बुर्तिवाङमा २ दिने स्थानिय सरकारको संस्थागत स्व–मूल्याङ्कन प्रणाली नमुना परिक्षण कार्यशाला गोष्ठी प्रारम्भ !

सुमन सुनार, बुर्तिबाङ २०७५ माघ २० । ढोरपाटन नगरपालिकामा आज देखि २ दिने स्थानिय सरकारको संस्थागत स्व–मूल्याङ्कन प्रणाली नमुना परीक्षण कार्यशाला गोष्ठी सुरु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मान्त्रालयको आयोजना तथा ढोरपाटन नगरपालिकाको संयोजनमा उक्त कार्यशाला गोष्ठी सुरु भएको हो ।

स्थानिय सरकारको संस्थागत, कानुनी, राजनीतिक र आर्थिक पक्षहरुको विकास क्रम के–कस्तो रहेको छ त्यसको मूल्याङ्कनका साथै संबैधानिक जिम्मेवारी अन्तर्गतका महत्वपूर्ण विषयलाई समयमा नै सम्बोधन गर्न सक्ने गरी स्थानिय तहलाई सवल बनाउने मुख्य उद्देश्य सहित उक्त नमुना पशिक्षण कार्यशाला गोष्ठीको आयोजना गरिएको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहजकर्ता अर्जुन सुवेदीले जानकारी दिए ।

बुर्तिबाङ बजारमा आयोजना गरिएको सो कार्यशाला गोष्ठीको आईतवार ढोरपाटन नगरपालिकाकी उप–प्रमुख करमती पुनले उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, वडा नं. २ का वडा अध्यक्ष युवराज महत, वडा नं. ३ का वडा अध्यक्ष हेमेन्द्र घर्ति, वडा नं. ४ का वडा अध्यक्ष तिलक पुन, ५ का वडा अध्यक्ष, लक्षमण पुन, ६ का वडा अध्यक्ष जीवन कुमार पुन, ७ का वडा अध्यक्ष दिपक थापा, ८ का वडा अध्यक्ष नन्दे सुनार, ९ का वडा अध्यक्ष हरी बहादुर घर्ती मगर लगायत नगर कार्यपालिकाका सदस्य, नगर सभा सदस्य, ढोरपाटन नगर कार्यपालिका कार्यालयका कर्मचारी, पत्रकाहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा कार्यक्रमका विषयमा जानकारी दिँदै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप–सचिव अर्जुन सुवेदीले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयव्दारा सञ्चालित उक्त स्थानिय सरकारको संस्थागत स्व–मूल्याङ्कन प्रणाली नमुना परिक्षण कार्यक्रम देशभरका स्थानिय तहहरु मध्य हाल ३५ ओटा स्थानिय तहमा सञ्चालन भएको बताए । गण्डकी प्रदेशमा ४ स्थानिय तह छनौट भएको र बागलुङ जिल्लाबाट ढोरपाटन नगरपालिका मात्र छनौट भएको उप–सचिव सुवेदीले जानकारी दिए ।

कार्यक्रमका सहजकर्ता समेत रहेका सुवेदीका अनुसार स्थानिय सरकारले संविधान र प्रचलित कानुनहरुबाट प्राप्त अधिकार अनुरुप उत्तरदायीपूर्ण ढंगबाट कार्य सम्पादनका लागि आफ्ना सवल एवं कमजोर पक्षको पहिचान गर्ने, स्थानिय सरकारको वित्तिय साधनहरुको उपयोग मितव्ययी तथा दक्षतापूर्ण रुपमा गर्न रणनितिगत कार्य योजना तयार गरी कार्यन्वयन गर्ने, संस्थागत विकासका लागि लगानी गर्नुपर्ने क्षेत्रहरुको पहिचान गर्ने, स्थानिय सरकारले गरेका राम्रा अभ्यास, प्रयास, सिकाई र उपलब्धीहरुलाई उजागर गर्दै प्रतिस्पर्धी स्थानिय सरकारको स्थापनामा सघाउ पु¥याउने स्थानिय सरकारको संस्थागत स्व–मूल्याङ्कनका प्रमुख उद्देश्य रहेको उप–सचिव सुवेदीको भनाई थियो ।

उप–सचिव सुवेदीले स्थानिय सरकारको संस्थागत स्व–मूल्याङकन, समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति सम्बन्धी सूचकहरुको आधारमा गरिने बताए । स्व–मुल्याङ्कनमा स्थानिय सरकार सञ्चालन सम्बन्धि शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवम आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पुर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय गरी १० वटा विषय क्षेत्र समावेश गरिएको उनले जानकारी दिए । उक्त विषय क्षेत्रका लागि फरक फरक १ सय ओटा सूचक निर्धारण गरिएको जानकारी दिनुभयो । प्रत्येक सूचकको अंकभार अधिकतम १ निर्धारण गरिएको र सूचक कै आधारमा प्राप्त अंकभार र अंक गणना गरिने सुवेदीले बताए ।

उक्त मुल्याङ्कनले स्थानिय सरकारको सक्षमता र कमजोरी पहिचान गरी सुधारका लागि आवश्यक निति एवं कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्नुका साथै स्थानिय सरकारको संगठनात्मक ढाँचा, प्रशासनिक प्रक्रिया, वित्तिय व्यवस्था, सेवा प्रवाह, योजना तथा बजेट तर्जुमा लगायतका स्व–मूल्याङकन सूचकहरु उपलब्ध हुने उनले बताए ।

त्यसैगरी स्व–मूल्याङ्कनको नतिजाबाट स्थानिय सरकारको संस्थागत क्षमता अभिबृद्धि गर्न नीति तर्जुमा गर्न सहयोग गर्ने, स्थानिय सरकारको कार्य प्रगति नियमित रुपमा अनुगमन गरी आवश्यक कदम दिन सहयोग गर्ने र स्व–मुल्याङ्कन प्रणालीलाई प्रोत्साहन व्यवस्थासंग आवद्ध गरी स्थानिय सरकारहरु विच प्रतिस्पर्धा गर्न समेत सहयोग गर्ने सहजकर्ता सुवेदीले सो अवसरमा जानकारी दिए ।

गोष्ठीको पहिलो दिन १० ओटा विषय क्षेत्र र १ सयओटा सूचकमा ढोरपाटन नगरपालिकाको स्व–मुल्याङ्कन गरिएको छ । आज गरिएको स्व–मूल्याङ्कन भोली दोस्रो दिन प्रस्तुत तथा छलफल गरिने र त्यसको आधारमा ढोरपाटन नगरपालिकालाई अंक प्रदान गरिने छ । नगरपालिकाका जनप्रतिनिधि, नगरपालिका अन्तर्गत रहेका विभिन्न शाखा कार्यालयका कर्मचारीहरु गरी करिव ५० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन भने ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धन प्रसाद पोखरेलले गरेका थिए । यस्तै भोलि दोस्रो दिन संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयका सचिव पुरषोत्तम नेपाल सहितको टोलीले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *