तलब भत्ता नपाएको दश महिना भयो, अझै कति महिना भोकभोकै पढाउने ?
तलब भत्ता नपाए आन्दोलनमा उत्रने निसीभूजी जनता क्याम्पसका शिक्षकहरुको चेतावनी !

बुर्तिवाङ २०७५ फागुन २ । ढोरपाटन नगरपालिका बुर्तिबाङ बजार स्थित निसीभुजी जनता क्याम्पसमा अध्यापनरत शिक्षकहरुले बिगत १० महिना देखि तलबभत्ता नपाउँदा भोकभोकै बस्नु पर्ने अवस्था आएको छ । समय मै तलब भत्ता उपलब्ध नहुँदा परिबार कै बिचल्ली परेको शिक्षकहरुको मार्मिक गुनासो सतहमा आाएको छ ।

दश दश महिना यनकेन प्रकारेण सरसापट गरेर घर व्यवहार चलाउदै आएका शिक्षकहरुले अहिले आफूहरुले पाउनु पर्ने १० महिनाको तलबभत्ता यथाशीघ्र उपलब्ध गराउनका लागि क्याम्पस प्रशासनलाई दवाब दिएका छन् । गत जेठ महिनादेखि अहिलेसम्मको १० महिनाको तलबभत्ता शिक्षकहरुले पाएका छैनन् । यस विषयमा क्याम्पस प्रशासन र क्याम्पस संचालक समितिले ठोस रुपमा पहल गर्न नसकेको शिक्षकहरुको आरोप छ । १० महिनासम्म शिक्षकहरुलाई भोकै कजाउनु न्याय संगत नभएको शिक्षकहरुको भनाइ रहेको छ ।

क्याम्पसमा अध्यापनरत शिक्षकहरुले आज क्याम्पस प्रमुख कृष्णकान्त आचार्यसँग तुरुन्त तलब भत्ता खुवाउनु पर्ने भनी माग राखेका छन् । शिक्षकहरुले आफ्ना पेशागत हकहितको पक्षमा क्याम्पस प्रशासन र संचालक समिति उदासीन रहेको भन्दै क्याम्पसमा नेतृत्वदायी भूमिका र जिम्मेवारी बहन गर्न नसक्ने भए क्याम्पस प्रमुख र संचालक समितिका अध्यक्षले राजिनामा दिनुपर्ने बताएका छन् ।

गत जेठ महिनादेखि आफूहरुले तलबभत्ता नपाउँदा आर्थिक कठिनाई परेको शिक्षकहरुको भनाई छ । क्याम्पस संचालक समितिले गत दंशैको समयमा पनि शिक्षकहरुलाई खाली हात घर पठाएको थियो । त्यसपछि क्याम्पसले महायज्ञपछि तुरुन्तै तलबभत्ता भुक्तानी गर्ने आश्वासन दिएपनि अहिलेसम्म कुनै पहल गरेको छैन ।

क्याम्पसलाई जिल्लाकै सुविधा सम्पन्न स्मार्ट क्याम्पस बनाउने भनी गत मंसिर १५ गतेदेखि २१ गतेसम्म धार्मिक तथा शैक्षिक महोत्सव महायज्ञ सम्पन्न भएको थियो । त्यसपछि शिक्षक कर्मचारीहरुको तलबभत्ता तुरुन्तै भुक्तानी गर्ने भनी संचालक समितिले आश्वासन दिएको थियो । तर महायज्ञ सकिएको ३ महिना बितिसक्दा समेत यस विषयमा कसैको ध्यान जान सकेको छैन । महोत्सवबाट करिब १ करोड ८५ लाख रुपैया जति आर्थिक चन्दादान संकलन भएपनि झण्डै १ करोड ४७ लाख रुपैया जति उधारो रकम भएकाले उठन बाँकी रहेको क्याम्पस स्रोतले बताएको छ । क्याम्पसमा आर्थिक स्रोत नभएकाले तलबभत्ता खुवाउन कठिनाइ परेको क्याम्पस प्रशासनले बताएको छ । शिक्षकहरुले भने क्याम्पस प्रशासन र संचालनक समिति यस विषयमा गम्भीर बन्न नसकेको आरोप लगाएका छन् । शिक्षकहरुले समयमा तलबभत्ता नपाउँदा क्याम्पसको पठनपाठन समेत प्रभावकारी र नियमित हुन सकेको छैन ।

उता क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आजै क्याम्पस प्रशासनमा आफ्ना मागहरुसहित निवेदन बुझाएका छन् । निवेदनमा नियमित पठनपाठन हुनुपर्ने, चर्काे शुल्क घटाउनु पर्ने, खानेपानी, खेलकुद सामग्री र पुस्तकालयको व्यवस्था हुनपर्ने लगायतका शैक्षिक मागहरु राखिएको छ ।

क्याम्पसमा विद्यार्थीहरुले विगतदेखि नै शुल्क अत्यधिक चर्काे भएकाले घटाउनु पर्ने माग राख्दै आएका छन् । प्रत्येक विद्यार्थीले एक शैक्षिक सत्रमा मात्र २५ हजारभन्दा बढी शुल्क तिर्दै आएका छन् । स्नातक तहका सबै शैक्षिक वर्ष पुरा हुने बेलासम्म भर्ना शुल्क, मासिक शुल्क, प्रयोगात्मक शुल्क र अन्य विभिन्न शीर्षकका शुल्कहरु गरी प्रत्येक विद्यार्थीले झण्डै १ लाख ३० हजारभन्दा बढी शुल्क मात्र बुझाउने गरेको स्रोतले बताउँछ ।

तर यतिका शुल्क भुक्तानी गरे पनि क्याम्पसमा सामान्य पुस्तकालयको समेत व्यवस्था छैन । पढाउने पाठ्यपुस्तक समेत शिक्षकहरु आफैले किन्नु पर्छ । क्याम्पसमा खेलकुद सामाग्रीको नाममा एउटा भलिबलसम्म छैन, शिक्षक विद्यार्थीका लागि खानेपानीको व्यवस्था समेत छैन । शिक्षकलाई स्टाफ कोठामा मार्कर र डस्टर समेत पाउन मुस्किल हुन्छ । शिक्षकहरुले प्रायगरी कापीको पानाले ह्वाईट बोर्ड मेट्ने गर्छन् । यस्तो अस्त व्यस्त अवस्था हुँदा समेत सरोकारवालाहरुको ध्यान जान सकेको छैन । स्थानीय सरकारले समेत क्याम्पसको विषयमा खासै चासो दिएको देखिदैन ।

यसभन्दा पहिला आंशिक शिक्षकहरुले खाइपाई आएको तलबभत्ता अन्तरगत प्रति पिरियडको रु. ६ हजारलाई अघिल्लो क्याम्पस संचालक समितिले घटाएर ४ हजारमा झारेको थियो । त्यतिबेला पनि शिक्षकहरुले खाइपाई आएको तलबभत्ता घटाउन नहुने भनी चर्काे विरोध गरेका थिए । तर पनि समितिले आफ्नो निर्णय फिर्ता लिन मानेको थिएन । त्यसको कारणले पनि क्याम्पसमा अध्यापनरत शिक्षकहरुको मनोबल गिराउने काम संचालक समितिबाटै भएको र समय अनुकुल यतिका लामो समयसम्म तलब बृद्धि नगरिनु, साथै भुक्तानी गर्नुपर्ने तलब पनि दश।दश महिना भुक्तनी नपाउनु क्याम्पस प्रशासन र संचालक समितिको लागि समेत लाजमर्दाे र गैरजिम्मेवारी काम भएको क्याम्पसका शिक्षकहरुको गुनासो छ ।

क्याम्पसमा अध्यापनरत शिक्षकहरुले आफ्ना माग पुरा नभए चरणबद्ध आन्दोलनमा उत्रने बताएका छन् । आन्दोलनको पहिलो चरणमा क्याम्पस प्रशासनलाई ध्यानाकार्षण गराएको र त्यसपछि संचालक समिति, सरोकारवाला निकाय र स्थानीय सरकार समक्ष समेत व्यापक रुपमा छलफल गरि सबैलाई दायित्व बोध गराउने गरी दबाब मुलक कार्यक्रम गर्ने बताइएको छ ।

यो पनि पढौं
बुर्तिवाङमा सन्चालित महोत्सवको आयव्यय सार्वजनिक : बोल रकम रु १ करोड ८६ लाख, उठन बाँकी १ करोड ४८ लाख !

बुर्तिवाङमा शैक्षिक एवं धार्मिम महोत्सव सुरु : यसरी गरियो प्रमुख अतिथी नगरप्रमुख नेपालीको भव्य स्वागत !

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल अर्याल दम्पतिबाट रु २५ लाख २५ हजार सहयोग दिने घोषणा !

महोत्सव पूर्ण रुपमा सफल -नेपाली : महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद – अर्याल

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *