आकर्षक पर्यटकीय गन्तब्य बन्दै तुरतुरेताल : यसको संरक्षण, विकास र उचित व्यवस्थापन आवश्यक !

योगेन्द्र विश्वकर्मा, बुर्तिवाङ २०७५ पुस २५ । ढोरपाटन नगरपालिका र बडीगाड गाउपालिकाको सीमानामा रहेको तुरतुरे देउरालीबाट खसेको भीषण पहिरोबाट बडीगाड खोला थुनिएर बनेको तुरतुरेतालमा नियमित रुपमा नौका बिहार सुरु गरिएपछी आन्तरिक पर्यटकहरुका लागि आर्कषक गन्तब्य बनेको छ । गत भदौ २९ गते राति भीषण पहिरो खसेर बनेको तालको दृश्यावलोकन गर्नेहरुको लामो ताँती लागिरहेकै अवस्थामा मंसिर १ गते देखी ९ गतेसम्म सन्चालित प्रथम बडीगाड महोत्सव तथा पौँदी न्वागी मेला २०७५ का अवसरमा पहिलो पटक तालमा नौका बिहार सुरु गरिएको थियो ।

प्राकृतिक विपदबाट उत्पन्न तुरतुरे तालमा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीको पहलमा गत मंसिर १४ गते देखी विधिवत नौका विहार (-याफ्टिङ) सञ्चालनमा आएको छ । डुवान प्रभावित सिमलचौरका पीडित परिवारहरुको पीडामा मल्हम लगाउने उद्देश्य सहित डुवान पीडितहरुको भेलाबाट दिलबहादुर कुमालको अध्यक्षतामा ७ सदस्यीय समिति बनाएर नौका बिहार सन्चालनमा ल्याईएको हो । नौका विहार (-याफ्टिङ) सञ्चालनमा आए पछि बस्ती डुबानको पीडामा रहेका पीडितहरुले त्यो पीडालाई बिस्तारै भुल्दै तुरतुरेतालमा रमाउन थालेको बताई रहेकाछन् । पछिल्लो समय ताल अवलोकन र नौका बिहारमा आउने पर्यटकहरुको संख्या दिन प्रतिदिन बढ्दै गएपछी पीडितहरुमा नयाँ सोँचको विकास सँगै उत्साह छाएको अनुभव गरिएको छ ।

मुलुकको एकमात्र शिकार आरक्ष रहेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण ढोरपाटनको अवलोकन/भ्रमणमा आउने हजारौँ आन्तरिक एवं बाह्य पर्यटकहरुका लागी प्राकृतिक बिपदबाट बनेको तुरतुरेताल थप आकर्षणको केन्द्र बन्दै गएको छ । ढोरपाटन,बुर्तिवाङ पुग्ने मध्यपहाडी लोकमार्ग छेउमै बनेको रमणीय तुरतुरेतालले नवागन्तुक कुन पर्यटकको मन नहर्ला ? लोकमार्ग छेउमै रहेको तुरतुरेताल नहेरौँ भनेपनि के गर्नु ? नहेरी सुखै छैन । जब ताल दृष्टिगोचर हुन्छ, तालको सौन्दर्यलाई देखेर कसको मन थामिएला ? त्यसैले भन्न सकिन्छ, प्राकृतिक बिपदबाट निर्मित तुरतुरेताल थुप्रै सम्भाव्यता सन्निहित पर्यटकीय स्थल बन्न सक्छ । यसको संरक्षण, विकास र उचित व्यवस्थापनका विषयमा सोँच्न ढिला गर्न हुन्न । तालको स्थायित्वका लागी अहिले देखिनै प्रयासको थालनी हुनु जरुरी छ ।

तुरतुरे ताललाई लिएर हरदम चिन्तन गरिरहने नगरप्रमुख नेपालीले हामीसंगको संक्षिप्त कुराकानीमा यसको संरक्षण, संवद्र्धन, उचित व्यवस्थापनका विषयमा भए गरिएका प्रयासहरुका बारेमा जानकारी दिएका छन् । उनले डुवान पीडितहरुका लागी भवन निर्माण र जस्तापाताको सहयोग गरेका छन् । कसरी हुन्छ पीडितहरुलाई राहत दिएर सन्तुष्ट पारेर तालको अधिकतम सदुपयोग गर्न सकिन्छ भन्ने हेतुले पीडितहरुबाट बनेको समितिलाई ढोरपाटन नगरपालिकाले डुबान प्रभाबित मानिसहरुको माताहतमा रहने गरि ४ वटा डुङ्गा ब्यबस्था गरिदिने निर्णय गरिसकेको र तुरुन्तै ल्याउने तयारीमा रहेको नगरप्रमुख नेपालीले जानकारी दिए ।

सुनौँ नगरप्रमुख देवकुमार नेपालीसंगको संक्षिप्त कुराकानी,

प्रत्यक दिन नौका विहार (-याफ्टिङ) का लागी सयौँको सङ्ख्यामा मानिसहरु यस ठाउँमा आईरहेका छन् । म्याग्दी, पर्वत, गुल्मी, स्याङ्जा, प्युठान काठमाडौ लगाएतका ठाउँबाट नौका विहार (¥याफ्टिङ) गर्न र ढोरपाटन शिकार आरक्षको अबलोकनको लागि आउने हजारौँ पर्यटकले तुरतुरे तालको अबलोकन गरिसकेको समितिका अध्यक्ष दिलबहादुर कुमालले ईबागलुङलाई बताए ।

अध्यक्ष कुमाल भन्छन्, ‘यस्तो बिपत नहुनु थियो भैहाल्यो, भए पनि यसलाई अब हामीले कसरी अधिकतम प्रयोग गर्न सकिन्छ भन्ने तर्फ लागिरहेका छौँ ।’

स्थानियहरुले उत्पादन गरेको फलफुल तरकारी त्यहि ताल वरिपरि बसेर बेचिरहदा र गाउँमा पर्यटकलाई पाहुनाको रुपमा स्वागत गर्न पाउँदा स्थानियहरु हर्षित भएका छन् । तर बन्दव्यापारका लागि उपयुक्त स्थानको व्यवस्थापन गर्न भने बाँकी नै छ । तालको आसपासमा चिया पसल, रेष्टुरेण्टको उपयुक्त व्यवस्था हुन सकेको देखिदैन । दिसापिसावका लगी शौचालय, आगन्तुकहरुका लागी विश्राम स्थल आदिको न्यूनतम व्यवस्था हुन ढिलाई हुँदा पर्यटकहरुले असुविधा महसूस गरिरहेको अवस्था छ । सुरक्षित रुपमा नौका बिहार गर्ने गराउने र कुनै अनेपक्षित घटनाबाट बच्न सुरक्षाको आवश्यक तारतम्य के कस्तो छ, नगरपालिकाले अनुगमन गर्नु पर्ने अवस्था टडकारो देखिएको छ । तालको संरक्षणको लागि तारबार, पर्यटकको लागि होमस्टे, ताल सम्म पुग्नको लागि पैदल यात्रा गर्न सहज बाटो, लगाएतका ब्यबस्था गर्नुपर्ने स्थानियको माग रहेको छ ।

अहिले बिभिन्न ठाउँबाट वनभोग (पिक्निक)को लागि प्रत्येक दिन ताल वरपर समुह समुहमा आउने गरेका छन् । बनभोजका लागी आउने समूहहरुका लागी उपयुक्त स्थानको व्यवस्थापन जरुरी छ । तालप्रतिको बढ्दो आकर्षण आफैमा राम्रो पक्ष हो, तर त्यसको सँगसँगै आगन्तुकहरुको न्यूनतम सुख सुविधाहरु प्रति सजग रहनु आवश्यक छ । स्थानीयहरुलाई नौका विहार (-याफ्टिङ) मार्फत वारिपारी गर्न सजिलो भएको छ भने खाली समयमा तालमा पासो थापेर माछा मार्ने काम पनि पीडितहरुले गरिरहेका छन् ।

नगरपालिकाले डुङ्गा ब्यबस्था गरे पछि त्यहाँबाट आएको आम्दानीलाई दुरुपयोग हुन नदिई केहि आपतकालीन अबस्थाको लागि कोष स्थापना गर्ने र बाँकी रकम भने स्थानिहरुलाई सामुहिक रुपमा ब्यवसाय गर्नको लागि कुखुरा पालन, बाख्रा पालन, तरकारी खेती गर्न प्रेरित गर्दै आयआर्जनको राम्रो माध्यम बनाउने योजना रहेको अध्यक्ष कुमालले बताए ।

सुनौँ अध्यक्ष दिलबहादुर कुमालसंगको संक्षिप्त कुराकानी

तुरतुरे तालमा हिँउदका दिनमा तौका बिहार सन्चालनमा ल्याउन सम्भव हुन्छ, वर्षातको मौसममा बडीगाड नदीमा पानीको बहाव बढेपछी नौका बिहार सन्चालनमा ल्याउन सम्भव होला ? यो पनि सोँच्नु पर्ने विषय बनेको छ । बर्षा याममा बडीगाड नदीमा आउने बाढीले हाल पहिरो खसेर बनेको बाँध फुटेर त्यस तलको नदी किनारमा रहेका मानवबस्ती, जगा जमीनमा पुग्न सक्ने क्षेतीलाई लिएर पनि सरोकारवालाहरुले सोच्नु पर्ने हुन्छ । ताल संरक्षणको निम्ति अन्य बिकल्पहरु के के हुन सक्छन् बेलैमा केलाउन सके राम्रो ।

सर्पराईज एड्भान्चर कम्पनी मार्फत अहिले सञ्चालनमा ल्याएको एक वटा भाडाको नौका विहार (-याफ्टिङ) लाई दैनिक ६,५०० रुपैया तिर्दै आएका छन् । दैनिक आम्दानि बढीमा २४ हजार र कममा २ हजार सम्म हुने गरेको सन्चालकहरुको भनाई छ । अन्य समय भन्दा शनिबारको बिदाको दिन बढी सङ्ख्यामा नौका विहार (-याफ्टिङ) मा आउने गरेका छन् । बिद्यार्थीलाई परिचय पत्र लिएर गएमा ५० प्रतिशत छुटको ब्यबस्था समेत रहेको छ । नौका विहार (¥याफ्टिङ) चढन समय अनुसार प्रति ब्यक्ति ५००, २५० र १५० निर्धारण गरिएको छ ।

तुरतुरे ताल संरक्षण गर्न सकियो भने आय आर्जनको राम्रो माध्यम बन्नुका साथै यस क्षेत्रको आर्कषक पर्यटकीय गन्तब्य बन्ने धेरैको आसा र विश्वास रहेको छ ।

संवन्धित लिंकहरु

तुरतुरे तालमा आज -याफ्टिङ सुरु , थुप्रै यात्रुहरु नौका विहारमा !

तुरतुरे तालमा बिधिवत नौका बिहार सुरु : बिपतबाट बनेको तुरतुरे तालको सुन्दरता बयानगरी साध्य छैन -नेपाली

आजको तस्वीर : तुरतुरे तालमा नौका विहार (-याफटिङ) !

आजको तस्वीर : जाउँ सँगी घुम्नलाई, तुरतुरेको ताल … !

साताको तस्बीर : सबका नजरमा ‘ तुरतुरेको ताल !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *