वर्तमान सरकार असफल भएकाले देश गभ्भीर मोडमा पुगेको राजमोको आरोप !
संघीयता नेपालका लागि अफापसिद्ध भइसकेकाले खारेजी गर्नुपर्ने महासचिव शर्माको जोड !

लोकेन्द्र निरासी, बुर्तिबाङ २०७५ माघ २० । राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव जनकराज शर्माले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेकाले समयमै सच्चिनु पर्ने बताएका छन् ।

संघीयता, राष्ट्रिय विखण्डन र प्रतिगमनको खताराको विरुद्ध संघर्ष गरौं, महंगी, भ्रष्टाचार, हत्या हिंसा र बलत्कारको अन्त्य गरौं भन्ने मूल नारा सहित राष्ट्रिय जनमोर्चाको केन्द्रिय समितिले तय गरेको देशव्यापी विरोध कार्यक्रम अनुुसार महिसचिव शर्माले राष्ट्रिय जनमोर्चा बागलुङले शनिवार बुर्तिवाङ बजारमा आयोजना गरेको बिरोध सभालाई सम्वोधन गर्दै यस्तो बताएका हुन् ।

सरकारलाई सचेत गराउनका लागि राष्ट्रिय जनमोर्चाले पहिलो चरणमा देशव्यापी रुपमा विरोधसभाको आयोजना गरेको बताउदै कार्यक्रमका प्रमुख अतिथि शर्माले देशमा अहिले भ्रष्टाचार, महंगी, हत्या हिंसा, बलात्कार, जस्ता सामाजिक अपराधहरु बढ्दै गएको र त्यसको समाधान गर्न सरकार असफल भएकाले देश गभ्भीर मोडमा पुगेको आरोप लगाए ।

महासचिव शर्माले अहिले विदेशी शक्तिकेन्द्रहरुको इसारामा हिन्दु राज्यको माग गर्ने नाममा केही राजनीतिक दल र राजावादी शक्तिहरु धर्मनिरपेक्षता र गणतन्त्रको विरोधमा उत्रिन थालेकाले देशमा प्रतिगमनको खतरा पनि त्यत्तिकै गम्भीर बन्दै गएको उल्लेख गर्दै अहिले देशमा संघयताकै कारण राष्ट्रियता कमजोर बन्दै गएको भन्दै यो देशका लागि अफापसिद्ध भइसकेकाले संघीयताको खारेजी गर्नुपर्नेमा समेत जोड दिए । उनले देशको राष्ट्रियता बचाउने अभियानमा सबै सचेत नागरिक एक हुनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार गौरिश्वर पाण्डे, वेदीलाल सापकोटा, अखिल नेपाल युवक संघका केन्द्रिय सल्लाहकार तिलक थापा, नेकपा मसालका जिल्ला प्रवक्ता मेघ बहादुर पाइजा, अखिल नेपाल महिला संघ बागलुङकी उपाध्यक्ष दुर्गादेवी घर्ती मगर, प्रगतिशील पत्रकार संघ बागलुङका उपाध्यक्ष लोकेन्द्र सुनार लगायतले मन्तव्य राखेका थिए ।

बक्ताहरुले वर्तमान दुईतिहाईको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको र जनताका गास, बास, कपास र जनजीविकाका सवालहरु गम्भीर बन्दै गएकाले सबै सचेत नेपालीहरु यसको विरोधमा उत्रदै राष्ट्रियताको संरक्षण गर्ने अभियानमा जुट्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रिय कोषाध्यक्ष भीमसेन बन, जिल्ला अध्यक्ष जुन विक्रम शाही, रक्तिम सांस्कृतिक अभियान बागलुङका अध्यक्ष दल बहादुर वि.क., अखिल छैठौंका जिल्ला अध्यक्ष शिवलाल चालिसे, जातीय समता समाज बागलुङका अध्यक्ष खड्क वि.क. लगायत राष्ट्रिय जनमोर्चा समर्थक, विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवरको अध्यक्षता रहेको उक्त विरोध सभा कार्यक्रमको संचालन जिल्ला सचिव भीमलाल पोखरेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.