अधिकारीचौरका कृषकहरुको ‘नमुना कृषक समुह’ : सामुहिक तरकारी खेतीको नमुना उदाहरण !

सुमन सुनार, बुर्तिबाङ २०७५ माघ १७ । पछिल्लो समय ग्रामिण भेगका अधिकांश कृषकहरु सामुहिक तरकारी खेती प्रति आकर्षित हुन थालेका छन् । सानो लगानीमा यसरी गरिएको कृषि प्रणालीबाट प्रशस्त आम्दानी हुन थालेपछि कृषकहरु सामुहिक कृषि खेती तर्फ आकर्षित हुन थालेका हुन् ।

यसैविचे ढोरपाटन नगरपालिका वडा नं. ५ अधिकारीचौरका कृषकहरुले सामुहिक रुपमा तरकारी खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । गरिव तथा विपन्न परिवारका किसानहरुको आयआर्जनको कुनै भरपर्दो माध्यम नभएपछि अधिकारीचौरका स्थानिय कृषकहरुले नमुना कृषक समुह नामक कृषक समुहको गठन गरेर सामुहिक रुपमा तरकारी खेती गरिरहेका छन् ।

स्थानिय सात जना कृषकहरु आवद्ध रहेको उक्त कृषक समुहले रुद्रावती कृषि सहकारी संस्थाबाट १ लाख ५० हजार ऋण लिएर गत २०७४ साल फागुन महिना देखि सामुहिक तरकारी खेती सुरु गरेको नमुना कृषि समुहका अध्यक्ष कृष्णलाल कँडेलले जानकारी दिए ।

अधिकारीचौरमा बार्षिक ४५ हजारमा जग्गा लिजमा लिएर तरकारी खेती सुरु गरेका उनिहरुले तरकारी खेतीबाट मासिक रुपमा खर्च कटाएर ३० देखि ३५ हजार सम्म आम्दानी गर्न सफल भएको अध्यक्ष कँडेलले बताए । अध्यक्ष कँडेलका अनुसार आलु, गोल्भेँडा (टमाटर), बन्दा, फुल गोभी, काउली, गाजर, मुला, रायो, जुगुनी फर्सी, काक्रो, घिरौला, प्याज, लसुन लगायतका मौसमी तथा बेमौसमी तरकारीका साथै नर्सरी समेत उत्पादन गर्दै आएको समुहका अध्यक्ष कँडेलको भनाई छ ।

समुहमा आवद्ध कृषकहरु आफैले खनजोत, गोडमेल, तरकारीको स्याहार सुसार र उत्पादित तरकारी बजार सम्म पु¥याउने गरेका छन् । उत्पादित तरकारी केहि मात्रामा गाउँमै खपत हुदैँ आएपनि मुख्य बजार भनेकै ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजार भएको बताउँदै अध्यक्ष कँडेलले समुहका सदस्यहरु एक आपसमा आलोपालो गरेर कसैले फर्ममा काम गर्ने र कसैले तरकारी बजार सम्म पु-याउने काम गरिरहेको ईबागलुङलाई बताए । यातयातको सुविधा राम्रो नभएका कारण पिठ्यँुमा बोकेर आफ्नो उत्पादन बजार सम्म पु¥याउनु पर्ने बाध्यता रहेको उनको भनाई छ । त्यहाँका कृषकले तरकारी उत्पादन गर्न थाले पछि बाहिरबाट हुने तरकारीको आयात समेत घट्न थालेको कँडेलको भनाई छ । तरकारी खेतीकै आम्दानीबाट हाल समुहमा ३ लाख रुपैँया भन्दा बढि रकम बचत समेत रहेको कँडेलले बताए । समुहमा बचत रहेको रकम आवश्यकताका आधारमा समुह भित्रै मासिक १ प्रतिशतका दरले लगानी गर्ने गरिएको कँडेलले जानकारी दिए । आगामी दिनमा आर्थिक अवस्था सुधार हुदैँ गएपछि समुहले लघुवित्त कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष कँडेलले ईबागलुङलाई बताए ।
कुनै तालिम विना नै परम्परागत तरकारी खेतीको अनुभव र अरुले आधुनिक तरकारी खेती गरेको देखेकै आधारमा आफुहरुले तरकारी खेती गरेको बताउँदै अध्यक्ष कँडेलले सिजन सिजनमा ढोरपाटन नगरपालिका अन्तर्गत रहेको कृषी कार्यालयले तरकारीका विउ, विजन उपलब्ध गराउदै आएको बताए ।

अध्यक्ष कँडेलले भने, समुहिक रुपमा थालिएको कामले समुहमा बसेर कृषि कर्म गर्नुपर्दछ भन्ने बानीको विकास हुदै गएको र हामीले गरेको कामको अन्यले पनि सिको गरुन र खेती योग्य जमिन बाजो नहोस भन्ने हाम्रो धारणा हो ।

सामुहिक रुपमा गरिएको तरकारी खेतीले अधिकारीचौरका किसानलाई आत्मनिर्भर बनाउनुका साथै जीवन यापनमा समेत निकै परिवर्तन ल्याइदिएको छ । सामुहिक तरकारी खेतीले एकातिर समूहमा काम गर्ने बानीको विकास गराएको छ भने अर्कातिर आम्दानी पनि बढेको छ । आगामी दिनमा बाँसको टनेललाई विस्थापित गरी फलामे टनेल निर्माण गर्ने, विरुवा नर्सरी उत्पादनका लागि हाइटेक टनेल र ग्रीनहाउस निर्माण गर्ने तथा थोपा सिंचाई प्रणालीको व्यवस्थापन गर्ने योजनामा रहेको समुहका उपाध्यक्ष खममायाँ घर्तीले बताईन् । ।

मौसमी तथा वेमौसमी तरकारी उत्पादन गर्नमात्र सक्नुपर्छ बिक्रिका लागि बजारको कुनै समस्या नरहेको उनको भनाई छ ।

देशमा रोजगारको व्यवस्था छैन्, जीवनयापन गर्न गाह्रो छ भन्दै बैदेशिक रोजगारमा जाने युवाहरुले विदेशी भुमीमा गएर अर्काको हेपाईमा झुकेर काम गर्नु भन्दा आफ्नो माटोमा आफ्नो पुर्खाले रचेको थलोमा परम्परागत रुपमा चल्दै आएका व्यवसायलाई आधुनिकिकरण गरी व्यवसायीक बन्न सके आफ्नै देशको माटोमा सुन फलाउन सकिने समुहकी सचिव सविता कुँवरको भनाई छ ।


राज्यले कृषि क्षेत्रको विकासलाई विशेष प्राथमिकतामा राखेर वकालत गर्दै आएपनि व्यवहारमा त्यस्तो नदेखिएको भन्दै उनीहरुले कृषक मालिक हुने अवस्था कहिले नआएको गुनासो पोखे । कृषकले आफ्नो उत्पादन बजार सम्म पु-याएपनि विचौलियाहरुले आफ्नो तरिकाले खरिद तथा विक्रि गर्दा कृषकहरु मारमा पर्दै आएको सचिव कुँवरले बताइन । स्थानिय सरकारले कृषकहरुका लागि बजारमा थोक पसल सञ्चालन, टोल टोलमा संकलन केन्द्रको व्यवस्था गर्न सके कृषकहरुको उत्पादन सिधै उपभोक्ताहरु सम्म पुग्ने वातावरण बन्ने र विचौलियाबाट कृषकहरु ठगिने समस्याको समाधान समेत हुने उनको भनाई छ ।

यसैविच ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली, उप–प्रमुख करमती पुन सहितको टोलीले उक्त सामुहिक तरकारी खेतीको अवलोकन गरेको छ ।

सो अवसरमा बोल्दै नगर प्रमुख नेपालीले नमुना कृषक समुहले सामुहिक रुपमा गरेको तरकारी खेती जिल्ला कै नुमना भएको बताए । नमुना कृषक समुहले जस्तै अन्य स्थानका बासिन्दाले पनि सामुहिक रुपमा सहकार्य गरेर व्यवसाय गर्न सके जिविको पार्जनका साथै रोजगारीको सृजना समेत हुने उनले बताए ।

ढोरपाटन नगरपालिकाले कृषि क्षेत्रको विकास र प्रवद्र्धनमा विशेष जोड दिएको बताउँदै नगर प्रमुख नेपालीले उक्त नमुना कृषक समुहका लागि नगरपालिकाबाट बजेट तथा अनुदानको व्यवस्था समेत गरिदिने प्रतिबद्धता जनाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *