बुर्तिवाङमा विभिन्न सचेतनामुलक कार्यक्रम गरी राष्ट्रिय भूकम्प दिवस मनाईयो !

सुमन सुनार, बुर्तिबाङ २०७५ माघ ३ । बुर्तिवा बजारमा बुधवार २१ औँ भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाईएको छ । वि.सं १९९० माघ २ गते भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न सचेतनामुलक कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको हो ।

यसैविच ढोरपाटन नगरपालिकाले पनि भुकम्प स्मृति, भुकम्पीय पुर्व तयारी सचेतना प्रभातफेरी तथा सभाको आयोजना गरी दिवस मनाएको छ । नगर कार्यपालिकाको कार्यालयबाट “राष्ट्रिय भुकम्प सुरक्षा दिवस–२०७५ सफल पारौँ, भुकम्प प्रतिरोधी संरचना निर्माण गरौँ, राष्ट्रिय भवन संहिता पालना गरौँ” लगायतका विभिन्न सचेतनामुलक प्लेकार्ड सहितको ¥याली निकालिएको थियो ।

ढोरपाटन नगरपालिकाका जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, विद्यार्थी, स्थानिय समाजसेवी, बुद्धिजिवि, पत्रकार लगायतको सहभागीतामा ¥याली निकालिएको थियो । ढोरपाटन नगर कार्यपालिकाको कार्यालयबाट सुरु भएको ¥यालीले बुर्तिबाङ बजार परिक्रमा गरी पुनः नगर कार्यपालिकाको कार्यालयमा आएर कोण सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले भुकम्पले भन्दा पनि मानिसहरु आफैले निर्माण गरेका संरचनाहरुले बढि क्षती व्यहोर्नु परेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख नेपालीले भुकम्पबाट हुन सक्ने संभावित जोखिमबाट बच्नका निम्ती आफै सचेत हुन आवश्यक रहेको भन्दै समयमै सावधानी अपनाउन सके भुकम्पबाट हुन सक्ने जोखिम घट्ने बताए । नगर प्रमुख नेपालीले सरकारले भुकम्प पीडितका लागि उपलव्ध गराउने अनुदान रकम न्युन आय भएका परिवारको लागि निकै कम भएको समेत बताए । तीन लाख रुपैयाँले घर निर्माण हुन नसक्ने भएकाले पीडितले घर भत्काएर निर्माण थाले पनि निर्माण सम्पन्न गर्न निकै कठिन भएको भन्दै सरकारव्दारा अनुदान रकम बढाउनुपर्ने माग नगरप्रमुख नेपालीको माग थियो ।

यस्तै सभामा ढोरपाटन नगरपालिकाकी उप–प्रमुख करमती पूनले बोल्दै विक्रम संबत १९९० र २०७२ को भुकम्पका कारण भएको मानविय तथा भौतिक क्षती आगामी दिनमा दोहोरीन नदिन सवै सचेत हुन आवश्यक रहेको बताईन । भुकम्प प्रतिरोधात्मक घर निर्माण र नेपाल सरकारको भवन निर्माण आचार संहिताको पूर्ण पालना गर्न आवश्यक रहेको उप–प्रमुख पूनको भनाई थियो ।

त्यस्तै सभामा एकिकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख नन्दराम भुषाल, बागलुङ उद्योग बाणिज्य संघ इकाई समिति बुर्तिबाङका अध्यक्ष चिन्तामणी शर्माले पनि बोलेका थिए ।

सोही अवसरमा ढोरपाटन नगरपालिका इन्जिनियरहरुले ढोरपाटन नगरपालिकामा पुनः निर्माणको अवस्था, भुकम्प पूर्व तयारीका सचेतना, भवन निर्माण आचार संहिता लगायतका विषयमा सहजीकरण गरेका थिए । ढोरपाटन नगरपालिकामा रहेका ४५ घर परिवार भुकम्प पिडित मध्य ३१ घरपरिवार भुकम्प पिडितको घर पुनःनिर्माण भैसकेको र बाँकी निर्माणको क्रममा रहेको सो अवसरमा जानकारी गराइएको थियो ।
ढोरपाटन नगरपालिका नगर कार्यपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलको अध्यक्षता रहेको सभामा वडा नं. ३ का वडा अध्यक्ष हेमेन्द्र घर्ति मगर, वडा नं. ५ का वडा अध्यक्ष लक्षमण पून, वडा नं. ८ का वडा अध्यक्ष नन्दे सुनार, वडा नं. १ का वडा सदस्य असारी वि.क. लगायतको विशेष उपस्थिति रहेको थियो ।

वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारीको स्वागत मन्तब्य रहेको सभाको सञ्चालन ढोरपाटन नगरपालिकाका इन्जिनियर नारायण पौडेलले गरेका थिए ।

नेपाल भुकम्पको जोखिमका हिसाबले विश्वको ११ औँ स्थानमा रहेको छ । नेपालमा हरेक ८० देखि १ सय वर्षको अन्तरालमा ६ देखि ८ रेक्टरस्केलको भूकम्प जाने गरेको पाइन्छ । पछिल्लोपटक २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालको एकतिहाई क्षेत्रफललाई प्रभावित बनाएको यो भूकम्पमा परि झण्डै नौ हजार मानिसले जीवन गुमाए भने आठ लाखभन्दा बढी घर पूर्णरूपमा क्षति भए । त्यतिबेला क्षति भएका घरमध्ये अहिलेसम्म ३ लाख ४८ हजार ९ सय ९० घरको पुननिर्माण सम्पन्न भएको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा समेत पुननिर्माणको काम प्रभावकारी हुन सकेको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *