवी शर्माले मेलमिलापकर्ताहरु उच्च तथा सर्वोच्च अदालतका न्यायधिसको भन्दा पनि माथी रहेको भन्दै समाजमा रहेका हरेक नागरिकहरुसंग सहकार्य गरेर न्याय निरुपण गर्न आवश्यक रहेको बताईन् । सहभागीहरुलाई सिकेका कुरामा व्यवहारिक प्रयोगमा ध्यान दिन आग्रह गर्दै उनले देवानी प्रकृतिका विवाद मुक्त नगर निर्माणमा जुट्न आग्रह गरिन् । यस्तै शर्माले ढोरपाटन नगरपालिकाले तालिमको आयोजना गरी ठुलो संख्यामा मेलमिलापकर्ता जन्माएको बताईन । आगामी दिनमा पनि मेलमिलाप कर्ताको क्षमता अभिबृद्धी र स्तर बृद्धिका लागि नगरपालिकाले यस्तै कार्यक्रमको आयोजना गर्दै जाने अपेक्षा आफुले लिएको शर्माले उनको भनाई थियो ।

यस्तैगरी तालिममा सहभागीहरुले कानुनी अनविज्ञता र कानुनी सल्लाहकारको अभावमा विभिन्न समस्या झेल्दै आइरहेको अवस्थामा उक्त तालिमबाट कानुनी व्यवस्था, न्याय निरुपण सम्बन्धी धेरै कुरा बुझ्ने र सिक्ने मौका पाएको भन्दै खुशी व्यक्त गरेका थिए । आगामी दिनमा आफुहरुका कारण अन्याय र विवाद नभएर त्यसको सहि समाधान खोज्न पर्यत्नशिल रहने उनिहरुले बताएका थिए । देवानी प्रकृतिका मुद्धाहरु आफ्नै वडामा मेलमिलाप गराउने प्रतिबद्धता समेत जनाएका थिए । ढोरपाटन नगरपालिकाले निकै महत्वपूर्ण तालिमको आयोजना गरेको भन्दै आगामी दिनमा पनि प्रत्यक्ष जनतासंग सरोकार राख्नेका खालका कार्यक्रमहरुको आयोजना गर्नुपर्ने बताएका थिए ।

सहभागीका तर्फबाट उद्योग वाणिज्य संघ इकाई समिति बुर्तिबाङका अध्यक्ष चिन्तामणी शर्मा, सामुदायिक प्रहरी सेवा केन्द्र बुर्तिबाङकी अध्यक्ष दुर्गादेवी घर्ती मगर, बुर्तिबाङ महिला समन्वय समितिका दिलमायाँ पौवी, सीता कँडेल लगायतले आफ्नो धारणा राखेका थिए ।
सो अवसरमा ढोरपाटन नगरपालिकाकी उप–प्रमुख तथा न्यायीक समितिकी संयोजक कर्मती पुनव्दारा तालिममा सहभागीहरुलाई मेलमिलापकर्ताको सपथ खुवाइएको थियो भने उनिहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

तालिमका मुख्य प्रशिक्षक तथा जनअधिकार संरक्षण मञ्च गण्डकी प्रदेश संयोजक शर्मा र मुक्ति प्रसाद ढुंगानालाई नगर प्रमुख नेपालीले सम्मान गरेका थिए ।

८ दिन सम्म जारी रहेको उक्त तालिममा ९ ओटै वडाका वडा अध्यक्षहरु, वडा सदस्य, कार्यपालिका सदस्य, स्थानिय समाजसेवी, बुद्धिजिवीहरु गरी करिव ५५ जनाको सहभागीता रहेको थियो । तालिममा मेलमिलापको महत्व, मेलमिलापले सामाजिक द्धन्द व्यवस्थापनमा पुर्याउने सहयोग, तालिममा द्वन्द्व र विवादको विकास र अवधारणा, विवाद समाधानका संयन्त्रहरु, मेलमिलापको अन्तराष्ट्रिय अभ्यास, मेलमिलाप सम्बन्धी कानूनी व्यवस्था, मेलमिलाप ऐन तथा नियमावली, सामुदायिक मेलमिलाप कार्यान्वयन निर्देशिका, मेलमिलापका चरणहरु, प्रशंसनीय दष्टिकोण प्रयोग गर्ने शीप, सामाजिक न्याय, लैंगिकता, मानवअधिकार र न्यायोचित समाधान, मेलमिलाप पश्चातको प्रक्रिया, समन्वय र अनुगमन लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । सहभागीलाई सिप र कुशलताको प्रयोग गरी गरिने मेलमिलापको नमूना भूमिका अभिनय सहित अभ्यास समेत गराइएको थियो ।

ढोरपाटन नगरपालिकाकी उप–प्रमुख पुनको अध्यक्षता रहेको उक्त समापन कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मण पुनको स्वागत मन्तब्य रहेको थियो भने सञ्चालन प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.