आजको तस्वीर:आँखाको दृष्टि फर्किए पछी, बुढीलाई हेर्न मन छ !

शव्द/चित्र : ऋतुवर्ण पौडेल

बुर्तिवाङ बागलुङ २०७५ फागुन १६ । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा फागुन १० देखी १४ गते, चारदिन सम्म सन्चालित निःशुल्क आँखा उपचार तथा मोतिविन्दुको अपरेशन शिविरबाट ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडीगाड गाउपालिका लगायत छिमेकी गुल्मी जिल्लाका नागरिकहरु गरी १ हजार ३ सय ५६ जना आँखाका रोगीहरु लाभान्वित भए ।

ढोरपाटन नगरपालिकाको आर्थिक सहयोग तथा स्थानिय व्यवस्थापन, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा हिमालय आँखा अस्पतालकी नेत्ररोग विशेषज्ञ डा हरिमायाँ गुरुङ सहितको चिकित्सक टोलीले दर्जनौ मोतिविन्दुका रोगीहरुको सफल अपरेशन गरेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा कृष्णहरि श्रेष्ठले ईबागलुङलाई जानकारी दिए ।

दुबै आँखाको सफल शल्यक्रिया पछी, दलबहादुर क्षेत्री,छबे नेपाली र रेशम कुमारी सेन ।

मोतीबिन्दुका कारण केहि वर्ष देखी दुबै आँखा नदेख्ने भै अन्धो जीवन बिताई रहेका आधा दर्जन बृद्ध बृद्धाहरुको डा. गुरुङले शल्यक्रिया गरेपछी ती सबको आँखाको ज्योति फर्कियो, उनिहरुले प्रशन्नतापूवक विशेषज्ञ डा. गुरुङ सहितको टोलीलाई हृदय देखी नै धन्यवाद दिए ।

तीन वर्ष देखी आँखा नदेख्ने भएर अन्धकारमय जीवन बिताईरहेका बडीगाड गाउपालिका- ४ जलजलाका ८३ वर्षिय टेकबहादुर परियारलाई यस हरफकारले ‘तपाईको दुबै आँखाको मोतीबिन्दुको अपरेशन भयो, तपाईको आँखाको पट्टी खोलेपछी सबभन्दा पहिले कसलाई हेर्न चाहनु हुन्छ ?’भनेर सोद्धा परियारले, ‘तीन वर्ष भयो बुढी (श्रीमती)लाई देख्न नपाएको अहिले कस्ती भै छ, सबभन्दा पहिले घरमा गएर बुढीलाई हेर्न मन छ’ भन्ने उनको जवाफले शिविरमा केहि समय ठट्यौली चल्यो ।

परियार सहित ढोरपाटन नगरपालिका अधिकारीचौर कुजुङका ८२ वर्षिय दल बहादुर क्षेत्री, ऐ अधिकारीचौर सईखोलाका ७७ वर्षिय छबे दमाई, निसीखोला गाउपालिका बोहोरागाउँकी ५५ वर्षिया रेशम कुमारी सेन र ढोरपाटन नगरपालिका बोवाङ निवासी वर्ष ७६ का कर्मे घर्तीको प्रतिकृया पनि यस्तै यस्तै रोचक थियो । जटिल किसिमका यी ६ जनाको बाहेक शिविरमा ८० जनाको मोतीविन्दुको सफल शल्य गरिएको थियो ।
माथीको तस्वीर बडीगाड जलजलाका ८३ वर्षिय टेकबहादुर परियार ।


लेखक पौडेल बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब (अधिकृत) हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.