चौरासी पूजामा गरिएको तुलादानको रकम विद्यालयलाई सहयोग !

थम्मन थापा बागलुङ २०७५ माघ १४ । गल्कोट नगरपालिका ७ मल्मकी मनकुमारी थापाको चौरासी पूजामा गरिएको तुलादानबाट सङ्कलित रकम विद्यालयलाई प्रदान गरिएको छ । थापाका नाती युवा उद्यमी तथा सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका सहसचिव तुलविर थापाले उक्त रकम सोही ठाउँको प्रगति आधारभूत विद्यालयलाई रु एक लाख ५ सय ५ शुक्रबार हस्तान्तरण गरेका हुन् ।

उक्त सहयोग रकम विद्यालयमा सञ्चालित बाल विकास केन्द्रको अक्षयकोषमा राखिने प्रगति बाल विकास केन्द्र मल्मका अध्यक्ष लोक बहादुर थापाले जानकारी दिए ।

“अक्षयकोषबाट आउने ब्याज रकम बाल विकासमा खर्च गर्छौँ”, प्रगति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले भने। उनले आर्थिक स्रोतको अभावमा बाल विकास केन्द्र सञ्चालनमा कठिनाइ आइपरेको उल्लेख गरे । बालबालिकाको शैक्षिक विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको थापाका नाति तुलवीरले बताए ।

मनकुमारी थापाका नातीहरु वैदेशिक रोजगारीमा रहनुभएका तुलवीर र उहाँका दाजु टेकबहादुरले यसअघि पनि सोही विद्यालयलाई रु दुई लाख ११ हजार १११ सहयोग प्रदान गरेका थिए । अङ्ग्रेजी माध्यमबाट पढाइ हुने उक्त विद्यालयमा १२३ र बाल विकास केन्द्रमा २३ बालबालिका अध्ययनरत छन् । थापाको गत माघ ८ गते चौरासी पूजा गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *