सहकारी बैंक बागलुङ शाखाको अर्धवार्षिक समीक्षा सम्पन्न : जीसी र थापा सम्मानित !

बागलुङ २०७५ माघ ४ । राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको अर्धवार्षिक समिक्षा कार्यक्रम बिहीवार सम्पन्न भएको छ । शाखा समन्वय उपसमितिका पदाधिकारी, सदस्य, सल्लाहकार र कर्मचारीहरुबीच शाखाले आर्थिक वर्ष २०७५÷०७६ को पुस मसान्तमसम्मको कारोबारको समिक्षा भएको हो ।

शाखाले यस वर्षको ६ महिनामा ३३ लाख मुनाफा आर्जन गर्न सफल भएको शाखा प्रमुख शैली खड्काले जानकारी दिईन । बागलुङ शाखामा हाल २ सय ४० वटा सहकारी संघ संस्था शेयर सदस्य रहेको, ३ करोड ७० लाख शेयर रकम, ३३ करोड ७ लाख निक्षेप र १० करोड कर्जा लगानी रहेको शाखा प्रमुख खड्काले बताईन ।

शाखाले गत आर्थिक वर्षमा ३२ लाख मुनाफा आर्जन गरेको थियो, यो ६ महिनामा ३३ लाख पुगिसकेको छ । अन्य कारोबार सन्तोषजनक भएपनि कर्जा लगानी कम भएकाले कर्जा लगानी वृद्धि गर्नका लागि योजना बनाएर अगाडि बढ्न सहभागीहरुले आग्रह गरेका छन् ।

बैंकका नवनिर्वाचित सञ्चालक तथा गण्डकी प्रदेशका इन्चार्ज रामबहादुर जिसीले सहकारी संघ संस्थाहरुले सहकारी बैंंकबाट कर्जा लिएर आफ्ना सदस्यहरुलाई व्यवसायिक बनाउन आग्रह गरे ।

सहकारी बैंकको दोस्रो शाखाका रुपमा स्थापित बागलुङ शाखामा हाल करिब ७० वटा सहकारी संघ संस्थाहरुले नियमित कारोबार गर्दै आइरहेका छन् ।
यसैबीच बैंकको १५ औं वार्षिक साधारणसभाबाट सञ्चालक पदमा गण्डकी प्रदेशका तर्फबाट निर्विरोध निर्वाचित रामबहादुर जिसीलाई शाखाको तर्फबाट सम्मान तथा वधाई ज्ञापन गरिएको छ ।

शाखाका सल्लाहकार तथा संघीय सांसद मनकुमारी केसी, काठेखोला गाउँपालिकाका अध्यक्ष तथा शाखा समन्वय समितिका सदस्य अम्मरबहादुर थापा, शाखाका सल्लाहकार तथा जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, शाखाका सहसंयोजक अशोकगोविन्द राजभण्डारी, नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका लेखा सदस्य खीमबहादुर कार्की, जिल्ला सहकारी संघका सल्लाहकार तोयानाथ गौतम, बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष दुर्गाबहादुर कुँवर, जिल्ला सहकारी संघका कोषाध्यक्ष अञ्जु जि.सी, महिला सहकारी सञ्जाल बागलुङका अध्यक्ष लिला खड्का, शाखा समन्वय उप–समितिका सदस्यहरु कृष्णप्रसाद पौडेक (कुमार), रतनप्रसाद मलेपति, शाखा प्रमुख शैली खड्का लगायत शाखा समन्वय उप–समितिका पदाधिकारी तथा सदस्यहरुले नवनिर्वाचित जिसीलाई सम्मान गर्नुका साथै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

सोही अवसरमा त्रिभुवन विश्व विद्यालय सभा सदस्यमा मनोनयन भएका धौलागिरि बहुमुखी क्याम्पसका सह–प्राध्यापक तथा राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका सल्लाहकार डा.दीनबहादुर थापालाई पनि सम्मान गरिएको थियो । बैंकका सञ्चालक रामबहादुर जिसी, सांसद मनकुमारी केसी लगायतले प्राज्ञिक व्यक्तित्व थापालाई सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *