शिक्षामा रहेका चुनौतिभित्र अवसर खोजिरहेका छौं : नगरप्रमुख गैरे

गल्कोट २०७५ फागुन २३ । गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गल्कोट नगरपालिकामा शैक्षिक क्षेत्रमा धेरै चुनौतिहरु रहेको र चुनौति सॅगै नगरले अवसरको पनि खोजी गरिरहेको बताएका छन । प्रगति आधारभुत विद्यालय मल्मको २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

गल्कोट नगरभित्र शिक्षा क्षेत्रको विकास र स्तरोन्नतिको निमित्त विद्यार्थी अनुसारको शिक्षक दरबन्दी मिलान कार्य छिट्टै गरिने नगर प्रमुख गैरेको भनाई छ । गैरेले केन्द्रिय सरकार र प्रदेश सरकारका कतिपय संवैधानिक अडचनका कारण सबै कार्य सम्पादनमा कठिनाई भएको समेत उल्लेख गरे ।

सो अवसरमा गल्कोट नगरपालिकाका सामाजिक विकास समिति संयोजक हिम बहादुर भण्डारी हेमन्त, वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, शिक्षक अभिभावक संघका संयोजक लोक बहादुर थापा, एकता युवा मञ्चका अध्यक्ष थम्मन थापा सन्देश र विद्यार्थी निशान विसीले शुभकामना मन्तव्य राखेका थिए ।

वार्षिकोत्सवको अवसरमा विद्यालयमा एकता युवा मञ्चले वि. सं २०७३ मा स्थापना नगद रु १ लाखको अक्षयकोषबाट मञ्चका पदाधिकारीहरुद्वारा ४ जना विपन्न, जेहेन्दार र दलित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । त्यस्तै विद्यालयका प्रधानध्यापक नगेन्द्र बहादुर मल्लले विद्यालयको वार्षिक आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले गीत नृत्य तथा प्रतिभा प्रस्तुत गरेका थिए । वार्षिकोत्सवमा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिनुका साथै अक्षय कोष कर्तालाई सम्मान समेत गरिएको थियो । वार्षिकोत्सव प्रगति आधारभुत विद्यालय मल्मका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता, सहायक प्रधानध्यापक कृष्ण प्रसाद गौतमको स्वागत र शिक्षक अनिशा थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.