पर्यटन विकासका लागि बागलुङको गुरुयोजना बन्ने : कल्चर र नेचरको उचित प्रयोगबाट प्रदेशको समृद्धी – लम्साल

माधब पराजुली, बागलुङ २०७५ फागुन २६ । पर्यटन विकास समिति बागलुङले पर्यटन विकासका लागि जिल्लाको गुरुयोजना तयार पार्ने भएको छ । जिल्ला समन्वय समितिको अगुवाइ र बागलुङका दश वटै स्थानियतहको सहयोगमा पहिलो पटक नयाँ गुरुयोजना तयार हुन लागेको हो ।

बागलुङ जिल्लाको पर्यटन गुरुयोजना अहिले सम्म बन्न सकिरहेको छैन । गुरुयोजना तयार पार्नको लागि आईतवार मन्त्री, सांसद, स्थानियतहका जनप्रतिनिधि बिभिन्न संघ संस्थाका प्रतिनिधि बिच पर्यटन विकास गुरुयोजनाका बिषयमा बृहत छलफल तथा अन्तरक्रिया भयो । गुरुयोजना तयार पार्न पर्यटन क्षेत्रका विज्ञसमेत सहभागी थिए । गुरुयोजना तयार पारिसके पछी गुरुयोजना अनुसार बागलुङको पर्यटन क्षेत्रको विकास कार्य अगाडि बढईने बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खडकाले जानकारी दिए ।

पर्यटन विकास समिति बागलुङले जिल्लाको समृद्धिका लागि पर्यटन विकास तथा गुरुयोजना विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन गुरुयोजना बनाएर अघि बढ्नुको विकल्प नभएको बताएका थिए ।

अन्तरक्रियामा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन बन तथा वाताबरण मन्त्री विकास लम्सालले पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन गुरुयोजना बनाएर अगाडि बढनुपर्नेमा जोड दिँदै ऐतिहासिक, पुरातात्विक, सामाजिक र धार्मिक, चाडबाड, आर्थिक, शैक्षिक हिसाबले समेत बागलुङ पर्यटकीय गन्तव्य बन्न सक्ने भएकाले यसको व्यापक प्रचारप्रसार हुनुपर्ने बताए ।

बागलुङ जिल्ला प्राकृतिक सम्पदा, प्राचुर्यताका हिसाबले निकै धनी रहेको बताउदै मन्त्री लम्सालले कल्चर र नेचरको उचित प्रयोगबाट प्रदेशको समृद्धी र पर्यटन पर्बद्धनमा ठुलो टेवा पुग्ने बताए । प्रकृतिले दिएका हिमाल, ताल तथा झरनाले पर्यटनको सम्भावना बोके जस्तै विविध जातजातिका नाँचगान र संस्कृतिले पर्यटन बिकासमा महत्वपुर्ण भुमिका खेल्ने मन्त्री लम्सालको भनाई थियो ।

‘पर्यटकहरु रमाउने कालीगण्डकी करिडोर हुदै मुक्तिनाथ जाने क्षेत्रलाई बिशेष महत्व दिएर योजना बनाउनुपर्छ,’ लम्सालले भने, ‘यस्तै अरु जलयात्रा, पञ्चकोट, गाजाको दह, घुम्टे, बागलुङ कालिका, तमान, निसीखोला, ढोरपाटन, नरसिंहकोट, भैरवथान, उपल्लाचौर, माझकोट जस्ता क्षेत्रहरुलाई बिशेष महत्व दिएर पर्यटन गुरुयोजनाको प्रस्ताब ल्याउनुुस् हामी सहयोगको लागि तत्पर छौं ।’

गण्डकी प्रदेश सरकारले ११० पर्यटकीय स्थानलाई सुचिकृत गरी विकास गर्न लागिपरेको जनाउदै गण्डकी प्रदेश आन्तरिक भ्रमण बर्ष, पूर्वाधार बर्ष, छिमेकी भ्रमण बर्ष र गण्डकी प्रदेश भ्रमण बर्षलाई सफल बनाउन सबैलाई आफ्नो तह र तप्का बाट सहयोग गर्न आग्रह गरे ।

पर्यटनको अभिन्न अंग ग्रामिण भेगलाई पनि मान्न सकिने र होमस्टेको विकास गरी गाँउ गाँउमा पर्यटक पु¥याउने प्रदेश सरकारको योजना रहेको छ‘ कसरी सबैलाई गाउँ फर्काउने र गाँउमै रमाउने गराउने तथा रोजगारी सिर्जना गर्ने हेतुलेनै होमस्टे प्रवद्र्धन कार्यक्रम अगाडी बढाएका हौँ मन्त्री लम्सालले भने, ‘पर्यटन प्रबद्र्धनको लागि तपाई पनि छलफल चलाउनुस् ।’

गण्डकी प्रदेश गाउँको पर्यटन प्रबद्र्धनका लागि योजना बनाएको उल्लेख गर्दै ‘गाउँको पर्यटन व्यवस्थित गर्न ३ सय होमस्टे सञ्चालन गर्दै छौं,’ उनले भने, ‘तपाईहरुको गाउँमा पनि यसको सम्भाव्यता छ, गण्डकी प्रदेश सहयोगको लागि सदैव तत्पर छ ।’
मन्त्री लम्सालले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार राम्रो तवरले गर्न आवश्यक रहेको बताउदै सम्बन्धित विषयमा समन्वय गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।

संघिय सांसद देवेन्द्र पौडेलले पर्यटन प्रवद्र्धन तथा विकास नभएसम्म देशको अर्थतन्त्र समृद्ध हुन नसक्ने प्रतिक्रिया दिदै गुरुयोजना बनाउदा अबको ३० बर्ष सम्मको लागि काम गर्ने खालको बनाउन सुझाए । धेरै पर्यटक भित्रउन पूर्वाधार विकास आवश्यक भएकाले सबैले त्यसतर्फ ध्यान दिनु जरुरी रहेको उनको भनाई थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.