बागलुङ बजार अनुगमन : हात्ति आयो, हात्ति आयो फुस्स ! टोली द्वारा ९ वटा होटल तथा पसलको चेकजाँच !

कोपिला कंडेल, बागलुङ २०७५ पुस १६ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले बागलुङ बजार स्थित बिभिन्न ९ वटा होटल रेष्टुरेण्ट तथा पसलहरुको अनुगमन तथा चेकजाँच गरेको छ ।

उपभोक्तालाई गुणस्तरिय सेवा प्रदान गर्नुपर्ने उद्देश्य सहित बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख केदार पौडेलले जानकारी दिए ।

अनुगमनका क्रममा केही होटलहरुमा किचन फोहोर खुल्ला ढल, म्याद नाघेका पेय पदार्थ बिना दर्ता संचालन भएका होटल लगायत कानुन बिपरीत संचालन भएको होटल तथा पसलहरुलाई सुधार गर्नका लागि सल्लाह सुझाव दिएको प्रमुख पौडेलले बताए ।

प्रमुख पौडेल सहित राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ सदस्य जयलाल साप्कोटा होटल ब्यवसायी सघंका अध्यक्ष निलेश राजभण्डारी प्रहरी हवल्दार राज कुमार बिष्ट र नवराज बिष्ट लगायतको अनुगमन टोलीले उपभोक्ताको हकहितलाई बेवास्ता गरी गुणस्तरहीन खाद्यपदार्थको बेचबिखन गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने जनाएको छ ।

अनुगमनको क्रममा भेटिएको पेय पदार्थलाई तत्काल फिर्ता गर्न सुझाव दिएको राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ्गका अध्यक्ष श्रेष्ठले जानकारी दिए । अनुगमन टोलीले वि.वि टि चाईनिज रेष्टुरेण्ट वेष्ट वन रेष्टुरेण्ट पुजा खाजा घर दिपक चिया पसल होटल दि राजन सिरिश किराना पसल, खरेल होटल सिलत पार्टी प्यालेस र गोबिन्दाज रेष्टुरेण्ट लगायतको अनुगमन गरेको थियो । होटल सितल पार्टी प्यालेस र गोबिन्दाज रेष्टुरेण्ट बाहेकका अन्य होटल तथा पसलमा केही कमीकमजोरी देखिएको र सुधार गर्नका लागि सचेत गराएको टोलीले बतायो । उपभोक्ताको हकहितको लागि बजार अनुगमनलाई तिब्र बनाई गाउं टोल सम्म पुर्याउने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

बिगतका अनुगमन टोलीहरु जस्तै आजको चेकजाँच टोलीले पनि सुधारको सुझाव दिएर कर्तव्य निर्वाह गरेको उपभोक्ताहरुले बताए । अनुगमन गर्दा भेट्टिएका अखाद्यबस्तुहरु नष्ट गर्ने र अब यसो नगर्ने भन्ने उपदेश दिएर फर्कने गरेको बागलुङमा अनुगमन टोलीहरुको चलन रहि आएको र हाल सम्म गलत गर्ने कुनै कसैलाई कानूनी दायरामा ल्याएर सरोकारवाला निकायबाट कार्बाही नभएको गुनासो गर्दै उपभोक्ताहरुले आजको अनुगमन पनि हात्ति आयो आयो फुस्स भएको मर्मस्पर्शी कुरा सुनाए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *