ढोरपाटन नगरपालिका जुनसुकै सहयोग गर्न तयार रहेको नगरप्रमुख नेपालीको उद्घोष !
ढोरपाटनमा उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुनेमा कुनै आशंका नगर्न आग्रह !

सुमन सुनार, बुर्तिबाङ २०७५ माघ २५ । प्रस्तावित उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाको बातावरणीय प्रभाव मूल्याङ्कनको विस्तृत अध्ययन सुरु भएको छ । अध्ययनका लागि नेपाल विद्युत प्राधिकरणबाट विशेष टोली ढोरपाटन नगरपालिकामा आएकोे छ ।

आयोजना प्रभावित क्षेत्र ढोरपाटन र निसीखोलाको बातावरणीय प्रभाव मुल्याङ्कन तथा अध्ययन र प्राभावित बन्ने स्थानिय बासिन्दाहरुको लगत संकलनका लागि नेपाल विद्युत प्राधिकरकणका सहायक निर्देशक कृष्ण प्रसाद जोसी, बातावरण विभागका सह–निर्देशक अच्युत दवाडी, बातावरणविद विनोद प्याकुरेल, सिभिल ईन्जीनियर कौशल घिमिरे र सिभिल ईन्जीनियर कैशल अंसारी सहित ५ जनाको टोली ढोरपाटन आएको हो ।

यसैक्रममा उक्त टोलीलाई ढोरपाटन नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा सम्मान गरिएको छ । नगर प्रमुख देव कुमार नेपालीले खादा अविर लगाएर सम्मान गरेका छन् ।

उक्त सम्मान कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका सहायक निर्देशक कृष्ण प्रसाद जोशीले वातावरणीय अध्ययनका क्रममा आयोजनाको क्षेत्र निर्धारण तथा कार्यसूची सहितको प्रतिवेदन वन तथा बातावरण मन्त्रालयबाट स्वीकृत भैसकेको र प्रभावित क्षेत्र ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा स्थलगत अध्ययनका लागि प्राधिकरणको टोली आएको बताए । आयोजना निर्माणले समाजमा पर्ने सक्ने प्रभाव त्यसको जोखिम सहित भौतिक बातावरण, जैविक बातावरण सामाजिक साँस्कृतिक बातावरणको विस्तृत अध्ययन गरिने जोशीले जानकारी दिए । यस्तै टोलीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई अन्य स्थानमा स्थानन्तरण गर्नुपर्ने भएकाले भुकम्पीय जोखिमका साथै अन्य प्राकृतिक प्रकोपको जोखिम नभएको उपयुक्त सुरक्षित स्थानको अध्ययन पनि गर्ने बताए । त्यसैगरी प्राभावित स्थानका जनताका माग के–कस्तो रहेको छ ? त्यसको अध्ययन र प्रभावित बन्ने क्षेत्रका बस्तीहरुको बास्तविक अवस्थाको लगत संकलन समेत गरिने त्यस अवसरमा उनले जानकारी दिए ।

ढोरपाटन एउटा संरक्षित क्षेत्र भएकाले आफुहरुले चाहे अनुसार बस्ती स्थानन्तरण गर्न नसक्ने बताउँदै ढोरपाटन नगरपालिकाले त्यसको व्यवस्थापनमा विशेष भुमिका खेल्नुपर्ने जोशीको भनाई थियो । त्यससंगै अन्य स्थानमा बस्ती स्थानन्तरण गर्दा पनि स्थानन्तरण गरिने स्थानका नागरिकको सेवा सुविधा लगायतका अन्य क्षेत्रमा प्रभाव पर्ने भएकाले त्यसको मध्यनजर गर्दै विद्युत प्राधिरकणले नगरपालिकाको सहकार्य र समन्वय चाहेको उनले बताए ।

यस्तै उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना सस्तो लगानीमा धैरै विद्युत उत्पादन हुने र समय मै लाभ लिन सकिने नेपालकै सवैभन्दा उत्कृष्ट आयोजना रहेको प्राधिकरणका सह–निर्देशक अच्युत दवाडीले बताए । कुनै पनि ठुला अयोजना निर्माण हुँदा विवाद हुनु स्वभाविक भएको भन्दै आयोजनाका विषयमा जारी विवाद अन्त्य गरी अव ढोरपाटनमा उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुनेमा कुनै आशंका नगर्न सह–निर्देशक दवाडीले सबैमा आग्रह गरे । वातावरण अध्यायनको काम सकिने बितिकै आयोजनाले जेनेरेशन लाईसेन्स प्राप्त गर्ने र त्यस लगत्तै कन्ट्रक्सनको काम अगाडी बढ्ने दवाडीले जानकारी दिए ।

ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले उक्त आयोजना गण्डकी प्रदेशकै पहिचान र समृद्धिको आधार भएकाले आयोजना ढोरपाटनमा बन्न आवश्यक रहेको बताए । आयोजना निर्माणमा स्थानीय सरकार ढोरपाटन नगरपालिकाबाट जुनसुकै सहयोग गर्न तयार रहेको नगरप्रमुख नेपालीले बताए । आयोजना निर्माण गर्दा धैरै गरिव, दलित तथा विपन्न परिवार बसोबास गर्ने बस्तीहरु विस्थापित हुने भएकाले ती दलित बस्तीलाई कुनै सुरक्षित स्थानमा एकिकृत बस्तीको निर्माण गरि स्थानन्तरण गर्ने योजनामा नगरपालिका रहेको समेत नगर प्रमुख नेपालीले स्पष्ट पारे । आफ्नो अनुकुलतामा आयोजना निर्माण गराँै भन्ने नियतले विभिन्न योजनाहरु बन्ने गरेको भन्दै नगर प्रमुख नेपालीले प्राधिकरणले कुनै राजनैतिक दबाव र शक्तीको प्रभावमा नपरी विशेष योजनाका साथ काम अगाडी बढाउन आग्रह समेत गरे ।

८ सय २८ मेगावाट क्षमताको विद्युत उत्पादन हुने अनुमान गरिएको उक्त जलविद्युत आयोजनाको लामो समय सम्म बागलुङतर्फ पानी खसालेर आयोजना बनाउने या रुकुमतर्फ पठाउने भन्ने विषयमा विवाद रहँदै आएको थियो । पानी कता खसाल््ने भन्ने विषयमा अब विवाद नगरी ढोरपाटनको उत्तरगंगालाई जलाशययुक्त बनाएपछि निसीखोलामा पानी खसालिने र आयोजना निर्माण हुने प्राधिकरणबाट खटिएको सो मूल्याङ्कन टोलीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.