जलजला गाउँपालिकाको आन्दोलन सदरमुकाममा: मिलनचोक केन्द्र माग गर्दै प्रशासनमा धर्ना !

महेन्द्र केसी, पर्वत २०७३ चैत ३ । यहि फागुन २७ गते घोषणा भएको स्थानीय तहको केन्द्र पायक नपरेको भन्दै पर्वतमा आन्दोलन शुरु भएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिकाको केन्द्र मिलनचोक क्षेत्रमा कायम गर्नुपर्ने माग गर्दै माझफाँटका केही वडा, धाईरीङ, शालीजा, नाग्लीवाङ र बनौका बासिन्दाले आन्दोलन चर्काएका हुन् ।

स्थानीय तह पुनसंरचनाका क्रममा जलजला गाउँपालिकाको केन्द्र साविक माझफाँट गाविसको मल्लाज कायम भएको छ । मल्लाज अपायक पर्ने र सेवा सुबिधा लिन जान असुबिधा हुने भन्दै गाउँपालिकाको केन्द्र उद्घाटनका लागि मल्लाज आउने टोलीलाई लक्षित गरेर आन्दोलनमा उत्रिएका छन् । उक्त क्षेत्रका बासीन्दाले विहिबार जिल्लामा कालो झण्डासहित ¥याली निकालेर केन्द्रको विरोध गरेका छन् ।

जलजला गाउँपालिकाको केन्द्र उद्घाटन गर्नको लागि कोहि उक्त क्षेत्रमा प्रवेश गरे आफूहरुले त्यसै नछा्ड्ने भन्दै आन्दोलनकारीले नाराबाजी सहित जिल्ला समन्वय समितिको कार्यालय अगाडि धर्नामा बसेका छन् । उनीहरुले जलजला गाउँपालिकाको केन्द्र मिलनचोक राख्नुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीको ध्यानाकर्षण गराएका छन् ।

साविक धाईरीङ, बनौ, शालीजा, नाग्लीवाङका प्रतिनिधिको टोलीले जिल्ला समन्वय समिति र प्रशासन कार्यालयमा माग सम्बोधनको विषयमा ज्ञापनपत्र समेत बुझाएको छ । जलजला गाउँपालिकामा बार्सखर्क, माझफाँट, लेकफाँट, शालीजा, धाईरीङ, बनौ र नाग्लीवाङ गाविस समावेश गरिएको छ । आन्दोलनकारीले मिलनचोक, लुङ्दी, पर्वत बेनी क्षेत्रमा केन्द्र बनाउन माग गरेका छन् । मिलनचोकनै केन्द्र हुनुपर्ने साविकको माझफाँट गाविसका पर्वत बेनी,लुङदी र खोलाखेतका वासीन्दाको समेत माग रहेको छ ।

प्रमुख जिल्ला अधिकारी शम्भूप्रसाद मरासिनीले आवश्यक पहल गर्ने बताए । उनले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तोकेका गाउँपालिका अनुसार देशभर कतिपय ठाउँमा केन्द्र नमिलेको भन्दै त्यसको विरोध भैराखेको बताउँदै त्यसको बारेमा आवश्यक प्रक्रिया के छ त्यसको बारेमा स्थानिय विकास अधिकारीसँग समन्वय गरेर त्यसको बारेमा जानकारी गराउने बताए । उनले केन्द्रको धाराणा अनुसारनै आफूहरु अगाडि बढ्ने भन्दै त्यसको लागि केन्द्रमा खबर गर्ने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.