राज्यले स्वास्थ्य विमाको रकम सहकारीद्वारा सञ्चालित अस्पताललाई पनि उपलव्ध गराउन आग्रह !

बागलुङ, २०७५ पुस ३० । राज्यले स्वास्थ्य विमा अन्तरगत जनतालाई प्रदान गर्ने सेवा सुविधा सहकारीमार्फत सञ्चालित अस्पतालहरुमा दिन बागलुङका सहकारीकर्मीहरुले माग गरेका छन् ।

धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्था लिमिटेड बागलुङको सोमवार आयोजित चौथो वार्षिक साधारणसभाका सहभागी शेयर सदस्यहरुले यस्तो माग गरेका हुन् । संविधानले किटान गरेको ३ खम्बे अर्थनीति अनुसार सहकारी एउटा महत्वपूर्ण क्षेत्र भएकाले राज्यले दिने सेवा सुविधामा पनि समान सहभागिता आवश्यक रहेको सहभागीहरुको भनाइ थियो ।

राज्य एक्लैले जनतालाई सहज र सर्वसुलभ सेवा प्रदान गर्न सक्दैन, निजी क्षेत्रमा सर्वसाधारणको पहुँच पुग्दैन, त्यसैले सहकारी मार्फत सञ्चालित अस्पतालहरुको क्षमता विकाससंगै राज्यका सेवा सुविधा प्रदान गर्न सहज हुने सहभागीहरुको भनाइ थियो ।

साधारणसभाको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उद्घाटन गर्दैे सहकारीमार्फत स्वास्थ्य सेवा सञ्चालन गरेर समाजमा सहकारीको आकर्षण बढेको बताए । सहकारी समाज रुपान्तरणको महत्वपूर्ण माध्यम हो, आम जनताका बीचमा जान सक्ने र समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने यो क्षेत्रलाई सबै मिलेर अगाडि बढाउनु पर्नेमा पौडेलको जोड थियो । यसले दिने सेवा सुविधालाई थप व्यवस्थित गराउनका लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

साधारणसभाले सहकारीमार्फत सञ्चालित सेवा क्षेत्रका व्यवसायहरुमा लगाइदै आएको करमा छुट दिन, राज्यका तर्फबाट स्वास्थ्य क्षेत्रमा प्रदान गरिने सबै खाले कार्यक्रममा सहकारी अस्पताललाई अनिवार्य जोड्न तथा सहकारीमार्फत सञ्चालित अस्पतालहरुमा प्रविधि सहयोग गर्न स्थानीय, प्रदेश र संघीय सरकारसंग माग गर्ने निर्णय गरेको छ ।

संस्थाको कार्यक्षेत्र विस्तार गरी गण्डकी प्रदेश स्तरीय बनाइ स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने, स्वास्थ्य सेवासंगै स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने, फोहोर व्यवस्थापन तथा वातावरणको क्षेत्रमा काम गर्ने, सहकारीहरुबीच एकीकरण गरेर अगाडि बढ्ने, सहकारी ऐन अनुसार अन्य सहकारी संस्थाहरुलाई स्वास्थ्य सहकारीको शेयर सदस्य बनाउने लगायतका निर्णय गरेको संस्थाका सचिव तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले जानकारी दिए ।

साधारणसभाले सचिव जिसीद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष ईश्वरलाल राजभण्डारीको आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक हरिप्रसाद शर्माले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिए ।

कार्यक्रम संस्थाका अध्यक्ष डिलबहादुर कार्कीको अध्यक्षता, सचिव रामबहादुर जिसीको सञ्चालन र सञ्चालक सदस्य थानेश्वर सुवेदीको स्वागतमा सम्पन्न भएको थियो ।

साधारणसभामा डा.गोविन्द गौतम, डा. लक्ष्मी आचार्य लगायतले सहकारी मार्फत स्वास्थ्य सेवा सञ्चालनका संभावना, अवसर र चुनौतीका बारेमा जानकारी गराएका थिए ।

साविक धौलागिरि अञ्चललाई कार्यक्षेत्र बनाएर २०७१ सालदेखि निलगिरी सहकारी अस्पताल सञ्चालन गरेको संस्थामा हाल १ सय ७४ जना शेयर सदस्य, १ करोड ७४ लाख शेयर पूँँँजि र ३ करोड ३० लाख लगानी रहेको संस्थाका प्रवन्धक सापकोटाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *