मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा खेलवाड कहिले सम्म ?
बागलुङ जिल्लामा सन्चालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरु कति सक्कली, कति नक्कली ?

बागलुङ २०७५ पुस १६ । बागलुङ जिल्लामा स्वास्थ्य जस्तो संवेदनशील विषयमा खासै संवेदनशीलता देखिएको छैन । धौलागिरी अन्चल अस्पतालको मात्र कुरा होईन, सदरमुकाम र जिल्लाका अन्य भागहरुमा निजी क्षेत्र, सहकारी मार्फत (व्दारा) सन्चालित निलगिरी अस्पताल, मुक्तिनाथ हस्पिटल, सफल पोलिक्लिनिक लगायतका स्वास्थ्य सेवा प्रदायक संस्थाहरु राज्यले तोकेकोे मापदण्ड अनुरुप सन्चालनमा छन् वा छैनन्, यी संस्थाहरुबाट प्रवाह गरिने सेवाको गुणवत्ता के कस्तो छ ? अस्पतालमा चाहिने न्यूनतम विशेषज्ञ सहितका चिकित्सकहरु उपलव्ध छन छैनन् वा अहेवव्दारा सन्चालित छन् ? विरामीको लागि चाहिने विस्तरा (बेड)हरुको हालत के छ ? स्वास्थ्य संस्थाहरुमा चाहिने उपयुक्त वातावरण, सरसफाई, पानी, चर्पी आदिको व्यवस्था कस्तो छ ? ल्याब (प्रयोगशाला) को विश्वसनीयता कति भरपर्दो छ ? यसको अनुगमन गर्ने निकाय कुन हो ? अनुगमन भैरहेको छ वा छैन ? आदित्यादि नागरिक समाजको चासोमा पर्ने विषय हुन् । तर पछिल्लो समय स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको दर्ता, नवीकरण, अनुगमन आदि विषयमा सरोकारवाला निकायहरुले त्यत्ति चासो नदेखाएको टिप्पणी सार्वजनिक भैरहँदा मानव स्वास्थ्यप्रति गम्भीर खेलबाड भैरहेको गुनासाहरु सतहमा आएका हुन् ।

बागलुङ जिल्लाका ४ नगर तथा ६ गाउपालिकाहरुमा स्वास्थ्य सेवा प्रदायक संस्था अस्पताल, क्लिनिक, मेडिकल हल, ल्याब, होम के कति दर्ता छन्, कुन कुन संस्थाले स्वास्थ्य मन्त्रालय, विभाग, महाशाखा, शाखा वा अन्य अधिकारप्राप्त निकायबाट अनुमति लिएर संस्था सन्चालनमा ल्याएका छन वा आफु खुसी सन्चालन गर्दै आएका छन भन्ने तथ्यांक स्थानीय तहमा उपलव्ध छैन । अर्थात यसको तथ्यांक स्थानीयतहमा अध्यावधिक भैसकेको छैन ।

जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले स्वास्थ्य संस्था स्थापना, सन्चालन तथा स्तरोन्नती सम्वन्धी निर्देशिका २०७० (संशोधन २०७३) र स्वास्थ्य प्रयोगशाला स्थापना तथा सन्चालन सम्वन्धि निर्देशिका २०७३ बमोजिम स्वास्थ्य सेवाहरु प्रदान गर्नका लागि २०७४ साल चैत मसान्त सम्म विधिवत दर्ता भएका स्वास्थ्य सेवा संग सम्वन्धित संस्थाहरुको नामावली २०७५ साल साउन २३ गतेको मितिमा केहि स्थानीय तहहरुलाई पठाएको विवरण ईबागलुङलाई प्राप्त भएको छ । जसानुसार बागलुङ नगरपालिका भित्र वडा नं २ मा मात्रै दाँत (डेन्टल) सम्वन्धी ६ ल्याब प्रयोगशालाहरु ७, एक्सरे १, सफल पोलिक्लिनिक १, न्यूरो केयर क्लिनिक गरी जम्मा १६ संस्थाहरु दर्ता/नवीकरण गरिएको छ ।

यस्तै जिल्लाको दोश्रो व्यापारिक केन्द्र बुर्तिवाङ (ढोरपाटन नगरपालिका) बजार जहाँ एक दर्जन भन्दा बढी स्वास्थ्य संस्थाहरुका रंगी चंगी साईनबोर्डहरु झुण्डिएका (सन्चालनमा रहेका) छन, त्यहाँ गोर्खा ल्याण्ड डेन्टल होम, एनबीडी ल्किनिक र लाफा स्वास्थ्य प्रयोगशाला एकएक वर्षका लागि नविकरण गरिएको छ ।

गल्कोट नगरपालिकाको हटिया बजारमा ईमरजेन्सी पोलिक्लिनिक प्रा लि र ईमरजेन्सी पोलिक्लिनिक ल्याब गरी दुई स्वास्थ्य संस्था मात्र दर्ता नवीकरण भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ भने बडीगाड गाउपालिकामा बडीगाड पोलिक्लिनिक प्रालि र बडीगाड पोलिक्लिनिक ल्याब एकएक वर्षका लागि दर्ता नवीकरण गरिएको उल्लेख गरेको छ ।

बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सोमराज पाण्डेलाई यस सम्वन्धमा प्रश्न गर्दा उनले राजपत्रमा सूचना प्रकाशित भए पछी दर्ता, नवीकरण प्रकृया सुरु गर्ने जानकारी दिए भने गल्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गौतमले नगर कार्यसमितिले निर्णय गरिसकेकोले अब तुरुन्तै यसलाई कार्यान्वय गर्ने बताए । उता ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि कँडेलले जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङको रिकर्ड अनुसार बुर्तिवाङमा तीन संस्थाहरु एकएक वर्षका लागि नविकरण भएको जानकारी दिए भने बडीगाड गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृतसंग फोन सम्पर्क हुन सकेन ।

जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले प्रेषित गरेको माथिका पत्रका आधारमा के भन्न सकिन्छ भने जिल्लाका विभिन्न भागहरुमा कानूनत दर्ता नगरी सन्चालनमा आएका थुप्रै स्वास्थ्य संस्थाहरु रहेका छन् । गाउँगाउँमा सन्चालनमा आएका यस्ता स्वास्थ्य संस्थाहरुबाट सेवाग्राही ठगिने एकातिर छ भने अर्कोतिर मखन्नी डाक्टरले दिएको औषधीले ज्यान जान सक्ने खतरा पनि रहेको छ । यस बास्तविकतालाई मध्यनजर गरी स्थानीय तह लगायत जिम्मेवार निकायहरुले मानव स्वास्थ्य माथि हुने/गरिने लापर्बाही/खेवबाड रोक्न अबिलम्व निरीक्षण अनुगमन गरी दोषीलाई कानूनी दयरामा ल्याउन जरुरी देखिन्छ । जिल्लामा सन्चालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरु कति सक्कली कति नक्कली ? भन्ने तथ्य बाहिर नल्याईए सम्म आम नागरिकको स्वास्थ्य प्रति खेलबाड जारी रहने छ । उनिहरु लुटिने/ठगिने सिलसिला थामिने छैन र मानव स्वास्थ्य दुईचार जना धूर्तहरुको कमाई खाने माध्यम बनिरहने छ ।

छोरा नातीको बुई चढेर उपचार गर्न हिँडेने बृद्ध पुरुष/महिलाहरुलाई उनिहरुले उपचार गर्ने व्यक्ति डाक्टर हो, कि अहेव वा कुनै मखन्नी, कसरी थाहा पाउनु ? घोँडालाई दिने जुकाको औषधि आफैलाई दिएपनि धन्य सम्झने हाम्रो पिछडिएको समाजलाई दिशावोध गराउन स्थानीय तहले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आवश्यक छ ।
ईबागलुङ डेस्क ।
तस्वीर- किरण आचार्य, ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.