साताको तस्वीर: निसी-निसेलढोर !

निसीभूजी नामले चिनिने बागलुङ जिल्लाको सुदूर पश्चिम क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण, पर्यटकीय दृष्टिकोणले रमणीय एवं भेष भूषा रहनसहन चाल चलन संस्कार संस्कृति तथा परम्पपरागत विविधताले धनी मानिन्छ । यातायातको असुविधाले दुई चार बर्ष पहिले सम्म एकदमै दुर्गम मानिने निसीभूजी क्षेत्र अहिले आएर अप्रत्याक्षितरुपमा विकासको सबै क्षेत्रमा फट्को मार्दैछ । गाउँगाउँमा मोटर गुड्न थालेको छ । सदरमुकामबाट चार/पाँच दिन पैदल हिँडेर पुगिने निसी भूजी अहिले पाँच/सात घण्टामै पुग्न सकिन्छ । त्यस क्षेत्रका प्रत्यक गाउँहरुमा बिजुली, टेलिभिजन, मोबाइल, ईन्टरनेट लगायतका सन्चार सुविधा पुगेको छ । जसले स्थानीय जनजीवनमा आमुल परिवर्तन आएको सहजै अनुभव गर्न सकिन्छ ।

निसेलढोर ।

निसीभूजी क्षेत्रमा आएको परिवर्तनका साथसाथै यतिबेला त्यस क्षेत्रका युवाहरु स्थानीय लोपोन्मुख संस्कृति, कला, परम्परा र संस्कारलाई संरक्षण गर्दै त्यसको विकासमा क्रियाशील देखिएका छन् । स्थानीय कच्चा पदार्थ उनबाट बुनिने राडीपाखी, घुम् भाँग्रा, काठ तथा बाँसबाट बन्ने ठेका, ठेकी, चौठी, डालाडाली, कागज आदि सामाग्रीलाई समयानुकूल परिमार्जन गरी त्यस्को ब्यापार बृद्धिमा समेत चासो देखाउन थालेका छन् ।

कप्पाई नाँच ।

यसका साथै स्थानीय युवाहरु रुढीगत परम्परामा सुधार गर्दै त्यस क्षेत्रको धरोहरको रुपमा रहेका परम्परागत संस्कार, संस्कृति एवं सांस्कृतिक चाडपर्वको संरक्षण गर्दै अग्रजहरुले जस्तै त्यस्लाई निरन्तरता दिन तत्परता प्रदर्शित गरिरहेका छन् । निसीमा माघे सक्रान्तिका अवसरमा मनाईने माघी पर्व निसेलहरुको महत्वपूर्ण साँस्कृतिक धरोहर हो ।

निसीका स्थानीयवासी ।

त्यसो त, निसीभूजी क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिका आआफनै परम्परागत साँस्कृतिक चाडपर्वहरु छन् जसको आफनै महत्व र विशेषता छ । त्यस क्षेत्रका महत्वपूर्ण साँस्कृतिक परम्परालाई समय समयमा पाठक समक्ष पुराउने क्रममा इबागलुङका फोटो संपादक पत्रकार किरण आचार्यले निसी खोला गाउँपालिका (साविकको निसी गाविस)को निसेलढोरमा प्रत्यक दुईवर्षमा गरिने स्थानिय मगर जातिको ‘गाउँ पूजा’ अर्थात सास्कृतिक पर्व ‘कप्पाई नाँच’ र त्यस्को पृष्टभूमिका बारेमा तयार पार्नु भएको भिडियो सहितको रिपोर्ट । संपादक ।

निसीका युवतीहरु ।

जिल्लाको पश्चिम सीमानामा रहेको निसीखोला गाउपालिका (साविक निसी गाविस)को निसेलढोर प्रकृतिको अनुपम उपहार हो । यहाँ खासगरी मगरजातिको बाहुल्यता रहेको छ । नबी खोला (सानो भेरी)को किनारमा रहेको यस रमणीय भूभाग निसेलहरुको ढोर उपत्यका निसेलढोर हो । यस उपत्यकामा साविक निसी गाविसका प्राय सबै वडावासीहरुको धेरथोर जग्गा जमिन रहेको छ । जाडो याममा यहाँ निसेलहरु त्यति बसोवास गर्दैनन तर चैत बैशाख देखी असोज महिनासम्म यहाँ निसेलहरुको बाक्लो उपस्थिति रहन्छ । निसेलहरुको लेक बेसी गर्ने महत्वपूर्ण समथल भूभाग हो निसेलढोर । यति बेला निसेलहरु गाईबस्तु सहित निसेल ढोर पुगेका छन् ।

निसेलढोर हिँडेकी निसीकी महिला ।

निसेलहरु आफना गाईवस्तु, भेँडा, बाख्राको चरीचरणका लागि यहाँ आएर बस्छन् । निसेलढोर देखी माथिल्लो धुरी लेक गाईबस्तु र भेँडा बाख्राकालागि पोसिलो चरण मानिन्छ । यहाँ निसेलहरु गोठ बनाएर आफना गाईबस्तु भेँडा बाख्रा चराउने गर्छन् र जाडो बढ्न थालेपछी क्रमश वेसी निसेलढोर वा गाउँ झर्छन् ।

ढोरपाटन र निसेलढोर वीचका रमणीय दृश्य ।

निसीका मगर जातिहरुले प्रत्यक दुई दुई वर्षमा एक चोटी गाउँ पूजा गर्छन् । यस गाउँ पूजाको विशेष महत्व भनेको कापाई नृत्य हो । साउन महिनाको अन्तिम मंगलबार निसेलढोरका चार दिशामा भेँडाको बली दिएर पूजा गरिन्छ र सोहि महिनाको अन्तिम दिन या मसान्त र भदौको १ गते सक्रान्ति दुई दिन मनाईने यस मेलामा कापाई नृत्य गरिन्छ । बिजोड ९, ११, १३ …को संख्यामा खासगरी मगरजातिका स्थानीय युवाहरु सहभागी भएर गरिने नृत्य अत्यन्तै रामान्चकारी हुन्छ । समयको परिवर्तन संगै आजभोलि आएर अन्य जातिका युवाहरुपनि कापाई नृत्यमा सहभागी हुन थालेका छन् ।

स्थानीय भेषभुषामा निसेल दम्पति । तस्वीर- लालसिँ घर्तीमगर, निसी ।

मगरजातिको विशेष गाउँ पूजाका अवसरमा गरिने कापाई नृत्यका बारेमा बुढापाकाहरुको भनाई या श्रुतिस्मृति यस्तो रहेको छ ।

परापूर्वकालमा गाईबस्तु भेँडाबाख्राको गोठ लिएर लेक गएका निसेलहरु बेसी झर्ने क्रममा बीचबाटोमा आईपुग्दा उनिहरुका बृद्ध जेवा जेवै स्थानीय भाषामा बाजे बज्यै हिँड्न नसके पछी त्यहिँको ओडारमा राखेर उनिहरुका लागि केहि दिनको खर्चपर्च छोडी अरु गाईबस्तु भेँडा बाख्रा लिएर बेसी झरे । केहि दिनपछी जेवा जेवैलाई खोज्न जाँदा ओडारमा नभेट्टाए पछी बाघ भालुले खायो वा मरे होलान भनी फर्किए ।

निसीवासीले प्रयोग गर्ने जाँतो, अन्य सामग्री । तस्वीर- लालसिँ घर्तीमगर, निसी ।

केहि वर्षको अन्तराल पछी निसेलहरुका गाईबस्तु भेँडा बाख्राहरु बाघले खाईदिन थाल्यो । राक्षस आएर निसेलहरुलाई डराउन दिने दुखदिने गर्न थाल्यो । दिनहुँ जसो राक्षसले डराउन दिने र बाघले भेँडाबाख्रा गाईवस्तु खाई दिने गरेपछि उनिहरुले झाँक्री बसाले । झाँक्रीले ओडारमा छोडेर आएका जेवा जेवैको बेवास्ता गरेकाले उनिहरुको मृत्यु भएको र मृत्यु पछी बाघ र राक्षसको जुनी लिएर गाउँमा दुख दिन थालेको बताए ।

निसी ।

जेवा जेवैको मृतात्मालाइ शान्तपार्न निसेलढोरको चारै दिशामा भेँडाको भोगदिएर गाउँ पूजा गर्ने र भूतजस्तो बनेर प्रत्यकको घरघरमा पुगेर नाँच्ने उफ्रने लौरो बजार्ने, खरानीले फुक्ने गरेमा घरमा लुकेर बसेको भएपनि जेवा जेवैको आत्मा भाग्छ भनेर झाँक्रीले बताएपछी रोमान्चक कापाई नृत्यको शुरुवात भएको हो ।

निसी ।
कापाई नृत्यको बारेमा स्थानीय बुढापाकाहरु भन्छन् यो कापाई नाँचमा भाग लिने सबै मगर जातिका युवाहरु सर्वप्रथम जेवा जेवैलाई छोडेर आएको ओडारमा गएर पूजा गर्छन । तर यस पूजामा मगरजाति बाहेका अन्य जातिका मानिसहरु सहभागी हुन पाउदैनन् । ओडारबाट फर्केर आएपछी नृत्यमा भागलिने सहभागीहरु प्रत्यकका घरघरमा पुग्छन् र घरका मानिसहरुले घरमा राक्षस या भूत छैन भन्दै उनिहरुलाई रक्सी मासु आदि सगुन दिएर पठाउछन् ।

दोश्रो दिन कापाई नाँचका सहभागीहरुले नवी खोलामा हामफालेर शरीर पखाल्ने नुहाउने गर्छन । त्यसपछी निसेलढोरका चारै दिशामा बाख्राको बली दिएर पूजा गरिन्छ । यसरी कापाई नृत्य सम्पन्न हुन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *