पढाई चलिरहेकै बेला आएको हावाहुरीले विद्यालयको छानो उडाउदा बिद्यार्थी शिक्षक भागाभाग : एक छात्रा घाईते

टिकाराम भट्टराई, बुर्तिबाङ, २०७५ फागुन ९ । आज आएको भीषण हावाहुरीबाट ढोरपाटन नगरपालिकाका विभिन्न स्थानमा रहेका विद्यालयहरुको छाना उडाएको छ । आजै विहान आएको हावाहुरीले ढोरपाटन ९ को सुकुरदुङ स्थित सरस्वती आधारभूत बिद्यालयको टिनको छाना उडाउदा लाखौँको क्षेति पुगेको छ भने पठनपाठन प्रभावित बनेको छ भने अहिले केहि समय अघी एक्कासी आएको हावाहुरीले ढोरपाटन नगरपालिका वडा नम्बर ५ नाथुरी भैसीखर्क स्थित सरस्वती प्राथमिक विद्यालयको ३ कोठे भवनको जस्ता पाता उडाएको छ ।

कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयमा पढाई चलिरहेको समय बिहान करिब ११ बजे आएको हुरीले छानो उडाए पछि कोठा भित्र रहेका शिक्षक,छात्र छात्र्रा भागा भागको अवस्था आएको प्रत्यक्षदर्शीले ईबागलुङलाई बताए । कक्षाबाट बाहिर भाग्ने क्रममा कक्षा ४ मा अध्यनरत छात्रा सनु बि क को निधारमा चोट लागेकाले उपचारका लागि बुढाथोक स्वास्थ्य चौकीमा लगिएको प्रध्यानध्यापक हिरा कुमारी गौतमले बताईन । अन्य विद्यार्थीहरु भाग्न सफल भएपनि सनु बि क लाई बचाउने क्रममा माथीबाट खसेको ढुङ्गाले शिक्षिका सिजन घर्तिलाई समेत लागेको प्र.अ गौतमले बताईन ।

कक्षा ५ सम्म करिब ७५ जना विद्यार्थी अध्यनरत रहेका थिए । छानो भवनबाट करिब १५ मिटर पर सम्म लगेको र आउदो मगंलबार सम्म विद्यालय बिदा गरिएको र भोलि बिहान ११ बजे समितिका सम्पुर्ण सदस्य बिच छलफल गरि अवलोकन गरिने गौतमले बताईन ।

तत्कालै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देब कुमार नेपालीलाई फोन गरेको र नगर प्रमुखले केहि दिनमा नै अवलोकन गर्नेे जवाफ पाएको समेत गौतमले बताईन । पहिले ढोरपाटन नगरपालिका वडा नम्बर ५ नाथुरीबाट सञ्चालन हुदैँ आईरहेको उक्त विद्यालय नगरपालिकाबाट विनियोजित १० लाख बजेटमा जनसङ्ख्याको हिसाकले नव निर्मित भवनसगैँ गत बैशाख महिनाबाट भैसीँखर्कबाट सञ्चालनमा आएको थियो ।

यस्तै ढोरपाटन नगरपालिका वडा नं. ९ को सुप्राङमा पनि बिहान आएको हावा हुरीले कृष्ण बि क को २ तले घर सहित गाई बस्तु बाध्ने एक गोठको छानो उडाईदिएको स्थानिय धन बहादुर बिश्वकर्माले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.