जैमिनी नगरपालिको आयोजनामा कुस्मीसेरामा तीन दिने मिस्त्री तालीम सन्चालन !

सन्ध्या आचार्य, कुस्मीसेरा बागलुङ २०७५ चैत ४ । जैमिनी नगरपालिकाको कुस्मीसेरामा ३ दिने मिस्त्री तालिम सुरु भएको छ । दिगो विकास कार्यक्रम अन्तरगत जैमिनी नगरपालिकाको आयोजनामा प्रत्येक वडाका कम्तिमा २÷२ जनाको लागी ३ दिने मिस्त्री तालिम आइतबार देखी प्रारम्भ भएको हो ।

तालिममा नापजाँच र नक्सा हेर्ने तरीका, पर्खाल लगाउने, जाली तथा ग्याविन भर्ने, सोलिङ गर्ने, जग खन्ने लगाएतका कुराहरु सिकाइने तालिमका सहजकर्ता तथा नगरपालिकाका प्राविधिक प्रकाश पौडेलले जानकारी दिए ।

पहिलो चरणमा काम गरिरहेकाहरुलाई पनि थप अनुभव र नक्सा सम्बन्धी जानकारी, फिल्डमा नक्सानुसार काम गर्न सक्ने बनाउन सैद्धान्तिक ज्ञान दिने र अर्को चरणमा फिल्डमै गएर व्यवहारिक ज्ञान दिइने छ भने फेरी अर्को चरणमा सिकेका सिपको समीक्षा र थप ज्ञान दिइनेछ ।

तालिम शुभारम्भ कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलले बिदेश पलायन रोक्न नगरपालिकाले दिगो विकास अन्तरगत मिस्त्री तालिमको आयोजना गरेको बताउँदै यस्ताखाले सिपले आफ्नै ठाउँमा रोजगार सिर्जना हुने बताए तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्न आग्रह गर्दै उनले नगरपालिकाले अब यस्ता सिपमुलक कामको पाठ्याक्रम नै निर्धारण गरि शिक्षा दिनुपर्ने आवस्यकता भएकोपनि औँल्याए ।

कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले अब नगरले विकास चाहेकाले विकासको लागी दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ नगर उन्मुख भएको उल्लेख गरे । यस्ताखाले सिप सिकेर देशमै रोजगार गरे देश नै धनी हुने उल्लेख गर्दै शर्माले नगरबाट तालिम लिएर समृद्ध नगर निर्माण गर्न सबैलाई अग्रसर हुन आग्रह गरे ।
तालिम भोलि मंगलबार सम्म चल्नेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.