महालेखाले बानपालाई बुझाएको ७४ पाने प्रतिवेदन भित्र के छ ?
बागलुङ नगरपालिकामा करोडौँ अनियमितता, कार्बाही गरी असुल गर्न महालेखाको निर्देशन !

बागलुङ २०७५ फागुन १४ । महालेखा परीक्षकको कार्यालय डोरमुकाम, बागलुङले गत २०७५ पुस २६ गते, आर्थिक वर्ष २०७४/०७५को विनियोजन/राजश्व/धरौटी/अन्य कारोवारको आर्थिक विवरण तथा सो संग सम्वन्धित पेस भएसम्मको लेखा र लेखासंग सम्वन्धित कागजपत्र परीक्षण गरी तयार गरिएको ७४ पानाको प्रारम्भिक प्रतिवेदन बागलुङ नगरपालिकालाई पठाउदै प्रतिवेदनमा उल्लेखित विषयका सम्वन्धमा आर्थिक कार्यविधी ऐन २०५५को दफा १९(१) बमोजिम ३५ दिन भित्र फछ्र्यौट गरी सम्परीक्षण गराउन निर्देशन दिएको थियो । तर डेढ महिना बिति सक्दापनि नगरपालिका कार्यालय बागलुङले महालेखाले दिएको निर्देशनकाे कार्यान्वयन गरेको छैन ।

बागलुङ नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले सम्वन्धित शाखा र समितिलाई पत्राचार गर्ने मात्र जिम्मेवारी निर्वाह गरेर एउटै कामलाई दुई पटक निर्माण गरेको नक्कली बिल भर्पाई पेश गरी रु १३ लाख भन्दा बढी रकम हिनामिना गर्ने नेत्रज्योति संघ बागलुङ र निर्माणाधीन दाबगरा बसपार्कमा स्काभेटर प्रयोगरी काम गरेको तर ज्यामी लगाएर काम गरेको (मेशिनबाट काम गरी म्यानुअल)मा भुक्तानी गरेर १० लाख भन्दा बढी रकम हिनामिना गर्ने दाबगरा वसपार्क निर्माण उपभोक्ता समितिलाई बेरुजु रकम फछ्र्यौटमा कुनै ताकेता नगरेर आर्थिक अपचलनकारीहरुलाई उन्मुक्ति दिएको अवस्था छ ।

महालेखाको प्रतिवेदनमा उल्लेख भए अनुसार, नेत्रज्योति संघ बागलुङको भवन निर्माण गरेको आब २०७३/०७४मा भुक्तानी भैसकेको निर्माण कार्य पुन: नापी गर्दै दोहोरा भुक्तानीका लागी पेसगर्ने ईन्जिनियर (करार) मोहन शर्मा, चेकजाँच गरी सिफारिस गर्ने प्रमुख जिल्ला ईन्जिनियर दयाराम अधिकारी लगायत योजना छनौट तथा नापजाँच लगायत भुक्तानी कार्यमा संलग्न कर्मचारी तथा पदाधिकारीहरुलाई छानविन गराई कानून बमोजिम आवश्यक कार्बाही गरी सम्वन्धित उपभोक्ता समितिसंग उक्त रकम रु १३,०७,६२०।१० असुल गर्न उल्लेख गरिएपनि समिति बाहेक नगरपालिकाका कर्मचारीहरुलाई भने प्रमुख प्रशासकीय अधिकृत कुँवरले कुनै कार्वाही गरेको जानकारी बाहिर आएको छैन ।

नगरपालिका श्रोतका अनुुसार, नेत्रज्योति संघको भवन र दाबगरा बसपार्कमा भएको अनियमित कामको भुक्तानी दिनेमा प्रमुख प्रशासकीय अधिकृत कुँवरको समेत संलग्नता रहेकाले कार्बाहीमा आलटाल भैरहेको हो ।

महालेखाले बलेवा बिमान सेवा सन्चालनको विषयलाई लिएर प्रतिवेदनमा स्पष्टरुपमा उल्लेख गर्दै कानून विपरीत संझौता गरी नगरपालिकालाई थप व्ययभार पारेको रु २० लाख सम्वन्धमा छानविन गरी असुल गर्न निर्देशन दिएको छ ।

यति मात्र नभएर नगरप्रमुखले प्रयोग गर्ने स्कार्पिया जीपको खरीद पनि अनियमित भएको महालेखाले जनाएको छ । महालेखाले नगरपालिकालाई दिएको ७४ पाने प्रतिवेदनमा यस्ता थुप्रै अनियमिताहरु उल्लेख छन, जहाँ करोडौँ अनियमितताको प्रशंग छ र जस्का बारेमा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रमुख ईन्जिनियर, ईन्जिनियरलगायतका कर्मचारीहरु चूप लागेर बस्न मिल्दैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *