बागलुङ २०७५ माघ २० । बागलुङ सदरमुकाममा सन्चालनमा रहेका होटेलहरुको बर्गिकरण सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले सदरमुकाम स्थित गोविन्दाज शाकाहारी भोजनालयमा हरियो लोगो (स्टिकर) टाँसेर वर्गिकरणको शुभारम्भ गरेका हुन् ।
खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बागलुङले खाद्य स्वच्छताको आधारमा होटेल रेष्टुरेण्ट स्तरीकरण गर्ने निर्देशिका २०७४ को अनुसूची १ बमोजिम गरिएको मुल्यांकनको आधारमा पहिलो चरणमा सदरमुकाम स्थित गोविन्दाज शाकाहारी भोजनालय, न्यू होटेल पीस प्यालेस, न्यू होटेल हिलभ्यू, सितल पार्टी प्यालेस र होटल दी राजन सहित पाँच वटा होटेलहरुमा हरियो स्टिकर टाँसेर (एकतारा/सन्तोष जनक) प्रमाणीकरण गरिएको हो ।
खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बागलुङले गत पुस १३ गते आयोजना गरेको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीको संयोकत्वमा गठित खाद्य स्वच्छता समूहव्दारा गरिएको मुल्यांकनको आधारमा पाँच वटा होटलहरुलाई हरियो स्टिकर (सन्तोष जनक)प्रदान गरिएको खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख केदार पौडेलले जानकारी दिए । आगामी दिनहरुमा सदरमुकाममा सन्चालनमा रहेका अन्य होटेलहरुको अनुगमन मुल्यांकन गरी बर्गिकरण गरिने पनि निमित्त प्रमुख पौडेलले ईबागलृङलाई बताए ।