निसीखोला गाउपालिका वडा नं २ मा आगलागीका घटना बढ्दै !

झम सिर्पाली, निसीखोला बागलुङ २०७५ माघ ९ । गएराति निसीखोला गाउपालिका वडा नं २ सिँदेरीमा स्थानिय फुर्सी बिश्वकर्माको गोठमा आगलागी भएको छ । जाडोबाट बचाउन भन्दै भैंसीको गोठमा बालिएको आगो सल्किएर आगलागी भएको पारिवारिक श्रोतले जनाएको छ ।

घटना पछि इलाका प्रहरी कार्यलय झिवाखोलाको टोलीले स्थलगत रिपोर्ट लिएको छ । प्रहरीका अनुसार आगलागी बाट रु ३ लाख बराबरको क्षति हुनुका साथै आगो लागे पछि भैंसी फुकाउन जाने क्रममा स्वयं फुर्सी बिश्वकर्मा समेत आगोले पालिएकीे छन् । आगलागीबाट गोठ पुर्ण रुपमा ध्वस्त भएको छ गोठमा रहेका घाँसपात, काठ दाउरासमेत नष्ट हुनुका साथै एउटा भैंसी समेत जलेर घाइते भएको छ । घाईते विश्वकर्मालाई उपचारका लागि बुर्तिबाङ स्वास्थ्य चौकी तर्फ लगिएको निसीखोला गाउँपालिका वडा नं २ का वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए ।

त्यस्तै यहि माघ ७ गते मात्रै निसीखोला गाउँपालिका वडा नं २ कै बायखोलामा अचानक विद्युत सर्ट भइ आगलागी हुँदा स्थानिय डिल बहादुर परियारको घर र तम बहादुर परियारको गोठ जलेर पुर्ण रुपमा नष्ट भएको थियो । त्यहाँ पनि अन्नपात, भाडाबर्तन, नगद रु। १५००० र घरगोठ गरी १५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यलय झिवाखोलाका प्रहरी नायव निरिक्षक ऋण बहादुर वैदाबारले जानकारी दिए । प्रहरीका अनुसार झण्डै एक महिना अघि निसीखोला २ काल्नेचौरका नोक बहादुर खत्री र जोख बहादुर खत्रीको संयुक्त रुपमा रहेको दुईतले ढुङ्गाको बङ्गालो अज्ञात व्यक्तिद्वारा आगजनी गरिँदा काठ दाउरा र घाँससहित जलेर पुर्ण रुपमा नष्ट हुँदा १२ लाख क्षति भएको थियो र झन्डै ३ महिना अघि काल्नेचौरकै झम बहादुर घर्तिको घरमा बिजुली सर्ट भई आगलागी हुँदा दुईतले घरमा पुर्ण रुपमा क्षति पुगेको जनाईएको थियो ।

आगलागी, बाढी पहिरो चट्याङ जस्ता प्राकृतिक प्रकोप पीडितलाई राहत भने मानवीय क्षति भएमा ३० हजार घर क्षति भएमा रु १५ हजार गोठका लागि रु ५ हजार गाईभैंसी मरेमा रु ३ हजार र बाख्रा मरेमा रु १ हजार राहतको वयवस्था रहेको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए । गाउँपालिका अध्यक्ष पौडेलले अग्निपीडितलाई गाउँपालिकाको व्यवस्था अनुसारको राहत प्रदान गरिएको र अन्य थप राहतको लागि प्रहरी मुचुल्कासहित नेपाल रेडक्रस सोसाइटीको कार्यलयमा निबेदन गर्न समेत आग्रह गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *