मध्यराति बुर्तिवाङ बजार फुलबारी टोलको बाख्रा खोरमा आगोलागी, भैँसीचोरहरुकै करामत ?

तीन महिनामा चार श्रृंखलावद्ध अपराध, दोषि पत्ता नलाग्दा बुर्तिवाङबासी चिन्तित !

बुर्तिवाङ २०७५ माघ ७ । ढोरपाटन नगरपालिका- १ बुर्तिवाङ बजार लक्ष्मीकुण्डका हार्डवयर व्यापारी टीकालाल सुवेदीले, आफन्त दुग्धडेरी सन्चालक कृष्ण खनालको सेरा पुल नजिक फुलबारी टोलमा रहेको जग्गामा बनाएको बाख्रा खोरमा अज्ञात व्यक्तिले आगो लगाई दिएर त्यस्मा रहेका ३ वटा बाख्राहरु मरेका छन् । मध्यरात्रि १२ बजेको समयमा बाख्राखोरमा आगोलागे पछी स्थनीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो । कर्कट पाताले बनाएको बाख्राखोरमा लगाएको आगोको प्रकृति हेर्दा कुनै ज्वलनशील पदार्थ हालेर आगलागी गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

आगो कस्ले के कारणले लगायो भन्ने बारे स्थानीयले अनभिज्ञता जनाएका छन भने प्रहरीले अहिले सम्म अभियुक्त पक्राउ गर्न सकेको छैन ।

गत २०७५ कात्तिक २४ गते राति अज्ञात समुहले सुवेदीको सेरा पुल नजिक खनालको जगामा बनाएको गोठमा बाँधी रहेको लैनो भैँसी फुकाएर भूजीखोला तिर लैँजादै गर्दा देब्रे सिङ भाँचिएको अवस्थामा भैँसी चम्किएर उम्कन सफल भएको स्थानीयको भनाई थियो । त्यस घटनाको हप्तादिन पछी मंसिर ३ गतेको विहानी पख ३ बजेको समयमा अज्ञात समुहले सोहि लैनौ भैँसी फुकाएर काट्न लगेकोमा भैँसी फुत्किएर मानवबस्ती भित्र पसेपछी बँचेको थियो ।

अज्ञात समुहले गोठ नजिकै करिब ५ लिटर घरेलु मदिरा, मासु काट्न बिच्छ्याउने प्लास्टिक, एउटा जुत्ता समेत छोडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको थियो ।

चोरी गर्ने गिरोहले भैंसी कब्जामा लिन नसकेपछि सुवेदीको बारीमा लगाईएको काउली बन्दा तरकारी बाली उखेलेर बडीगाड नदीमा फाल्नुका साथै सुवेदीको गोठ नजिकै कृष्ण खनालको घरमा डेरा गरी बस्दै आएका जितबहादुर पुनको परिवारलाई भित्र सुतेको अवस्थामा बाहिरबाट चुकुल लगाएर घरमा तोडफोड गर्दा झयालका सिसा फुटेको थियो ।

गत पुस ६ गतेको बिहानी पख साढे ३ बजेको समयमा अज्ञात समुहले सोहि स्थानमा दुग्ध डेरी सन्चालक खनालको घरमा आगलागी गरिदिँदा घरभित्र रहेका जिन्सी सरसामान गरी रु २३ लाख बराबरको क्षती भएको प्रहरीले मुचुल्का उठाएका थियो भने छिमेकीहरुले घरको साँचो खोलेर गाईबस्तु बाहिर निकाली दिएका थिए ।

घटनाका चौथो श्रृंखला, आज विहान सुवेदीकै बाख्राखोरमा आगो लगाई दिएर तीनवटा बाख्रा मारिए पछी यी सबै घटनाहरुमा एउटै समुह सक्रिय रहेकोे विश्वास गरिएको छ । तीन महिना भित्र घटित यी चार घटनाहरुमा संलग्न अपराधीहरु पत्ता लगाई कार्बाही गर्न स्थानीय सरकार, प्रशासन र प्रहरी पक्षबाट चासो नदिनाले अपराधीहरुको मनोबल बढ्दै गएको स्थानीयको बुझाई छ भने जस्ले जे गरे पनि कुनै कार्बाही नगरिने हो भने हामी कसरी सुरक्षित बन्छौ ? भन्ने बुर्तिवाङबासीको प्रश्न छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले घटनाको छानबिन गरी दोषिलाई कार्बाही गर्न निर्देशन दिई सकेको बताएका छन् । प्रनाउ रेग्मीले अपराधीका बारेमा पीडित पक्षले प्रहरीलाई सहयोग गर्न आग्रह समेत गरेका छन् भने ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख ओमप्रकाश यादवले अपराधी पत्ता लगाउने कार्यमा प्रहरी सक्रिय रहेको जानकारी दिँदै पीडितहरुले अपराधीहरु पत्ता लगाउन सहयोग गर्नुपर्ने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.