यस सिजनमा १३ वन्यजन्तुको शिकार अनुमति : एउटै झारलको शिकार गर्न १३ लाखको टेण्डर !

ढोरपाटन शिकार आरक्षमा शिकार सिजन यसै हप्ता : १ करोड १४ लाख राजश्व संकलन !

राम सुवेदी, बुर्तिबाङ २०७३ चैत २ । नेपालकै एकमात्र ढोरपाटन शिकार आरक्षमा यस आर्थिक वर्षको दोस्रो शिकार सिजन यसै हप्ता सुरु हुँदै छ । दोस्रो सिजनको शिकारका लागि विभिन्न एजेन्सीहरुले टेण्डर बोलेका छन् । यो सिजनमा १० वटा नाउर र ३ वटा झारल गरि १३ वटा बन्य जन्तुको शिकार कोटा तोकिएको छ । शिकार आरक्ष कार्यलयका अनुसार, यस वर्षको दोस्रो सिजनका लागि एउटै झारलको शिकार गराउन दुईवटा कम्पनीले सरकारलाई १३–१३ लाख रुपैयाँ बुझाउने भएकाछन् ।

सौखिन विदेशी शिकारीलाई झारल शिकार गराउन फागुन मिहनाको अन्तिम साता खोलिएको टेण्डरमा, कम्पनीहरु हिमालयन सफारी प्रालि र ट्रेक्स एण्ड ट्रेल्सले एउटा झारलको १३ लाख ५ हजार रुपैयाँ तिर्ने भएका हुन् । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु विभागले बढी रकम तिर्न तयार भएका ती दुई कम्पनीलाई चैत महिनाको पहिलो साताकै लागि झारल शिकारको अनुमति दिएको छ ।

‘हिमालयन सफारीले ढोरपाटन शिकार आरक्षको फागुने ब्लकमा एउटा र ट्रेक्स एण्ड ट्रेल्सले गुस्तुङ ब्लकमा दुईवटा झारलको शिकार गराउन अनुमति लिएको विभागका सहायक व्यवस्थापन अधिकृत विष्णु थपलियाले बताए । उनका अनुसार ढोरपाटन शिकार आरक्षमा ‘झारल सिकारका लागि तिरेको यो रकम अहिलेसम्मकै बढी रकम हो ।’ दुई वर्ष अघि झारलको शिकारका लागि एउटा कम्पनीले ९ लाख रुपैयाँ तिरेको थियो ।

ट्रयाक्स एण्ड ट्रेल्सका कम्पनीका सञ्चालक दीपक शंशेर राणाले झारल र नाउर शिकारका लागि दुईजना अमेरिकी शिकारी यसै चैत महिनामा नेपाल आउने बताए । दुई शिकारीले एक÷एक वटा झारल र एक÷एक वटा नाउर शिकार गर्ने उनले बताए ।

विदेशी शिकारीले एउटा वन्यजन्तुको शिकारमा २५ देखि ३० लाख रुपैयाँसम्म खर्च गर्ने गरेको शिकार एजेन्सीे कम्पनी सञ्चालकहरुले बताएका छन् । शिकारका लागि बन्दुक र गोली भने शिकारीस्हरु आफैले ल्याउँने गरेका छन् ।

ढोरपाटन शिकार आरक्षमा शिकारका लागि बन्यजन्तु विभागले हरेक वर्षमा दुई पटक (असोज–मंसीर पहिलो सिजन र फागुन–वैशाख) मा दोस्रो सिजन गरि बन्यजन्तु शिकारका टेण्डर खोल्ने गरेको छ । शिकार एजेन्सी कम्पनीहरुले टेण्डरमा प्रतिस्पर्धा गर्छन् । नाउरको शिकारका लागि भने यो सिजनमा सबैभन्दा बढी ८ लाख ७५ हजार रुपैयाँसम्म तिर्न कम्पनी तयार भएका छन् ।

यो सिजनमा हिमालयनले एक झारलसहित एक नाउर, ट्रयाक्स एण्ड ट्रेल्सले दुई झारल सहित दुई नाउर, नेपाल वाईल्डलाईफ सफारी प्रालिले तीन नाउर र ग्लोबल सफारिज नेपाल प्रालिले चार नाउरको शिकार गराउने अनुमति पाएको ढोरपाटन सिकार आरक्षका वार्डेन प्रमुख अणनाथ बरालले बताए ।

आरक्ष प्रमुख बरालका अनुसार, शिकार आरक्षमा नेपाल वाईल्डलाईफ सफारीले एक रुसी, एक स्पेनी र एक फ्रेन्च शिकारीलाई सेङ र फागुने ब्लकमा शिकार गराउने विभागले सूची तयार पारेको छ । यस्तै ग्लोबल कम्पनीले दोगाडी, सेङ र सुन्दहमा विदेशी शिकारीलाई नाउरको शिकार गराउने भएकोेछ ।

विभागले केही वर्षदेखि टेण्डर गरेर शिकारको अनुमति दिने गरेको छ । यो सिजनमा शिकार अनुमपतिबाट १ करोड १३ लाख ८५ हजार २ सय ५० रुपैयाँ राजश्व जम्मा भएको ढोरपाटन शिकार आरक्ष कार्यालय प्रमुख बरालले जानाकारी दिए ।

अघिल्लो सिजन (असोज–मंसीर) मा शिकार अनुमतिबाट ३३ लाख ६८ हजार ९ सय रुपैयाँ राजश्व जम्मा भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *