बागलुङ, पर्वत र म्याग्दी अन्तर जिल्ला समन्वय समितिको बैठक सम्पन्न !
बागलुङ जिल्लामा महिला बन्दी गृह, म्याग्दी र पर्वत जिल्लामा पुरुष बन्दी गृह बनाउने निर्णय !

कोपिला कंडेल, बागलुङ, २०७५ फागुन ६ । बागलुङका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको अध्यक्षतामा म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, अर्जुन बाण गण घोडाबाधेका प्रमुख सेनानी भुवनराज देबकोटा, बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक रेग्मी, म्याग्दीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वीर बहादुर बुढा, पर्वतका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारी र बागलुङका प्रमुख अनुसन्धान अधिकृत निर्मल पौडेल लगायतको सहभागिता रहेको अन्तर जिल्ला समन्वय समितिको सोमबार सम्पन्न बैठकले केहि महत्वपूर्ण निर्णयहरु गरेको छ ।

बैठकले गरेका महत्वपूर्ण निर्णयहरुमा बागलुङ, म्याग्दी र पर्वत जिल्लामा रहेका कारागारको व्यवस्थापन, क्षमता बिस्तारको नयाँ कार्य योजना, कालीगण्डकी दोहनलाई न्यूनिकरण, कालीगण्डकीमा पाईने प्रशिद्ध शालग्रामको संरक्षण, तीनै जिल्लाका सीमानाहरुमा सवारी चेक जाँच, लागुऔषध ओसार पसारमा नियन्त्रण, करेण्ट तथा विष्फोटक पदार्थ प्रयोगरी माछा (जलचर) मार्ने गैरकानूनी कामको नियन्त्रण, विपद व्यवस्थापन, शान्ति सुरक्षा आदि रहेका छन् ।

कारगार व्यवस्थापन सम्वन्धमा तीनवटै जिल्लाका महिला बन्दीलाई गाभेर बागलुङमा महिला बन्दी गृह र म्याग्दी र पर्वत जिल्लामा पुरुष बन्दी गृह बनाउने निर्णय गरेको छ । यो निर्णय गृहमन्त्रालय र कारागार बिभागमा पठाईने र अनुमति प्राप्त भएपछि कार्यान्वयन तर्फ लैजाने प्रमुख जिल्ला अधिकारी खरेलले ईबागलुङलाई बताए । बागलुङलाई महिला बन्दीगृहको रुपमा मात्र बिकास गर्दा ५० जना क्षेमताको निर्माण हुने प्रमुख जिल्ला अधिकारी खरेलले जानकारी दिए ।

त्यसैगरी समितिको बैठकले म्याग्दी, पर्वत र बागलुङ हुदै बग्ने कालीगण्डकी नदी दोहनलाई न्युनिकरण गर्न र पुलहरु कलभर्ट बिद्युत प्रसारण स्टेशन नदी किनार मठ मन्दिरहरु धार्मिक तथा सांस्कृतिक महत्वका सम्पदा छेउछाउका बस्तीहरुको संरक्षणका लागि अन्तर जिल्ला समन्वय समितिले समन्वय र सहकार्य गर्दै जनताको ज्यूधन सुरक्षाको लागि जिल्ला समन्वय समिति र स्थानिय तह संग समन्वय गरिने अन्तर जिल्ला समन्वय समितिले जनाएको छ ।

त्यसैगरी बागलुङ पर्वत र म्याग्दी तीन जिल्लाका सीमानामा सवारी साधनको चेकजाच गरी सडक अनुशासन कायम गर्ने सीमाना तथा नाकाबाट अन्य जिल्लाबाट भित्रिन सक्ने लागु औषध कालीगण्डकीको शालग्राम लगायत पुरातात्विक बस्तुहरुको ओसार पसार नदीमा करेन्ट तथा बिस्फोटक पदार्थव्दारा माछा मार्ने लगायतका गैरकानुनी कार्य रोक्न तथा सीमाक्षेत्रमा हुने बिपद ब्यवस्थापनमा समेत सहकार्य गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए ।

त्यसैगरी जिल्लाका बिचमा सुरक्षा चुनौतीहरु र ब्यवस्थापनका बिषयमा सुरक्षा ब्यवस्थापन र सेवा प्रवाहलाई पारदर्शी बनाउदै सुशासन कायम गर्ने गराउने लगायतका निर्णय भएका छन् ।

यसैबिच बागलुङ पर्वत र म्याग्दीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रका प्रमुखहरुले संयुक्त रुपमा बागलुङ कारागारको अनुगमन समेत गरेका छन् । अनुगमनका क्रममा कारागारको ब्यवस्थापन र अन्तर जिल्ला समन्वय समितिको बैठकका निर्णय बारे प्रमुख जिल्ला अधिकारी खरेलले अवगत गराएका थिए ।

सो अवसरमा कारागारका चौकीदार सूर्य नेपालीले क्षेमता भन्दा बढी कैदी बन्दी हुदा आवास र पानीको समस्या भएको बताएका थिए । हाल कारागारका ९५ जना पुरुष १४ जना महिला र एक जना नावालिका गरी १ सय १० जना कैदी बन्दी रहेको कारागारका जेलर मोहन पौडेलले ईबागलुङ बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *