हिमपातले खानी, गादी र भूजीखोला बिद्युत आयोजनाहरुमा क्षेती : दर्जनौ गाउँका हजारौँ बासिन्दा अन्धकारमा !

सुमन सुनार, बुर्तिबाङ २०७५ माघ १५ । हिमपातका कारण विद्युत पोल भाँचिए पछि ढोरपाटन नगरपालिका वडा नं. ६ र वडा नं. ९ का करिव ६ सय ५० घरधुरी विगत ४ दिन देखी अन्धकारमा बस्न बाध्य भएका छन् । गत शुक्रबार राती वर्षा संगै भएको भारी हिमपातका कारण ढोरपाटन नगरपालिका वडा नं. ६ का स्थानिय बासिन्दाले उपभोग गर्दै आएको खानीखोला लघु जलविद्युत आयोजना र गादिखोला लघु जलविद्युत आयोजनाको विद्युत पोल भाँचिनुका साथै विद्युतका तार चुँडिएर विद्युत सेवा अवरुद्ध भएपछि वडा नं. ६ का करिव ३ सय ६० घराधुरी विद्युत उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका हुन् । त्यसैगरी वडा नं. ९ का स्थानिय बासिन्दाले उपभोग गर्दै आएको भुजीखोला चौथो लघु जलविद्युत आयोजनाको पनि विद्युत पोल भाँचिनुका साथै विभिन्न ठाउँमा तार चुँडिएर विद्युत अवरुद्ध भएपछि त्यहाँका करिव ३ सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।

खानीखोला लघु जलविद्युत आयोजनाका म्यानेजर ज्ञान बहादुर सिर्पालीका अनुसार हिमपातका कारण खानीखोला लघु जलविद्युत आयोजनाको १७ ओटा फलामे पोल भाँचिएर ढलेको छ भने विभिन्न स्थानमा विद्युत तार चुँडिएको छ । वडा नं. ६ को चामिद्धार, खानी, खोरीया, ढेङ्ग्रे, काम्लोपाते, लाकुम र धुपीचौरका १ सय ५५ घरधुरीले उपभोग गर्दै आएको उक्त जल विद्युत आयोजनाको विद्युत आपुर्ती बन्द भएपछि उनिहरु बत्ति बाल्न, मोवाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कम्यूटरको प्रयोग गर्नबाट बञ्चित भएका छन् भने विद्युतका माध्यमबाट चल्ने कुटानी पिसानी मिल, फर्निचर लगायतका विभिन्न विद्युतीय सामाग्री ठप्प रहेको आयोजनाका म्यानेजर सीर्पालीले बताए । विद्युत निर्माणका क्रममा आर्थिक अभाव भएपछि ३० मिटरको दुरीमा पोल राखिनु पर्नेमा करिव १ सय मिटरको दुरीमा पोल राखिकाले तारको लोड र हिमपातका कारण १७ ओटा फलामे पोल भाँचिएको उनले बताए । त्यसैगरी अन्य पोलहरु पनि जीर्ण अवस्थामा रहेको भन्दै कुनै पनि बेला भाँचिन सक्ने सीर्पालीको भनाई छ । हाल तत्कालका लागि पोल भाँचिएका स्थानमा काठेपोल परिवर्तन गरिने र विद्युत सुचारु हुन अझै करिव १० दिन लाग्ने म्यानेजर सिर्पालीले बताए ।

२० किलोवाट क्षमता रहेको उक्त जलविद्युत आयोजनाका उपभोक्ताले पटक÷पटक यस्ता समस्या भोग्दै आएको म्यानेजर सीर्पालीको भनाई छ । गत २०७३ साल साउन १० र ११ गते खानी चामिद्धार खोलामा आएको बाढीले आयोजनाको करिव ७० मिटर कुलो सहित ३ हजार मिटर विद्युत तार बगाइदिएको थियो । आयोजनाको विद्युत पोल सहित तारमा पुगेको क्षतीको व्यवस्थापन भएपनि अझै सम्म स्थायी रुपमा व्यवस्थित कुलो निर्माण गर्न नसकिएको र सामान्य अस्थायी कुलोको निर्माण गरेर सञ्चालन गरिएको उनले बताए । कुलो मर्मतका लागि विभिन्न निकायमा माग गरिए पनि सुनुवाई नभएको श्रीपालीको गुनासो छ ।
वर्षेनी जलविद्युत आयोजनामा आउने समस्याका कारण सास्ती खेप्दै आएका त्यहाँका उपभोक्ताहरु हिमपातका कारण विद्युतका पोल भाँचिए पछि झन मारमा परेको आयोजनाका म्यानेजर सिर्पालीले बताए । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको करिव २४ लाख रुपैँया आर्थिक सहयोग र १९ लाख रुपैयाँ जनश्रमदान गरी कुल ४५ लाखको लागतमा गत २०६६ सालमा उक्त जलविद्युत आयोजना निर्माण गरिएको थियो ।

यता वडा नं. ६ स्थित गादीखोला लघु जलविद्युत आयोजनाको पनि हिमपातका कारण विभिन्न स्थानमा पोल भाँचिनुका साथै विद्युुत तार चुँडिएपछि विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत सेवा अवरुद्ध भएपछि मोराङ, गादीखोला, पुरानोगाउँ, छालहाल्ना, छहरा लगायतका करिव २ सय ५ घरधुरी विद्युत उपभोक्ता विगत चार दिन देखि अन्धकारमा बस्न बाध्य भएको विद्युत उपभोक्ता समितिका सल्लाहकार दुर्गा बहादुर भण्डारीले जानकारी दिए । सल्लाहकार भण्डारीका अनुसार आयोजनाको विद्युत सेवा अवरुद्ध हुँदा नेपाल टेलिकमको सेवा समेत अवरुद्ध भएको छ । जसका कारण ढोरपाटन नगरपालिकाको ५, ६, ७, ८ र ९ नं. वडाका नागरिकहरु नेपाल टेलिकमको सेवाबाट बञ्चित भएका छन् । उक्त जलविद्युत आयोजना मर्मत गरी सञ्चालन गर्न करिव १ हप्ता भन्दा बढि समय लाग्ने सल्लाहकार भण्डारीले ईबागलुङलाई बताए । २२ किलोवाट क्षमता रहेको उक्त जलविद्युत आयोजना गत २०६६ सालमा निर्माण गरिएको थियो ।

उता ढोरपाटन नगरपालिका वडा नं. ९ का स्थित भुजीखोला चौंथो लघु जलविद्युत आयोजनाको पनि हिमपतका कारण १८ ओटा विद्युत पोल भाँचिनुका साथै विभिन्न स्थानमा विद्युत तार चुँडिएर विद्युत सेवा अवरुद्ध भएको आयोजनाका उपभोक्ता समिति उपाध्यक्ष राम बहादुर घर्ति मगरले ईबागलुङलाई जानकारी दिए । विद्युत सेवा अवरुद्ध हुँदा वडा नं. ९ को सानो कुँगु, ठुलो कँुगु, लाकुरीबोट, सुकुरदुङ, जुरी, सुप्राङ, सिद्रुका गरी २ सय ५२ घरधुरी विद्युत उपभोक्ता अन्धकारमा रहेको उपाध्यक्ष घर्ति मगरले बताउनुभयो । विद्युत मर्मतका लागि ढोरपाटन नगरपालिकामा सहयोगका लागि निवेदन दिइएको र नगरपालिकाबाट पोल र तारको समयमै व्यवस्था भएमा करिव १० देखि १५ दिन भित्रमा विद्युत सेवा पुनः सुचारु हुने उपाध्यक्ष घर्ति मगरले बताए ।

यसैविच वडा नं. ४ मा पनि हिमपातका कारण धिरी लघु जलविद्युत परियोजनाको विभिन्न स्थानमा विद्युत पोल भाँचिए पछि अवरुद्ध विद्युत सेवा सोमबार देखि सञ्चालनमा भएको छ । वडा नंं. ४ का वडा अध्यक्ष तिलक पुनका अनुसार विद्युत पोल भाँचिएका र तार चुडिएका स्थानमा निरन्तर तिन दिनको मर्मतको प्रयास पछि विद्युत सेवा पुनः सञ्चालन आएको छ । वडा नं. ४ को धिरी, कुताखोला, आरन डेरा, घुलघुले, किरी, फलामखानी, झासारी, ठुलोबन लगायतका स्थानिय बासिन्दाले उपभोग गर्दै आएको विद्युत हिमपातका कारण विद्युत पोल भाँचिए पछि तिन दिन विद्युत अवरुद्ध भएको थियो ।

तस्विर साभार – ढोनपां. ४ का वडा अध्यक्ष तिलक पुन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *