प्रशंगवस : एक अवोध बालिकाको प्रश्न, “मम्मी नारी दिवसमा नाँच्नै पर्छ ?”

बागलुङ २०७५ फागुन २५ । हिँजो अर्थात २०७५ फागुन २४ गते तदनुसार सन २०१९ को मार्च ८ तारीखका दिन विश्वभर १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाईएको छ । अन्तर्राष्ट्रिय नारी दिवस कुनै खुसियालीको उत्सव भन्दापनि उत्पीडित महिलाहरुको लैंगिक विभेद विरुद्धको सशक्त आवाजको रुपमा लिईन्छ । महिलामा जागरण ल्याउने र उनिहरुमा पछिपरेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्पराको थालनी पनि हो । नेपालमा यो दिवस विस २०४६ सालदेखि मनाउन थालिएको हो । प्रत्यक वर्ष कुनै एक नारा लिएर मनाईने अन्तर्राष्ट्रिय नारी दिवसको यसवर्षको नारा थिया, “लैंगिक समानताको लागि समाज सोच र व्यवहार समृद्धिको आधार ।” नेपालमा अन्तर्राष्टिय नारी दिवस कतै महिला दिवस त कतै श्रमिक महिला दिवसको रुपमा मनाईदै आएको छ ।

बागलुङ जिल्लाका ४ नगर र १० गाउपालिहरुका विभिन्न वडाहरुमा समेत १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाईएका समाचारहरु प्राप्त भैरहेका छन् । गाउँघर डाँडा पाखा कन्दराहरुमा बसोबास गर्ने हाम्रा दिदी बहिनीहरु बिगत वर्षहरुको तुलनामा पछिल्लो वर्ष नारी दिवस मनाउन निकै उत्साही देखिएका छन् । नारी जागरणलाई लिएर मनाईने नारी दिवसमा नारीहरुको चासो बढ्नु र व्यापक सहभागिता जनाउनु आफैमा सकारात्म मान्नु पर्छ ।

ढोरपाटन नगरपालिकाले यसपालिको अन्तर्राष्ट्रिय नारी दिवसलाई नगरपालिकाको केन्द्र बुर्तिवाङ बजारमा मात्र केन्द्रित नगरी नगरपालिकाका अन्य वडाहरुमा पनि नारी दिवस मनाउने निर्णय गनुका साथै दिवसलाई आवश्यक पर्ने आर्थिक रकम समेत उपलव्ध गराउने निर्णय गरेर निकै राम्रो सदासयता प्रकट ग-यो । फलस्वरूप ती वडाहरुमा समेत स्थानीयरुपमा महिलाहरु भेला भएर नारी दिवस भव्यताका साथ मनाएका छन् । ग्रामिण एवं दूर दराजमा बसोबास गर्ने नारीहरुमा पनि नारी दिवसको महत्वबोध होस भन्नाका खातिर कार्यक्रम गर्न आर्थिक सहयोग गर्नु ढोरपाटन नगरपालिकाको महानता हो । त्यसो त, शिक्षा, खेलकूद, विकास निर्माण आदि कार्यका लागी मन फुकाएर सहयोग गर्ने नगरपालिकामा ढोरपाटन कै नाम अग्रपंक्तिमा रहेको छ । ढोरपाटन नगरपालिका भित्र मात्र नभएर नगरपालिका आसपास रहेका तमानखोला, निसीखोला, बडीगाड ,ताराखोला गाउँपालिका तथा गल्कोट नगरपालिका समेतका संघसंस्था एवं शैक्षिक संस्थाहरुलाई समेत ढोरपाटन नगरपालिकाले आर्थिक सहयोग दिँदै आएको छ । यसको श्रेय नगरप्रमुख देवकुमार नेपालीलाई जान्छ नै र गएको पनि छ ।

ढोरपाटन नगरपालिकाको वडाहरु १, २ र ३ ले बुर्तिवाङ बजारमा संयुक्तरुपमा मनाएको अन्तर्राष्ट्रिय नारी दिवस हिँजो सम्पन्न भएपनि चर्चा भने अहिलेपनि छ । नारी दिवसको कार्यक्रम हेर्न आमासंग साथ लागेर गएकी एक बालिकाले, “मम्मी, नारी दिवसमा नाँच्नै पर्छ ?” भनिरहँदा आमाको अनुहार त लालै भयाे अबोध बालिकको कुरा सुन्नेहरु क्या सान्दर्भिक प्रश्न भन्दै टिप्पणी गरेको सुनियो । एक चर्चित लोकगायक मन्चमा उफ्रदै नारी दिवससंग असम्वन्धित झ्याँउरे लोकगीत गाउने र फ्लोरमा नारीबर्ग कम्मर मर्काई मर्काई नाँचेको दृश्यले नारी दिवसको खिल्ली उडाएको दर्शकहरुको बुझाईसंग ती अवोध बालिकाले आमालाई सोधेको प्रश्न बीच तादात्म्यता खोजिरहनु पर्ला र ? निश्चयपनि नारी दिवसको महत्व गहन छ, तीज र रत्यौलीमा नाँचे गाए जस्तो होईन । मनोरन्जनको रुपमा प्रयुक्त हुनु नारी दिवसको मान्यता हुनै सक्तैन । नारी शक्तिको पहिचान गरौँ, नारीप्रति गरिने लैंगिक हिंशा, विभेद, दमन, अन्याय अत्याचार बिरुद्ध संघर्ष गर्ने भावना जागृत गराऔँ नारी दिवसको सार्थकता त्यसैमा अन्तर्निहित छ ।

बुर्तिवाङ बजारमा सम्पन्न नारी दिवसको दृश्यहरु सामाजिक सन्जालहरुमा छ्याप्छ्याप्ती (भाईरल) भएको छ । फेसबुकमा भाईरल बनेका तिनै तस्वीर र चलदृश्य यहाँ प्रस्तुत गरिएको छ । मनन गरौँ, यहि हो त नारी दिवस ? यहि हो त नारी दिवसकाे मर्म ?



फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *