उद्यमी महिलाहरुका लागि सञ्चालित सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न

पर्वत, २०७५ फागुन २२ । समुहमा वचत संकलन, आयआर्जन तथा क्षमता विकासका विभिन्न कार्यक्रम गर्दै आएका उद्यमशिल युवा महिलाहरुका लागि पर्वतको ठुलीपोखरीमा सञ्चालित ३ दिने लेखा व्यवस्थापन तालिम बुधवार सम्पन्न भएको छ ।

इन्प्रेड नेपाल पर्वतले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरेको युवा महिला शसक्तिकरण परियोजना अन्तरगत सञ्चालित तालिममा कुश्मा नगरपालिका वडा नं. १२, १३ र १४ का २० जना उद्यमी किशोरीहरुको सहभागिता रहेको थियो ।

समुहमा काम गरेर सहकारी स्थापना गरेका उद्यमी महिलाहरुलाई आफै आफ्नो हिसाव व्यवस्थित गर्न सहयोग गर्ने उदेश्यका साथ तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् । युवा महिलाहरुले समुहमार्फत कुखुरापालन, तरकारी खेती, बाख्रापालन गरेर आयआर्जन गर्न थालेपछि सहकारी गठन गरेर आर्थिक व्यवस्थापन गरेका छन् ।

खौला लाँकुरी महिला वचत तथा ऋण सहकारी संस्था र लालिगुरास कृषि सहकारी संस्था गठन गरेर वचत संकलन लगायत आयआर्जनका काम गरेका युवा महिलाहरुले लेखा तालिमले आफुहरुलाई हिसाव व्यवस्थित रुपमा राख्न सहयोग पुग्ने बताएका छन् ।

तालिमका प्र्रशिक्षक राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी संस्थाको आयव्ययलाई शुरुदेखि नै व्यवस्थित रुपमा राख्नका लागि लेखा तालिम आवश्यक हुने बताए । उनले सञ्चालक र कर्मचारी सबैले लेखाका बारेमा जानकारी राख्न सके संस्थालाई पारदर्शी बनाउन सहयोग पुग्ने बताए ।

सहकारीमा आवद्ध युवा महिलाहरुलाई वित्तीय व्यवस्थापनका बारेमा जानकारी गराउनका लागि आयोजित तालिममा लेखाको परिचय, सहकारीमा लेखाको महत्व, लेखाका विशेषता, आवश्यकता सहित सहकारीमा लेखा राख्ने तरिका लगायतका विषयमा सहजीकरण गरिएको इन्प्रेड नेपाल पर्वतका सामाजिक परिचालक भोजराज भुषालले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.