बुर्तिबाङमा अन्तर्राष्ट्रिय नारी दिवस : महिलाले आफुमाथि भएका हिंसा विरुद्ध आवाज उठाउनु पर्छ- नेपाली

योगेन्द्र विश्वकर्मा, बुर्तिबाङ २०७५ फागुन २५ । १०९ औँ अन्तराष्ट्रिय नारी दिवस शुक्रवार बुर्तिबाङमा सांगीतिक कार्यक्रमहरुका वीच भव्यरुपमा मनाइएको छ । ढोरपाटन नगरपालिकाको आर्थिक सहयोग र बुर्तिबाङ महिला समन्वय समितिको आयोजनामा नृत्य प्रतियोगिता सहित श्रमिक महिला दिदीवहिनी सम्मान कार्यक्रम गरेर यो दिवस मनाइएको हो ।

यस वर्षको नारी दिवस ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङ बजारमा मात्र केन्द्रित नरही नगरपालिकाका अन्य वडाहरुमा पनि छुट्टै नारी दिवस मनाउन नगरपालिकाले निर्णय गर्दै आवश्यक आथिर्टक सहयोग गर्ने निर्णय गरेको थियो ।

बुर्तिवाङ बजारमा आयोजित कार्यक्रमको ढोरपाटन नगरपालिका प्रमूख देवकुमार नेपालीले उद्घाटन गर्दै महिलाहरु सदयौँदेखी हिंसामा रहेको बताउदै अब महिलाले आफुमाथि भएका हिंसा विरुद्ध आवाज उठाउनुपर्ने बताएका थिए । उनले आफ्नो हक अधिकार प्राप्तिका लागि आफु जुनसुकै राजनीतिक पार्टीको भएपनि महिला अधिकारका लागि राजनीतिक स्वार्थ त्यागेर एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । महिलाको क्षमता विकास लागि कुनै कार्यक्रम गनुपर्ने भएमा योजना बनाएर नगरपालिकामा आउन आग्रह गर्दै नगरप्रमुख नेपालीले त्यस्ता कामका लागि आर्थिक नैतिक जुनसुकै रुपमा सहयोग गर्न नगरपालिका र आफु व्याक्तिगत रुपमा पनि तयार रहेको बताए । कुनै पनि महिलाहरु हरेक क्रियाकलापमा सक्षम हुनका लागि उचित शिक्षा दिइनुपर्ने पनि नगर प्रमूख नेपालीको भनाई थियो ।

यस्तै कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यपालिका सदस्य वेल कुमारी छन्त्याल, सामूदायिक प्रहरी सेवा केन्द्र बुर्तिबाङका अध्यक्ष दुर्गादेवी घर्ती, खगिसरा पाण्डे, केश कुमारी बुढा लगाएतले मन्तव्य राखेका थिए ।

नारी दिवसका अवसरमा आयोजित नृत्य प्रतियोगितामा रिभरहेड इन्टरनेश्नल एकेडेमी प्रथम र भव्रेटा महिला समूह दोस्रो भएको छ । यस्तै सोही अवसरमा बुर्तिबाङमा रहेर मजदुरी गर्ने १० जना महिलाहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम बुर्तिबाङ महिला समन्वय समिति अध्यक्ष कमला अर्यालको अध्यक्षता माया आर्चायको स्वागत मन्तव्य र झरना कडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.