गल्कोट नगरपालिकामा बिद्यार्थी संख्याको आधारमा शिक्षकहरुको व्यवस्थापन गरिने !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ माघ १८ । गल्कोट नगरपालिकाले बिद्यार्थी संख्याका आधारमा शिक्षक ब्यवस्थापन गर्ने भएको छ । तत्कालका लागी प्राथमिक बिद्यालयमा भएका शिक्षकहरुलाई ब्यवस्थापन गर्न सुरु गरेको हो ।

नगर शिक्षा समितिको बैठकले प्राथमिक तह कक्षा १ देखि ३ सम्म सञ्चालित बिद्यालयमा १ शिक्षक दरबन्दी कायम गर्ने निर्णय गरेको छ । प्राथमिक तहमा १२ भन्दा बढी २० जना बिद्यार्थी भए २ दरबन्दी २१ भन्दा बढि ४० सम्म भए ३ शिक्षक र सो भन्दा बढी भए शिक्षक र बिद्यार्थीको अनुपात १ दशमलब ४५ का दरले थप शिक्षक ब्यवस्थापन गर्ने गल्कोट नगरपालिकाका सामाजिक बिकास समिति संयोजक हिम बहादुर भण्डारीले बताए ।

त्यस्तै कक्षा १ देखि ५ सम्म सञ्चालन भएका प्राथमिक बिद्यालयमा न्युनतम २ दरबन्दी कायम कामय गर्ने निर्णय भएको छ । बिद्यार्थी संख्या २० देखि ४५ सम्म भए ३ शिक्षक, ४६ देखि ७१ सम्म भए ४ शिक्षक ७१ देखि ९७ सम्म भए ५ शिक्षक र सो भन्दा बढी भए शिक्षक र बिद्यार्थीको अनुपात १ दशमलब ४५ का दरले थप शिक्षक ब्यवस्थापन गर्ने भण्डारीले बताए । बैठकले प्राथमिक तहमा थप भै बाँकी रहेका शिक्षक निम्न माद्यमिक तह संचालित शुन्य दरबन्दी भएका, कक्षा १ देखि ८ सम्म सञ्चालित बिद्यालयमा कम दरबन्दी भएका जेष्ठता र बिद्यार्थी संख्यालाई आधार मानि थप शिक्षक ब्यवस्थापन गर्ने निर्णय भएको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव खेम आचार्यले बताए ।

सो बैठकले बिद्यार्थी संख्या कम भएका र शिक्षक दरबन्दी बढि भएका बिद्यालयका शिक्षकलाई समेत ब्यवस्थापन गर्ने निर्णय गरेको आचार्यले बताए । १ देखि ३ सम्म सञ्चालित प्राथमिक बिद्यालयमा १२ जना भन्दा कम बिद्यार्थी भएमा १ शिक्षक राख्ने र बाकी झिक्ने, प्राथमिक तह अन्तर्गत कक्षा १ देखि ५ सम्म सञ्चालित बिद्यालयमा २० जना भन्दा कम बिद्यार्थी भएमा २ शिक्षक कायम गर्ने र बाकिँलाई झिक्ने निर्णय भएको आचार्यको भनाई छ ।

त्यस्तै नगरपालिकाले शिक्षकलाई काजमा सरुवा गर्दा पहिले शिक्षकको ईच्छा र सहमतिमा गराउने समेत जनाएको छ । त्यस्तै सरुवा गर्दा शिक्षकलाई पायक गर्ने भए बरिष्ठताका आधारमा तथा पायक नपर्ने भए कनिष्ठताका आधारमा काज सरुवा गर्ने र अपाङ्गता भएका शिक्षकलाई निजको सहमति बिना सरुवा नगर्ने नगरपालिकाले जनाएको छ ।

बैठकले माद्यमिक बिद्यालयमा पुस्ताकालय स्थापना र ब्यवस्थापन गर्ने गरि नगरपालिका भित्रका ४ बिद्यालय, शिक्षण सिकाईमा सुचना प्रबिधि प्रयोगका लागी २ बिद्यालय, माद्यामिक बिद्यालयमा बिज्ञान प्रयोगशाला अनुदानका लागी ३ बिद्यालय, पानी तथा स्वास्थ र सरसफाई सुबिधा सहितको शौचालयका लागी ३ बिद्यालय, २ कोठे नयाँ कक्षा कोठा सहित फर्निचर ब्यवस्थापनका लागी ३ बिद्यालय, गणित, बिज्ञान र अग्रेजी बिषयका लागी क्रियाकलापमा आधारित सामाग्री अनुदानका लागी ४ बिद्यालयलाई छनोट गरि कार्यक्रम सम्झौता गरि कार्यान्वयन गर्ने समेत निर्णय गरेको नगरशिक्षा समितीले जनाएको छ ।

बैठक नगरशिक्षा समितिका संयोजक नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता र सदस्य सचिव खेम आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.