बुर्तिवाङमा २० हजार जनालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान भोलि देखि

सुमन सुनार, बुर्तिबाङ २०७५ फागुन १४ । हात्तीपाइले रोगको उच्च जोखिममा रहेका जिल्लाहरुमा यहि फाल्गुन १५ गते अर्थात भोलि देखि हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सञ्चालन हुँदैछ । यसैविच बागलुङ जिल्लामा पनि भोली देखि हात्तीपाइले रोग निवारणका लागि यो रोग विरुद्धको औषधी खुवाइँदैछ । नवौं चरणमा रहेको हात्तीपाइले रोग निवारण कार्यक्रम र हात्तीपाइले रोगको विषयमा आज ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा एक अभिमुखिकरण कार्यक्रमको आयोजना गरी सरोकारवालाहरुलाई जानकारी दिइएको छ ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आयोजनामा भएको सो अभिमुखिकरण कार्यक्रममा जनप्रतिनिधिहरु, स्थानिय समाजसेवी एवं बुद्धिजिवीहरुको सहभागिता रहेको थियो । कार्यक्रमका अवसरमा विश्वमा हात्तीपाइले रोगको वस्तुस्थिति, हात्तेपाइले रोग भनेको के हो ?, हात्तीपाइले रोग कस्ता व्यक्तिलाई लाग्छ ? यो रोग लागि सकेपछि देखिने लक्षणहरु, औषधी सेवन गर्ने तरिका र हात्तीपाइले रोग निवारण कार्यक्रमका विषयमा स्वास्थ्यकर्मीहरुले जानकारी दिएका थिए ।

लगातार रुपमा ६ वर्ष सम्म हात्तीपाइलेको औषधि सेवन गरी सकेपछि २ प्रतिशत भन्दा तल झर्नु पर्नेमा राम्रोसंग औषधी सेवन नगर्दा कमी आउन नसककाले बागलुङ जिल्लामा नवौँ पटक सम्म खुवाउनुपर्ने भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. कृष्णहरी श्रेष्ठले बताए । सबैलाई हात्तीपाइले रोग निवारण कार्यक्रममा सहभागी भई पुर्णरुपमा आत्तीपाइले रोग निवारणमा साथ दिन उहाँले आग्रह समेत गरे । विगतमा प्रेसर र सुगरका रोगीहरुले हात्तीपाइले विरुद्वको औषधी खान नमिल्ने भनिएपनि प्रेसर र सुगर नियन्त्रण भए पछि खादा कुनै असर नगर्ने श्रेष्ठले जानकारी दिए । हात्तीपाइले रोग एक सरुवा रोग भएको र विशेषगरी लामखुट्टेको टोकाईबाट सर्ने भएकाले जुनसुकै उमेर समुहका मानिसमा यो रोग लाग्न सक्ने भन्दै लक्षण भने जवान (वयस्क) भएपछि मात्र देखिने डाक्टर श्रेष्ठले बताए ।

हात्तीपाइले रोग लागेपछि तत्काल र दीर्घकालीन गरी दुइ रुपमा लक्षण देखिने डा. श्रेष्ठको भनाई छ । श्रेष्ठका अनुसार जाडो सहितको ज्वरो आउनु र सरिरमा कम्पन हुनु, लिम्फ नलीहरु सुन्निनुका साथै रातो भइ दुख्ने, हातगोडाका नलीमा काला धर्साहरु देखिने, गिर्खा बढ्ने, दुख्ने र पुरुषको अण्डकोष वरपरका नसाहरु फुल्ने र दुख्ने जस्ता तत्काल देखिने लक्षणहरु हुन् । यस्तै पुरुषहरुमा अण्डकोष ठूलो हुने, दुख्ने, गिर्खाहरु भेटिने, अण्डकोष वरिपरि पानी भरिने, महिलाहरुमा यौनाङ्ग तथा स्तन सुन्निने र दुख्ने जस्ता दीर्घकालीन रुपमा देखिने लक्षणहरु भएको उनले जानकारी दिए । त्यसैगरी खुट्टा सुनिएर हात्तीपाइले हुँने, पिसाव सेतो वा रातो आउने, लामो समय सम्म सुख्खा खोकी लागिरहने, दम बढ्ने जस्ता लक्षणहरु पनि दीर्घकालीन रुपमा देखिने लक्षण भएको डा. श्रेष्ठले बताए । हात्तीपाइले रोग विरुद्ध खुवाइने डि.इ.सी र अल्बेन्डाजोल नामक औषधी दुई वर्ष मुनिका बच्चा, गर्भवती महिला, सिकिस्त बिरामीहरु र छारे रोगका विरामीहरु बाहेक सवैले सेवन गर्न सक्ने डा. श्रेष्ठको भनाई छ ।

अभियानलाई प्रभावकारी बनाउन यस पटक स्वास्थ्यकर्र्मीको पत्यक्ष सहभागितामा औषधि खुवाइने भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव ऋतुवर्ण पौडेलले बताए । १५ गते देखि हरेक वडाका तोकिएका स्थानका साथै घरदैलो अभियान गरेर औषधि खुवाइने उनले जानकारी दिए । यस वर्ष ढोरपाटन नगरपालिकाकामा २० हजार भन्दा बढी नागरिकहरुलाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने लक्ष राखिएको छ ।

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलको अध्यक्षता रहेको उक्त अभिमुखीकरण कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष हेमेन्द्र घर्ति मगर, एकिकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख नन्दराम भुषाल, बागलुङ उद्योग बाणिज्य संघ इकाई समिति बुर्तिबाङका अध्यक्ष चिन्तामणी शर्मा लगायत स्वास्थ्यकर्मी, स्थानिय समाजसेवी, बुद्धिजिविहरुको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजिकरण मेडिकल अधिकृत श्रेष्ठले गरेका थिए । यसवर्ष बागलुङ जिल्ला भर २ लाख ५२ हजार लाई औषधि खुवाईने लक्ष राखिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.