स्थानिय तह नजिकको सरकार : न्यायिक समाधानका लागी मेलमिलापकर्ताको भुमिका मुख्य – न्यायाधीश पण्डित

सुमन सुनार, बुर्तिबाङ २०७५ चैत १ । जिल्ला अदालत बागलुङका न्यायाधीश प्रकाशप्रसाद पण्डितले जनताले आफ्नै गाउँ ठाउँमा न्यायिक समाधान प्राप्त गर्नका लागि मेलमिलापकर्ताको मुख्य भुमिका रहने बताएका छन् । ढोरपाटन नगरपालिकाको आयोजनामा बुर्तिबाङमा जारी मेलमिलाप सम्बन्धी आधारभुत तालिमको अनुगमनमा आएका न्यायाधीश पण्डितले नगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि न्यायाधीश पण्डितले मेलमिलापकर्ताको सक्रियताले न्यायिक काम कार्वाहीमा धेरै ठुलो अर्थ राख्ने भन्दै मेलमिलापकर्ता असफल हुँदा, नागरिक तथा जनताले दुःख पाउनुका साथै समाजमा शान्तिपूर्ण स्थिति नरहने बताए । आफ्ना गाउँ टोलका सामान्य मुद्दाहरु गाउँमै बसेर मिलाउन सक्ने गरी संविधान सभाले स्थानिय सरकारलाई अधिकार हस्तान्तरण गरेकाले सामान्य विवाद समाधानका लागि जिल्ला अदालत धाउनु पर्ने जनताको बाध्यता स्थानिय तहबाटै समाधान हुनुपर्ने न्यायाधीश पण्डितले बताए ।

स्थानिय तह जनताको सबै भन्दा नजिकको सरकार भएकाले स्थानिय तहमा गठन गरिने न्यायिक समितिले पालिका स्तरमा हुने विवादको सक्दो समाधान खोज्न सक्नुपर्ने न्यायाधीश पण्डितको भनाई थियो । मेलमिलापकर्ताको सफलतासंग स्थानिय तहमा गठन गरिने न्यायिक समितिको सफलता समेत जोडिएको भन्दै मेलमिलापकर्ता असफल हुँदा न्यायिक समिति नै असफल बन्ने उनले बताए । नगरपालिकाले आयोजना गरेको मेलमिलाप सम्बन्धी तालिमबाट धेरै सिकेर कसरी सफल मेलमिलापकर्ता बन्न सक्छु भन्ने तर्फ जनप्रतिनिधि तथा अन्य मेलमिलाप कर्ताहरुले ध्यान दिन उनको आग्रह थियो ।

यस्तै न्यायाधीश पण्डितले विवाद भएन भने उन्नती, प्रगती र समृद्धिको सम्भावना नहुने बताए । विवाद विकासको सम्बाहक समेत भएकाले सकारात्मक विवाद भएपछि राम्रा सुधार, परिकल्पना र योजनाहरु भन्ने र त्यसका सहि कार्यन्वयनले समृद्धि र विकास हासिल गर्न सकिने पण्डितको भनाई थियो ।

ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीको अध्यक्षता रहेको सम्मान कार्यक्रममा न्यायिक समितिकी संयोजक तथा नगरपालिकाकी उपप्रमुख करमती पुनको स्वागत मन्तब्य रहेको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार योगेन्द्र विश्वकर्माले गरेका थिए । तालिमको अनुगमनका क्रममा आएका न्यायाधीश सहितको टोलीले कानुनमा भएका व्यवस्था, अदालती कुराहरु, न्यायिक काम कार्वाही र मेलमिलापका विषयमा सहभागीलाई प्रशिक्षण दिएका थिए भने सहभागीले आफ्ना जिज्ञाशा राखेका थिए ।

ढोरपाटन नगरपालिका अन्तर्गत रहेको न्यायिक समिति, जनप्रतिनिधिहरु तथा अन्य सामुदायिक मेलमिलापकर्ताको क्षमता अभिबृद्धि गरी वडा स्तरमा हुने विभिन्न विवादलाई मेलमिलापका माध्ययमबाट वडामै मिलाउने उद्देश्यले ढोरपाटन नगरपालिकाद्धारा आयोजित मेलमिलाप सम्बन्धी ८ दिने आधारभुत तालिम गत फागुन २७ गते देखि जारी रहेको छ ।

उक्त तालिमको जनअधिकार संरक्षण मञ्च गण्डकी प्रदेश संयोजक ममता देवी शर्माले सहजकर्ता मुक्ति प्रसाद ढुंगानाले सहजीकरण गरिरहेका छन् । तालिम आगामी चैत्र ४ गते सम्म जारी रहने उक्त तालिममा जनप्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानिय समाजसेवी, बुद्धिजिवी तथा मेलमिलापकर्ताहरुको व्यापक सहभागीता रहेको छ ।

तालिमको अनुगमनका क्रममा बुर्तिबाङ आएका न्यायाधीश पण्डित सहित जिल्ला अदालत बागलुङका श्रेस्तेदार विश्व प्रकाश रेग्मी र नायव सुब्बा गंगा गौतमलाई ढोरपाटन नगरपालिकाले फुल मालाले सम्मान गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *