विभिन्न जिल्लाहरुमा भएको सवारी दुर्घटनामा २९ जनाको मृत्यु !

काठमाडौं, २०७५ पुस ७ । दाङ, नवलपरासी (पूर्व), भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक र सिन्धुलीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २९ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-३१ स्थित सडकमा बा.७६ प ६९०० नम्बरको मोटरसाइकल र बा.३९ प ४३९९ नम्बरको मोटरसाइकल शनिबार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका बा.७६ प ६९०० नम्बरको मोटरसाइकल चालक स्वयम्भू चौमती बस्ने २१ वर्षीय सुरज महर्जनको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी बा.७६ प ६९०० नम्बरको मोटरसाइकलमा सवार सोही स्थान बस्ने १९ वर्षीया रुकसाना श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ । उक्त दुवै सवारी साधन र बा.३९ प ४३९९ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ तुल्सीपुर उपमहानगरपालिका-३ राम्रीस्थित सडकमा बा.४ ख ९७६६ नम्बरको बस शुक्रबार साँझ सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका-३ बस्ने २५ वर्षीय मदन केसी सहित ३ महिला र १८ पुरुष गरी २१ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जुम्लाका १९ वर्षीय बीरेन्द्र कडाराको नर्सिङ होम नेपालगंज बाँकेमा र हाल नाम, थर, वतन नखुलेकी करिब २० वर्षीया महिलाको राप्ती अंचल अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य १४ जनालाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ । उक्त बस कृष्णसेन ईच्छुक पोलीटेक्निकल ईन्ष्टिच्युट घोराहीबाट फरेष्ट्रिका विद्यार्थीहरुलाई सल्यानको छाँयाक्षेत्रमा बोटनी सम्बन्धी प्राक्टिकल भ्रमण गरी फर्कने क्रममा दुर्घटना भएको हो ।

नवलपरासी (पूर्व) बिनयीत्रिबेणी गाउँपालिका-१ अरुणखोला दुम्किबासस्थित सडकमा बा.१५ च ६९७६ नम्बरको कारमा लु.३१ प ५०७५ नम्बरको मोटरसाइकल शुक्रबार दिउसो ठोक्किदा गम्भीर घाइते भएका मोटरसाइकल चालक पाल्पा तिनाउ गाउँपालिका-२ दोभान बस्ने १८ वर्षीय आकाश गिरीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही स्थान बस्ने १९ वर्षीय सचिन घर्तीमगरको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुर नगरपालिका-६ ठुलोब्यासीस्थित सडकमा बा.९३ प २६९२ नम्बरको स्कुटरलाई ना.७ ख १६४७ नम्बरको ट्रकले शुक्रबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार काठमाडौं सामाखुशी बस्ने काभ्रे बनेपा नगरपालिका-१३ चतुरे घर भएकी २३ वर्षीया सविता तामाङको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कार्तिके घर भएकी ३० वर्षीया बिमला ठकुरीको स्टार अस्पताल सानेपामा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको छ । फरार कार र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-२ डुडे खोलास्थित सडकमा बा.२० च २१४४ नम्बरको जिप सडकबाट करिब २० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा जिपमा सवार सुनकोशी गाउँपालिका-१ बस्ने ३८ वर्षीया राम्री पहरीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक समेत ५ जनालाई उपचारको लागि धुलिखेल अस्पताल काभ्रे लगिएको छ ।

सिन्धुली हरिहरपुरगढी गाउँपालिका-५ बाह्रबिसेस्थित सडकमा बोटेनीबाट महेन्द्र झ्याडीतर्फ जाँदै गरेको बा.१९ प ३१०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ढुंगामा ठोक्किएर शुक्रबार राति दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक सोही गाउँपालिका बोटेनी बस्ने २६ वर्षीय शुकबहादुर माझीको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.